कीवर्डहरू -

आकर्षक कमिसन दिने भन्दै ७० हजार बढी नेपालीबाट १२ करोड ठगी, ११ जना पक्राउ

आकर्षक कमिसन दिने भन्दै ७० हजार बढी नेपालीबाट १२ करोड ठगी, ११ जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप्लिकेशनको प्रयोग गरी अनलाइन स्क्यामिङ गर्ने गिरोहका ११ जना व्यक्तिलाई पक्राउ गरेको छ। ब्यूरोले देशका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको हो । 

गिरोहले सामाजिक सञ्जाल तथा अनलाइन विज्ञापनमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाउँदै सर्वसाधारणलाई एसएमसी एप डाउनलोड गराई रकम लगानी गर्न उक्साउने गरेको पाइएको छ। 

उनीहरूले एसएमसिएन एड्भरटाइजिङ सर्भिस सेन्टर प्रालिको नाममा खैरहनी नगरपालिका-७ चितवनमा कार्यालय खोलेका थिए । ठगी गर्नका लागि बनाइएको एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएका छन्।

सुरुमा सानो नाफा देखाएर विश्वास जित्ने र पछि ठूलो रकम लगानी गराएपछि सम्पर्कविहीन हुने शैलीमा ठगी गरिएको साइबर ब्युरोले जनाएको छ।

एपमा जोडिएका व्यक्तिहरूलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा गरिएको दर्ताको प्रमाणपत्र र भौतिक कार्यालय समेत स्थापना गरेको देखाएर वैधताको झूटा विश्वास दिलाएको देखिएको छ।

विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्सल, वार्नर ब्रोज, डिज्नीसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाउने भनेर झुट्टो दाबी गरेको देखिन्छ। 

यसरी विश्वासमा लिएर पिरामिड शैलीमा कमिसनको लोभ दिलाउने काम भएको साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले जानकारी दिएका छन् । 

उनका अनुसार सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाइएको थियो । लेभल ए निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, लेभल बी निक्षेपमा ४ प्रतिशत कमिसन र दैनिक कामको २ प्रतिशत र लेभल सी निक्षेपमा १ प्रतिशत कमिसन र दैनिक कामको १ प्रतिशत आम्दानी हुने भनिएको थियो।
कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने काम गरेको अनुसन्धानमा देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उक्त गिरोहले २५५ भन्दा बढी उजुरीकर्ता बाट करिब १२ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको छ। पीडितहरू देशका विभिन्न जिल्लाका रहेका छन्।

पक्राउ परेकामाथि संगठित अपराध ऐन २०७० र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ । 

साइबर ब्युरोको चेतावनी

नेपाल प्रहरीको साइबर ब्युरोले आम नागरिकलाई अनलाइन माध्यमबाट हुने यस्ता लगानी, डिजिटल टास्क, र छिटो नाफा दिने दाबीप्रति सचेत रहन आग्रह गरेको छ। कुनै पनि अनलाइन प्लेटफर्ममा लगानी गर्नुअघि कम्पनीको दर्ता, कानुनी हैसियत र आधिकारिक निकायबाट स्वीकृति भएको/नभएको यकिन गर्न प्रहरीले अनुरोध गरेको छ।

साथै, बैंक खाता, क्युआर कोड, ओटीपी, पासवर्ड वा डिजिटल वालेट विवरण कसैलाई नदिन, अनलाइनमार्फत आएको आकर्षक अफरमा सजिलै नफस्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै cyberbureau.nepalpolice.gov.np वा साइबर ब्युरोमा उजुरी दिन आग्रह गरिएको छ।