कीवर्डहरू -

टिकटकलाई चुनौती दिने मेटाको योजना, नयाँ क्रिएटरका लागि ४५ हजारडलरसम्मको प्रोत्साहन प्रस्ताव

टिकटकलाई चुनौती दिने मेटाको योजना, नयाँ क्रिएटरका लागि ४५ हजारडलरसम्मको प्रोत्साहन प्रस्ताव

मेटा (फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी) ले क्रिएटर्सलाई आफ्ना प्लेटफर्महरूमा आकर्षित गर्नका लागि अमेरिका भित्र ४५ हजार डलरसम्मको क्रिएटर्स फण्ड प्रस्ताव गरेको छ ।

यो कदम विशेषगरी टिकटक क्रिएटर्सलाई आकर्षित गर्नका लागि डिजाइन गरिएको 'ब्रेकथ्रू बोनस प्रोग्राम' अन्तर्गत लिइएको हो । अमेरिका भित्र टिकटकको भविष्यलाई लिएर अनिश्चितता बढिरहेको समयमा, मेटाले यो अवसरलाई आफ्नो फाइदाका लागि उपयोग गर्ने प्रयास गरिरहेको छ ।

टिकटक, जसका अमेरिका भित्र १७० मिलियन प्रयोगकर्ता छन्, सरकारी कडा निगरानीका कारण प्रतिबन्धको जोखिममा परेको छ । यो प्लेटफर्म धेरै क्रिएटर्सको आयस्रोतको प्रमुख माध्यम बनिसकेको छ । यदि टिकटक माथि प्रतिबन्ध लगाइयो वा अन्य सीमाहरू लागू गरिए, मेटाले आफूलाई एक राम्रो विकल्पको रूपमा प्रस्तुत गर्न खोजिरहेको छ ।

अमेरिकी सुप्रीम कोर्टको निर्णय अनुसार, बाईटडान्स (टिकटकको पेरेन्ट कम्पनी) लाई टिकटक बेच्न वा अमेरिका भित्र यो प्लेटफर्म बन्द गर्नका लागि विकल्प दिइएको  छ। सरकारले यसलाई डेटा सुरक्षामा खतरा रहेको औंल्याएको छ ।

मेटाको आधिकारिक वेबसाइट अनुसार, यो प्रोग्रामका लागि क्रिएटर्सले केही नियमहरू पूरा गर्नुपर्नेछः

  • फेसबुकमा २० ओरिजिनल रील्स र इन्स्टाग्राममा १० रील्स पोस्ट गर्नुपर्नेछ ।
  • हरेक ३० दिनको अवधिमा यो प्रक्रिया ९० दिनसम्म गर्नु पर्नेछ ।
  • रील्स पूर्ण रूपमा ओरिजिनल हुनुपर्छ, अन्य प्लेटफर्मबाट पुनःपोस्ट गर्न पाइने छैन् ।

कसले लाभ पाउनेछ?

यो प्रोग्राम केवल ती क्रिएटर्सका लागि हो, जो पहिलो पटक फेसबुक वा इन्स्टाग्राममा सहभागी हुँदैछन् । मेटाको यो कदम टिकटक जस्ता प्लेटफर्महरूबाट क्रिएटर्सलाई हटाएर आफ्नो प्लेटफर्ममा ल्याउन लक्षित छ ।

मेटा आफ्ना प्लेटफर्महरूलाई टिकटक जस्तै बनाउनतर्फ काम गरिरहेको छ । जस्तै— इन्स्टाग्राममा अब परम्परागत स्क्वायर पोस्टको सट्टा रेक्ट्याङ्गुलर पोस्ट र भिडियो देखिरहेको छ । टिकटकको भर्टिकल भिडियो लेआउट बाट प्रेरित यी परिवर्तन सबैलाई मन परेका छैनन् ।

मेटाका नयाँ फिचरहरू

  • एफिलिएट लिंकः भिडियोमा डाइरेक्ट एफिलिएट लिंक राख्ने विकल्प ।
  • ब्लू चेक भेरिफिकेसनः भेरिफिकेसन सब्सक्रिप्शन अब निःशुल्क गरिएको छ ।
  • “एडिट्स” एपः यो भिडियो एडिटिङ एप बाइटडान्सको क्यापकट जस्तै देखिन्छ ।