कीवर्डहरू -

चिकित्सा शिक्षा सुधारमा प्रा.डा. गोविन्द केसीको योगदान महत्त्वपूर्ण : शिक्षा मन्त्रालय

चिकित्सा शिक्षा सुधारमा प्रा.डा. गोविन्द केसीको योगदान महत्त्वपूर्ण : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्न प्रा.डा. गोविन्द केसीले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसी र नेपाल सरकारबीच विभिन्न समयमा भएका सहमति कार्यान्वयन हुँदा चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिएको छ ।

वि.सं. २०७५ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी भएपछि चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षाको सञ्चालन तथा नि:शुल्क छात्रवृत्तिका लागि विद्यार्थी छनोट र व्यवस्थापनजस्ता महत्त्वपूर्ण काम अघि बढेको मन्त्रालयले जनाएको छ । 

ऐनको प्रभावकारी कार्यान्वयनसँगै चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न समेत प्रगति भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु शैक्षिक सत्रदेखि विभिन्न विधामा पठनपाठन सुरु हुने भएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेस प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विकासका काम अघि बढिरहेका छन् ।

चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाहरूलाई सम्बन्धन दिने प्रक्रियालाई समेत थप व्यवस्थित, पारदर्शी र निर्धारित मापदण्डमा आधारित बनाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

गत साउन ११ गते प्रा.डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदाहरू कार्यान्वयन गर्न सम्बन्धित विषयमा कार्यदल गठन गरी काम अघि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्दै यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ ।

आगामी दिनमा चिकित्सा शिक्षा मात्र नभई समग्र शिक्षा क्षेत्रको सेवा प्रवाहमा सुधार गर्दै शैक्षिक सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।