कीवर्डहरू -

अब सेल्फी भिडियोबाटै गुगल अकाउन्टमा लगइन गर्न सकिने

अब सेल्फी भिडियोबाटै गुगल अकाउन्टमा लगइन गर्न सकिने

काठमाडौं । गुगलले प्रयोगकर्ताको पहिचान पुष्टि गर्न सेल्फी भिडियो (Selfie Video Verification) मा आधारित नयाँ लगइन सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले आवश्यक परेमा सेल्फी भिडियोमार्फत आफ्नो पहिचान प्रमाणित गरेर गुगल अकाउन्टमा लगइन गर्न सक्नेछन् ।

यो सुविधा विशेष गरी नियमित रूपमा प्रयोग गर्ने फोन वा कम्प्युटर उपलब्ध नभएको, अकाउन्ट लक भएको वा अन्य लगइन विकल्पले काम नगरेको अवस्थामा उपयोगी हुने गुगलले जनाएको छ । फोनको फेस अनलक (Face Unlock) वा पासकी (Passkey) जस्तै यो पनि अनुहारको पहिचानमार्फत सुरक्षा सुनिश्चित गर्ने अर्को माध्यम हो ।

सेल्फी भिडियो लगइन कसरी सेटअप गर्ने ?
- गुगलको My Account पेजमा जानुहोस् ।
- Security मा गएर How you sign in to Google सेक्सन खोल्नुहोस् ।
- त्यहाँ रहेको Selfie video विकल्पमा क्लिक गर्नुहोस् ।
- Add selfie for sign in मा गएर Continue थिच्नुहोस् ।
- कम्प्युटरमा क्यामेरा भए सोहीबाट वा क्यामेरा नभए फोनबाट QR Code स्क्यान गरेर प्रक्रिया पूरा गर्न सकिन्छ ।

सेल्फी भिडियो रेकर्ड गर्दा चस्मा वा मास्क हटाउनुपर्ने हुन्छ । साथै, भिडियो खिच्ने क्रममा पृष्ठभूमिमा अन्य व्यक्ति वा धेरै भिडभाड नभएको सुनिश्चित गर्नुपर्ने गुगलले जनाएको छ ।

डिपफेकबाट जोगिन अतिरिक्त सुरक्षा
पहिचान प्रमाणीकरणका क्रममा गुगलले प्रयोगकर्तालाई टाउको दायाँ बायाँ घुमाउन वा अन्य सामान्य गतिविधि गर्न लगाउन सक्छ । यसले डिपफेक (Deepfake) वा नक्कली भिडियो प्रयोग गरेर अकाउन्टमा अनधिकृत पहुँच हुन नदिन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

गुगलका अनुसार रेकर्ड गरिएको सेल्फी भिडियो सुरक्षित रूपमा भण्डारण गरिनेछ र भविष्यमा लगइन गर्दा अनुहार मिलाएर पहिचान पुष्टि गर्न मात्र प्रयोग हुनेछ ।

भिडियो हटाउन पनि सकिने
यदि प्रयोगकर्ताले पछि यो सुविधा प्रयोग गर्न नचाहेमा Video Verification पेजमा गएर सेल्फी भिडियो जुनसुकै बेला हटाउन सक्नेछन् । हाल भने यो सुविधा कार्यस्थल (Work/Organization), शैक्षिक संस्था (School), बालबालिकाका गुगल अकाउन्ट तथा Advanced Protection Program मा आबद्ध अकाउन्टहरूका लागि उपलब्ध छैन ।