कीवर्डहरू -

अब स्न्यापच्याटमा रियल टाइममा आफूले सुनिरहेको गीत साथीहरूसँग शेयर गर्न सकिने

अब स्न्यापच्याटमा रियल टाइममा आफूले सुनिरहेको गीत साथीहरूसँग शेयर गर्न सकिने

काठमाडौं । स्न्यापच्याटले ‘नाउ प्लेइङ’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले स्पोटिफाइ जस्ता स्ट्रिमिङ सेवासँग आफ्नो खाता जोडेर आफूले सुनिरहेको गीत रियलटाइममा स्न्याप म्यापमार्फत साथीहरूसँग साझेदारी गर्न सक्नेछन् । साथै, साथीहरूले पनि एकअर्काले कुन गीत सुनिरहेका छन् भन्ने जानकारी हेर्न सक्नेछन् ।

स्न्यापच्याटले ‘नाउ प्लेइङ’ फिचरलाई स्पटलाइट भिडियोसँग पनि जोडेको छ । अब प्रयोगकर्ताले स्पटलाइट भिडियोमा भेटिएको गीत सिधै स्पोटिफाइमा सेभ गर्न वा त्यसलाई स्पोटिफाइमा खोलेर सुन्न सक्नेछन् । आफ्नो संगीत गतिविधि कसले हेर्न पाउने भन्ने निर्णय पनि प्रयोगकर्ता आफैंले गर्न सक्नेछन् ।

यो फिचरले पहिले सुनेका गीतहरूको सूची भने देखाउने छैन । यदि २४ घण्टासम्म स्न्यापच्याट नखोलिएमा यो फिचर स्वत: बन्द हुनेछ र एप फेरि खोलेपछि मात्रै फेरि चल्नेछ । साथै, प्रयोगकर्ताले चाहेमा यो फिचर ३ घण्टा, २४ घण्टा वा आफूले चाहेको समयसम्म बन्द गर्न सक्नेछन् ।

सामाजिक सञ्जालहरूमा संगीत खोज्ने र साथीहरूसँग साझा गर्ने सुविधा लोकप्रिय बन्दै गएको बेला स्न्यापच्याटले पनि ‘नाउ प्लेइङ’ फिचर ल्याएको हो । यसअघि टिकटक, इन्स्टाग्राम र स्पोटिफाइले पनि यस्ता सुविधा उपलब्ध गराइसकेका छन् ।

स्न्यापच्याटका अनुसार, यो नयाँ फिचर हाल स्पोटिफाइ र स्न्यापच्याट उपलब्ध रहेका देशहरूमा विस्तार भइरहेको छ । क्यानडामा भने यो सुविधा छिट्टै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।