तपाईंले सायद कहिल्यै सोच्नुभएन होला कि चम्चालाई पुनः आविष्कार गर्न आवश्यक छ । तर जापानी आविष्कारकहरू यसमा आश्वस्त छन् कि एक हाई–टेक चम्चाले हामीलाई बढी नुन भएको खाना खानबाट रोक्दै स्वस्थ खानामा सहयोग गर्न सक्छ ।
जापानी कम्पनी ’किरिन’ ले हल्का इलेक्ट्रोनिक करेन्टको प्रयोग गरेर खानालाई वास्तविकभन्दा बढी नुनिलो महसुस गराउँछ, जसले गर्दा उपभोक्ताहरू कम नुनमा पनि सन्तुष्ट हुन्छन् । यदि यो दैनिक जीवनमा प्रभावकारी साबित भयो भने इलेक्ट्रिक साल्ट स्पूनले नुनको अत्यधिक सेवनसँग सम्बन्धित विश्वव्यापी समस्यासँग लड्न सहयोग पुर्याउन सक्छ ।
हामीलाई बाँच्न केही सोडियमको आवश्यकता पर्छ, तर धेरै अनुसन्धानले अत्यधिक नुन सेवनलाई उच्च रक्तचाप, मुटुको रोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपन, ओस्टियोपोरोसिस र मिर्गौलाको रोगसँग जोडेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो समस्याले हरेक वर्ष विश्वभर १.८९ मिलियन मृत्युको कारण बन्छ ।
यो पुनःआविष्कार गरिएको चम्मचको पछाडि रहेको प्रविधि कमजोर इलेक्ट्रिक करेन्टमा निर्भर छ, जुन सोडियम आयनहरूलाई जिब्रोसम्म लैजान्छ, जहाँ उनीहरू बढी केन्द्रित र महसुस गर्न लायक हुन्छन् ।
किरिन कम्पनीले यो चम्चा यस वर्षको सुरुवातमा नेभाडाको लास भेगासमा कन्जुमर टेक्नोलोजी एसोसिएसनले आयोजना गरेको वार्षिक सिईएस टेक्नोलोजी इभेन्टमा प्रस्तुत गरेको थियो। कम्पनीको भनाइमा यो चम्मच सूप र सस जस्ता तरल पदार्थहरूसँग राम्रोसँग काम गर्छ। तर यो चिप्स, क्रिस्प्स, नुनीलो नट्स र प्रोसेस्ड फूडसँग नुनको सेवन घटाउन खासै प्रभावकारी छैन् ।
यो प्रविधिले काम गर्नका लागि खानामा थोरै नुन हुनुपर्छ । नभए नुनको स्वाद बढाउन कुनै प्रभाव पर्दैन् । यसको डिजाइन एक इलेक्ट्रिक टूथब्रश जस्तै छ । इलेक्ट्रोनिक ह्यान्डलमा इलेक्ट्रोड राखिएको छ, जसलाई हटाएर सफा गर्न सकिन्छ ।
डेभलपर्सका अनुसार, यो चम्चाले खानालाई झन्डै ५० प्रतिशत बढी नुनिलो बनाउँछ । जापानमा परम्परागत रामेन र सोया ससका परिकारहरू प्रायः धेरै नुनिला हुन्छन् । चम्चामा चार इंटेन्सिटी लेभलहरू छन् र किरिनले सबैभन्दा कमबाट सुरु गर्न सिफारिस गर्छ । सिईएसमा भने केही आगन्तुकहरूले न्यूनतम इंटेन्सिटीमा स्पष्ट फरक महसुस गर्न सकेनन् ।
कति छ यसको मूल्य?
इलेक्ट्रिक साल्ट स्पून जापानमा सीमित संख्यामा बिक्रीमा छ । यसको मूल्य लगभग २०,००० येन (१३० अमेरिकी डलर) । यसको निर्माताहरूका अनुसार, यसलाई डिशवाशरमा राख्न सकिँदैन र हातले सफा गर्नुपर्छ । बग्ने पानीमा धोएमा हाइटेक ह्यान्डल बिग्रन सक्छ ।