कीवर्डहरू -

डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आयोजना र कहाँ इन्कोर्पोरेसनको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पाटन दरबार संग्राहलयका ४५ जना कर्मचारीलाई डिजिटल प्रविधि प्रयोग गरी सम्पदा व्यवस्थापन, पर्यटन प्रवद्र्धन, र स्थानीय सम्पदाको डिजिटल संरक्षणका विधिहरूको बारेमा जानकारी प्रदान गरिएको छ । गत आर्थिक वर्षमा कहाँ इन्कोर्पोरेसनको सहकार्यमा ललितपुर महानगरपालिकाले पाटन दरबार संग्राहलयसहित १०० सम्पदा स्थलहरूको डिजिटल अभिलेख तयार गरेको थियो ।

कहाँ इन्कोर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रविन्द्र घिमिरेले डिजिटल अभिलेखीकृत सम्पदा परियोजनाका मुख्य उपलब्धिहरूको बारेमा जानकारी दिदै सम्पदा स्थलहरूमा क्युआर कोड राखेको बताएका थिए ।

उक्त क्युआर कोडबाट पर्यटकहरूले आफ्नो मोबाइलबाटै कोड स्क्यान गरी सम्पदाको ऐतिहासिक, धार्मिक, र सांस्कृतिक महत्त्वका बारेमा विभिन्न भाषाहरूमा जानकारी लिन सकिने छ । पाटन दरबार संग्राहलयका कार्यकारी निर्देशक मञ्जु सिंह भण्डारीले पर्यटकले कुनै पनि कर्मचारीको सहयोग बिना सम्पदाको सबै जानकारी डिजिटल माध्यामबाट पाउन सक्ने बताइन् ।

यो पहल विदेशीका लागि मात्र नभएर नेपाली पर्यटकहरूका लागि पनि निकै उपयोगी भएको उनको भनाइ छ । क्युआर कोड स्क्यान गर्दा पर्यटकहरूले पाँचवटा भाषामा सम्पदाको बारेमा जानकारी लिन सक्ने छन् । 
उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवम् वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले यो परियोजनाले सम्पदा संरक्षण र प्रवद्र्धनमा नयाँ आयाम थपेको बताउँदै पहिलो चरणमा १०० सम्पदाको डिजिटल अभिलेखीकरण सम्पन्न भएको जानकारी दिए ।

दोस्रो चरणमा थप सम्पदाहरूलाई समेट्दै क्युआर कोड स्थापना र अभिलेखीकरणलाई विस्तार गर्ने योजना रहेको उनले जनाए । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, महानगरका अभिकृत ज्ञानेन्द्र श्रेष्ठ र पाटन दरबार संग्राहलयका अधिकृत सुरेश लाखे लगायतको उपस्थिति थियो ।