कीवर्डहरू -

एक्सको नयाँ अपडेट : लाइभ स्टुडियो, एनालिटिक्स र पेआउट प्रणाली एकैसाथ

एक्सको नयाँ अपडेट : लाइभ स्टुडियो, एनालिटिक्स र पेआउट प्रणाली एकैसाथ

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले लाइभ स्ट्रिमिङ सेवालाई थप प्रभावकारी बनाउन ‘लाइभ स्टुडियो (Live Studio)’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ । कम्पनीले यससँगै लाइभ कन्टेन्ट सिर्जना गर्ने क्रिएटरहरूलाई प्रोत्साहन गर्न नयाँ पेआउट (भुक्तानी) मोडेल समेत ल्याउने घोषणा गरेको छ ।

एक्सका अनुसार नयाँ सुविधाले क्रिएटरहरूलाई लाइभ स्ट्रिम सुरु गर्न, शीर्षक र थम्बनेल सेट गर्न, प्रसारणको समय निर्धारण गर्न तथा लक्षित दर्शक छनोट गर्न सहज बनाउनेछ । साथै, लाइभ प्रसारणका क्रममा दर्शक संख्या, कमेन्ट, दर्शकको देश तथा प्रयोग भइरहेको डिभाइसजस्ता विश्लेषणात्मक तथ्याङ्क (एनालिटिक्स) पनि उपलब्ध हुनेछ ।

एक्सका प्रोडक्ट प्रमुख निकिता बियरले लाइभ स्ट्रिमिङलाई थप प्रोत्साहन गर्न आगामी भुक्तानी चक्रमा करिब १३ करोड रुपैयाँ बराबरको रकम क्रिएटरहरूका लागि छुट्याइने बताएका छन् । कम्पनीका अनुसार नयाँ पेआउट प्रणालीले गुणस्तरीय लाइभ कन्टेन्ट उत्पादन गर्न क्रिएटरहरूलाई थप प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

एक्सले नयाँ ‘लाइभ स्टुडियो’ सुरु गरेसँगै आगामी महिनाहरूमा प्लेटफर्ममा लाइभ स्ट्रिमिङको संख्या उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेको छ । हालका लागि भने लाइभ स्ट्रिमिङ सुविधा एक्स प्रिमियम (X Premium) सदस्यता लिएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहने कम्पनीले जनाएको छ ।