कीवर्डहरू -

विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?

विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?

छैटौँ संस्करणको वार्षिक नेपाल एआई स्कुल (ANAIS 2025) का लागि आवेदन खुला गरिएको छ। नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (NAAMII) द्वारा आयोजना हुने यो प्रतिष्ठित कार्यक्रम आगामी डिसेम्बर २९ देखि जनवरी ८ सम्म काठमाडौंमा भौतिक रूपमा सञ्चालन हुनेछ।

कम्प्युटर साइन्स, इन्जिनियरिङ, गणित तथा अन्य सम्बन्धित विषयमा अध्ययनरत स्नातक, स्नातकोत्तर, पीएचडी विद्यार्थीहरू, साथै एआई क्षेत्रमा सक्रिय इन्जिनियर, अनुसन्धानकर्ता र पेशेवरहरूले यसमा आवेदन दिन सक्नेछन्।

कार्यक्रमको मुख्य उद्देश्य विश्वभरका अग्रणी वैज्ञानिक, अनुसन्धानकर्ता र प्राध्यापकलाई नेपालमा एकै स्थानमा ल्याई अनुभवी तथा युवा शोधकर्ताबीच अत्याधुनिक एआई प्रविधि र अनुसन्धानका विषयमा गहन ज्ञान आदान–प्रदान गराउने मंच तयार गर्नु हो।

नामीका सह–संस्थापक डा. विशेष खनालका अनुसार एआई क्षेत्रमा प्रवेश गर्न चाहने सहभागीहरूलाई गणित, तथ्याङ्क, प्रोग्रामिङ तथा ‘पेपर रिडिङ’ जस्ता आधारभूत सीपहरू मजबुत बनाउन यो स्कुलले महत्वपूर्ण योगदान दिँदै आएको छ। उनका अनुसार यो कार्यक्रमले सहभागीहरूको क्षमतावृद्धि गर्ने मात्र होइन, विकासशील मुलुकहरूबाट एआई क्षेत्रमा भावी नेतृत्वकर्ताहरू तयार पार्ने र एआई शिक्षा तथा अवसरलाई लोकतान्त्रिक बनाउने अभियानलाई पनि अगाडि बढाइरहेको छ।

null

यस संस्करणमा अक्सफोर्ड, आईआईटी, सिंगापुर, क्याम्ब्रिजलगायत विश्वका अग्रणी शैक्षिक तथा अनुसन्धान संस्थानमा कार्यरत प्रशिक्षकहरूले नेपालमै आएर कक्षा संचालन गर्नेछन्। अन्तर्राष्ट्रिय छात्रवृत्तिको आवेदन अवधि सकिएको भए पनि राष्ट्रिय छात्रवृत्तिका लागि नोभेम्बर ३० सम्म आवेदन दिन सकिनेछ।

अन्य सबै श्रेणीका सहभागिताका लागि आवेदन डिसेम्बर २१ सम्म खुला रहने नामीले जनाएको छ। सिट संख्या सीमित भएकाले यथाशीघ्र आवेदन दिन अनुरोध गरिएको छ। आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाली विद्यार्थीका लागि शुल्क रू. १२ हजार, स्टार्टअप प्रोफेसनलका लागि रू. २१ हजार, एकेडेमिक प्रोफेसनलका लागि रू. ३० हजार र अन्य पेशेवरका लागि रू. ४० हजार निर्धारण गरिएको छ। विदेशी सहभागीका लागि कम आय भएका मुलुकका आवेदकहरूलाई १२० देखि ३०० डलरसम्म र अन्य मुलुकका लागि २४० देखि ३६० डलरसम्म शुल्क तोकिएको छ।

शुल्कमा १० दिनसम्मका सबै लेक्चर तथा ल्याब सेसन, एक दिनको हाइकिङ, लन्च र चियापान समावेश छन्, तर यात्रा, बसोबास र खानेको व्यवस्था सहभागीले आफैँ गर्नुपर्नेछ। विद्यार्थीका लागि पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्था भए पनि छात्रवृत्तिमा यात्रा तथा बसोबासको सुविधा समावेश गरिएको छैन।

यस वर्ष नेपालसहित विश्वभरबाट २०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। नेपाल एआई स्कुल २०१८ देखि सञ्चालन हुँदै आएको छ र यो कार्यक्रमले नेपालमा एआई शिक्षा, अनुसन्धान र जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कार्यक्रमसम्बन्धी विस्तृत जानकारी वेबसाइटडिस्कोर्ड समुदायमा जोडिएर लिन सकिने छ । 

null