काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले दक्षिणपूर्वी एसियाका चार देशमा आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरको आपूर्ति रोक्न उत्पादन साझेदारहरूलाई निर्देशन दिएको छ । मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा सर्भर पठाउन रोक लगाएको हो ।
अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रणसम्बन्धी नियम थप कडा बनाएपछि एनभिडियाले यस्तो निर्णय लिएको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।
गत साता मात्रै वासिङ्टनले चिपको अवैध ओसारपसार रोक्न तथा दक्षिणपूर्वी एसियाका डाटा सेन्टरमार्फत कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीहरूको गतिविधि नियन्त्रण गर्न निर्यातसम्बन्धी नियम थप कडा बनाएको थियो ।
एफटीका अनुसार अमेरिकी प्रविधि कम्पनी डेल र सुपरमाइक्रोले डाटा सेन्टरका लागि उत्पादन गर्ने सर्भरमा एनभिडियाका चिप प्रयोग गर्दै आएका छन् । नयाँ निर्देशनका कारण यी कम्पनीका उत्पादन तथा आपूर्ति व्यवस्थासमेत प्रभावित भएका छन् ।
यसैबीच, सिङ्गापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले भाडा सम्झौतामार्फत चिनियाँ प्रविधि कम्पनी बाइटडान्सलाई एनभिडियाका हार्डवेयर प्रयोग गर्ने सुविधा उपलब्ध गराउने योजना बनाएको थियो । तर, नयाँ प्रतिबन्धले उक्त योजनामा समेत असर पार्न सक्ने देखिएको छ । एनभिडियाको यो रोक अस्थायी हो वा दीर्घकालीन भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।
अमेरिकाको नयाँ निर्यात नियमले आवश्यक इजाजतपत्रका लागि आवेदन दिन उपलब्ध गराइएको ९० दिनको अवधिमा क्षेत्रीय व्यवसायमा अन्योल र अव्यवस्था सिर्जना गरेको एक क्लाउड सेवा प्रदायकका कार्यकारीले एफटीलाई बताएका छन् । यस विषयमा प्रतिक्रिया लिन एएफपीले एनभिडिया, डेल, सुपरमाइक्रो, एओलानी र बाइटडान्ससँग सम्पर्क गरेको जनाएको छ ।
यसअघि पनि एनभिडियाका चिप अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै चीन पुर्याइएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ । केही अमेरिकी अधिकारीले उनी बेइजिङका लागि जासुसीमा संलग्न रहेको आशङ्का गरेका छन् ।
यद्यपि, एलिस हुआङ र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ । अमेरिका र चीनका प्रविधि कम्पनीहरूले ठूलो लगानी गरिरहेका कारण दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र गतिमा भइरहेको छ ।
केपीएमजीको अनुमानअनुसार सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणाले बढ्नेछ । यस अवधिमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसमेत दस गुणाले विस्तार हुने अनुमान गरिएको छ ।
आईसीटी समाचार