काठमाडौं । एआई कम्पनी Anthropic ले आफ्नो च्याटबट Claude को भ्वाइस मोडमा ठूलो सुधार गर्दै प्रयोगकर्तालाई थप शक्तिशाली एआई मोडल प्रयोग गर्ने सुविधा उपलब्ध गराएको छ । नयाँ अपडेटपछि अब प्रयोगकर्ताले भ्वाइस मोडमा Opus, Sonnet र Haiku मध्ये आफूअनुकूल मोडल छनोट गर्न सक्नेछन् ।
यसअघि Claude को भ्वाइस मोड केवल Haiku मोडलमा आधारित थियो । यो मोडल छिटो प्रतिक्रिया दिन सक्षम भएपनि जटिल प्रश्नको उत्तर दिन वा कठिन कार्य सम्पन्न गर्न यसको क्षमता सीमित मानिन्थ्यो ।
नयाँ अपडेटपछि भने भ्वाइस मोड सुरु गर्दा प्रयोगकर्ताले टेक्स्ट च्याटमा पछिल्लो पटक प्रयोग गरेको मोडल स्वत: चयन हुनेछ, जसले थप सहज र निरन्तर अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
Anthropic का अनुसार नयाँ भ्वाइस मोड लामो संवाद, विचार मन्थन (Brainstorming), उत्पादनको बजार अनुसन्धान (Product Market Research) तथा प्रयोगकर्ताको कुराकानी शैलीअनुसार प्रतिक्रिया दिन सक्षम हुनेछ ।
यस अपडेटको अर्को प्रमुख विशेषता भनेको Claude लाई Gmail, Google Calendar, Slack र Notion जस्ता लोकप्रिय सेवासँग प्रत्यक्ष जोड्न सकिने सुविधा हो । यसमार्फत प्रयोगकर्ताले आवाजकै भरमा इमेल लेख्न, बैठक (Meeting) तय गर्न, नोट वा डकुमेन्ट तयार गर्न तथा अन्य कामहरू गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यही सुविधा Claude लाई अन्य एआई च्याटबटभन्दा फरक बनाउने पक्षमध्ये एक हो । हाल OpenAI को भ्वाइस मोडमा यस्ता बाह्य एपहरूसँग प्रत्यक्ष एकीकृत (Integration) भएर काम गर्ने सुविधा उपलब्ध छैन ।
Anthropic ले Claude को भ्वाइस मोडमा बहुभाषिक (Multilingual) समर्थन पनि थपेको छ । हाल यसले अंग्रेजी, हिन्दी, जापानी, फ्रेन्च, स्पेनिसलगायत १० भाषामा भ्वाइस संवादलाई समर्थन गर्छ । प्रयोगकर्ताले भने आफूले प्रयोग गर्न चाहेको भाषा म्यानुअली चयन गर्नुपर्नेछ ।
यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध भएपनि नि:शुल्क संस्करणमा केही सीमितता राखिएको छ । नि:शुल्क प्रयोगकर्ताले Haiku मोडल मात्र प्रयोग गर्न पाउनेछन् र एकपटकमा एउटा एपसँग मात्र कनेक्ट गर्न सक्नेछन् ।
यद्यपि, Anthropic ले यस अपडेटमा प्रयोग गरिएको भ्वाइस इन्जिन वा भ्वाइस स्ट्याकबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन । त्यसैले OpenAI को भ्वाइस मोडमा जस्तै प्रयोगकर्ताले कुराकानीबीचमै सहज रूपमा रोक्ने वा अवरोध गर्ने (Interrupt) जस्ता उन्नत संवाद सुविधाहरू भने हाल उपलब्ध नहुन सक्ने अनुमान गरिएको छ ।
आईसीटी समाचार