काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले असोज १ गतेदेखि अनलाइन आवेदन दिन पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सूचना जारी गर्दै दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको हो ।
कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर वा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी आवेदनका लागि योग्य हुनेछन् । यही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति कात्तिक १२ गते तोकिएको छ । विद्यार्थीले अनलाइन फाराम भर्दा आफू दीक्षान्त समारोहमा सहभागी हुने केन्द्र समेत छनोट गर्नुपर्नेछ । यस पटक त्रिविले विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै देशका सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र निर्धारण गरेको छ ।
बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र तोकिएको छ । तर एमफिल तथा पीएचडी पूरा गरेका विद्यार्थीका साथै टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीले अध्ययन तहअनुसार फरक शुल्क तिर्नुपर्नेछ । स्नातक तहका लागि तीन हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि तीन हजार पाँच सय रुपैयाँ र विद्यावारिधिका लागि चार हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, दीक्षान्त समारोहमा लगाइने गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले दुई हजार पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । उक्त रकमबाट पाँच सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरिनेछ भने बाँकी दुई हजार रुपैयाँ विद्यार्थीको बैंक खातामा फिर्ता गरिने कार्यालयले जनाएको छ ।
विद्यार्थीले दीक्षान्त समारोहमा बढीमा दुई जना अभिभावक सहभागी गराउन पाउनेछन् । प्रत्येक अभिभावकका लागि चार सय रुपैयाँ शुल्क तोकिएको छ । यो रकम भने फिर्ता नहुने जनाइएको छ । त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप पाँच सय रुपैयाँ बुझाउनु पर्नेछ ।
दीक्षान्त समारोहसँग सम्बन्धित सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र बुझाउन सकिने कार्यालयले जनाएको छ ।
आईसीटी समाचार