कीवर्डहरू -

विन्डोज ११ मा नयाँ अपडेट : अब आफ्नै रोजाइअनुसार राइट-क्लिक मेनु मिलाउन सकिने

विन्डोज ११ मा नयाँ अपडेट : अब आफ्नै रोजाइअनुसार राइट-क्लिक मेनु मिलाउन सकिने

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को राइट-क्लिक मेनुलाई अझ छिटो, व्यवस्थित र प्रयोगकर्तामैत्री बनाउने तयारी गरेको छ । नयाँ सुधारपछि धेरै प्रयोग हुने विकल्पहरूलाई प्राथमिकता दिइनेछ भने अनावश्यक एक्सटेन्सनहरू एकैपटक लोड नहुने भएकाले मेनु छिटो खुल्ने अपेक्षा गरिएको छ ।

यससँगै माइक्रोसफ्टले राइट-क्लिक मेनुमा नयाँ कस्टमाइजेसन सुविधा पनि थप्ने तयारी गरेको छ । यो सुविधामार्फत प्रयोगकर्ताले मेनुमा कुन एप वा कमान्ड देखाउने, कुन लुकाउने तथा तिनको क्रमसमेत आफूअनुसार मिलाउन सक्नेछन् । मेनुको तल रहने "Customize" विकल्पमार्फत यी सेटिङहरू जुनसुकै बेला परिवर्तन गर्न सकिनेछ ।

यो सुविधा सबै प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेछ भन्नेबारे माइक्रोसफ्टले आधिकारिक रूपमा जानकारी दिएको छैन । तर Windows Central का अनुसार, यो अपडेट यसै वर्ष सार्वजनिक हुन सक्ने सम्भावना छ ।

माइक्रोसफ्टले विन्डोज ११ लाई अझ छिटो, आधुनिक र प्रयोगकर्तामैत्री बनाउने उद्देश्यका साथ निरन्तर सुधार गरिरहेको छ । यसअन्तर्गत WinUI 3 मा आधारित नयाँ प्रयोगकर्ता इन्टरफेस लगायतका विभिन्न सुधारहरू पनि समावेश हुने अपेक्षा गरिएको छ ।