कीवर्डहरू -

अब फोन नम्बर होइन, नामबाटै व्हाट्सएपमा सम्पर्क गर्न सकिने, यसरी सुरक्षित गर्नुहोस् आफ्नो युजरनेम

अब फोन नम्बर होइन, नामबाटै व्हाट्सएपमा सम्पर्क गर्न सकिने, यसरी सुरक्षित गर्नुहोस् आफ्नो युजरनेम

काठमाडौं । व्हाट्सएपले युजरनेम रिजर्भ (सुरक्षित) गर्ने नयाँ सुविधा ल्याएको छ । अब प्रयोगकर्ताले आफ्नो युजरनेम पहिले नै सुरक्षित राख्न सक्नेछन् । कम्पनीले छिट्टै युजरनेममार्फत फोन नम्बर सार्वजनिक नगरी अरूलाई खोज्न र सम्पर्क गर्न मिल्ने सुविधा पनि ल्याउने जनाएको छ । यसले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउन मद्दत गर्नेछ । यो सुविधा हाल बिस्तारै सबै प्रयोगकर्तासम्म विस्तार भइरहेको छ ।

व्हाट्सएपको युजरनेम सुविधा आएपछि प्रयोगकर्ताले आफ्नो फोन नम्बर साझा नगरी केवल युजरनेममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्नेछन् । यसका लागि आफ्नो युजरनेम मात्र साझा गरे पुग्छ र अन्य प्रयोगकर्ताले सोही युजरनेम प्रयोग गरेर सजिलै खोज्न सक्नेछन् । यदि सबैले सम्पर्क नगरून् भन्ने चाहनुहुन्छ भने, अतिरिक्त Username Key पनि सेट गर्न सकिन्छ । युजरनेम थाहा नभएका व्यक्तिले तपाईंलाई सम्पर्क गर्न सक्ने छैनन् ।

यसरी गर्नुहोस् युजरनेम रिजर्भ
सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरबाट व्हाट्सएपलाई नवीनतम संस्करणमा अपडेट गर्नुहोस् । त्यसपछि Settings मा गएर Account मेनु खोल्नुहोस् र Username विकल्पमा ट्याप गर्नुहोस् । यहाँ आफ्नो इन्स्टाग्राम वा फेसबुकको युजरनेम प्रयोग गर्न सकिन्छ वा नयाँ युजरनेम पनि बनाउन सकिन्छ । आफूले रोजेको युजरनेम उपलब्ध छ कि छैन भनेर जाँच गरेपछि Save बटन थिचेर युजरनेम सुरक्षित गर्न सकिन्छ ।

यसरी सेट गर्नुहोस् Username Key
पहिले आफ्नो युजरनेम सिर्जना गर्नुहोस् । त्यसपछि Contact me by my username मा गएर People who know my key विकल्प चयन गर्नुहोस् । चाहनुहुन्छ भने नयाँ की पनि बनाउन सक्नुहुन्छ । अन्त्यमा Save Key मा ट्याप गरेर सेटिङ सुरक्षित गर्नुहोस् । भविष्यमा आवश्यक परे यही प्रक्रियामार्फत की परिवर्तन गर्न पनि सकिन्छ ।