ओपनएआईले आउने केही हप्ताभित्र च्याटजीपीटीभित्र विज्ञापन परीक्षण सुरु गर्ने योजना बनाएको छ। शुक्रबार प्रकाशित ब्लग पोस्टमा कम्पनीले अमेरिकामा रहेका आफ्ना फ्री र गो टियरका युवा प्रयोगकर्ताहरूले च्याटबोटसँगको कुराकानीपछि तलतर्फ स्पोन्सर्ड उत्पादन तथा सेवाका विज्ञापन देख्न थाल्ने जानकारी दिएको छ।
कम्पनीका अनुसार ती विज्ञापनहरूलाई स्पष्ट रूपमा ‘Ads’ भनेर चिनाइनेछ र तिनलाई सामान्य (अर्ग्यानिक) उत्तरबाट अलग राखिनेछ। ओपनएआईले भनेको छ कि विज्ञापनले च्याटजीपीटीले दिने उत्तरमा कुनै प्रभाव पार्ने छैन।
‘उत्तरहरू प्रयोगकर्ताका लागि सबैभन्दा उपयोगी हुने आधारमा अनुकूलित हुन्छन्,’ कम्पनीले स्पष्ट पारेको छ। ओपनएआईका अनुसार स्वास्थ्य, मानसिक अवस्था वा समसामयिक राजनीतिजस्ता संवेदनशील विषयमा कुराकानी गर्दा विज्ञापन देखाइने छैन। त्यस्तै, १८ वर्षमुनिका किशोर प्रयोगकर्तालाई पनि विज्ञापन नदेखाइने कम्पनीको भनाइ छ।
गोपनीयताको विषयमा ओपनएआईले प्रयोगकर्ताको डेटा विज्ञापनदातासँग साझेदारी वा बिक्री नगर्ने जनाएको छ। साथै, प्रयोगकर्ताले विज्ञापन पर्सनलाइजेसन बन्द गर्न र स्पोन्सर्ड कन्टेन्ट देखाउन प्रयोग गरिएको डेटा हटाउन सक्ने विकल्प पनि पाउनेछन्। ‘च्याटजीपीटीमा विज्ञापन नदेख्ने विकल्प हामी सधैं उपलब्ध गराउनेछौं, जसमा विज्ञापनरहित पेड टियर पनि समावेश छ,’ ओपनएआईले जनाएको छ।
प्रयोगकर्ताले विज्ञापन हटाउन पनि सक्नेछन्। त्यस अवस्थामा, उक्त विज्ञापनसँग किन संलग्न नभएको भन्ने कारण बताउन अनुरोध गरिनेछ। ‘एआईको क्षमतासँगै हामी भविष्यमा परम्परागत विज्ञापनभन्दा बढी उपयोगी र सान्दर्भिक अनुभव विकास गर्न उत्साहित छौं। संवादात्मक इन्टरफेसले स्थिर सन्देश र लिंकभन्दा बाहिर जाने सम्भावना खोलिदिन्छ,’ ओपनएआईले भनेको छ।
तर कम्पनीले आफ्नो दीर्घकालीन ध्यान भने प्रयोगकर्ता र व्यवसायले पैसा तिरेर प्रयोग गर्न चाहने मूल्यवान् उत्पादन निर्माणमै केन्द्रित रहने पनि स्पष्ट पारेको छ।
आईसीटी समाचार