कीवर्डहरू -

युट्युब म्युजिकमा प्लेलिस्ट व्यवस्थापन सजिलो, गुगलले थप्यो नयाँ सर्टिङ फिचर

युट्युब म्युजिकमा प्लेलिस्ट व्यवस्थापन सजिलो, गुगलले थप्यो नयाँ सर्टिङ फिचर

काठमाडौं । युट्युब प्रयोगकर्ताले अब आफ्ना प्लेलिस्टहरू अझ व्यवस्थित रूपमा मिलाउन सक्ने भएका छन् । लामो समयदेखि प्रयोगकर्ताले भोग्दै आएको प्लेलिस्ट व्यवस्थापनको झन्झट कम गर्न गुगलले नयाँ फिल्टर र सर्टिङ विकल्प सार्वजनिक गरेको हो ।

यसअघि युट्युब म्युजिकमा गीतहरू क्रम मिलाउन प्रयोगकर्ताले म्यानुअल रूपमा स्क्रोल गरेर तल माथि सार्नुपर्ने बाध्यता थियो । विशेष गरी लामो प्लेलिस्ट भएका प्रयोगकर्ताका लागि यो प्रक्रिया समय खपत हुने र झन्झटिलो मानिन्थ्यो । अब भने प्रयोगकर्ताले गीतको शीर्षक, कलाकार र एल्बमका आधारमा प्लेलिस्टलाई वर्णानुक्रम अनुसार सजिलै मिलाउन सक्नेछन् ।

यसअघि प्लेलिस्ट व्यवस्थापनका लागि म्यानुअल अर्डर, टप भोटेड, नयाँ वा पुराना गीत प्राथमिकतामा देखिने जस्ता सीमित विकल्प मात्र उपलब्ध थिए । नयाँ अपडेटपछि प्रयोगकर्तालाई आफ्ना गीतहरू खोज्न र व्यवस्थित गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

यो फिचर पहिलो पटक एन्ड्रोइडमा युट्युब म्युजिकको भर्सन ९.२०.५२ मा देखिएको बताइएको छ । यद्यपि, यो अपडेट सर्भर-साइड रोलआउट मार्फत विस्तार भइरहेकाले सबै प्रयोगकर्ताले एकैपटक सुविधा पाएका छैनन् । एप अपडेट गरेपछि पनि कतिपय प्रयोगकर्ताको डिभाइसमा यो फिचर तुरुन्त उपलब्ध नहुन सक्ने बताइएको छ ।

युट्युब म्युजिकमा आएको यो परिवर्तनलाई धेरैले स्वागत गरेका छन् । तर, स्पोटिफाइ र एप्पल म्युजिक जस्ता प्रतिस्पर्धी प्लेटफर्ममा यस्ता सुविधा वर्षौँअघिदेखि उपलब्ध भएकाले सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले गुगलले सामान्य फिचर ल्याउन निकै ढिला गरेको टिप्पणी समेत गरेका छन् ।

हालका दिनमा युट्युब म्युजिकले प्रतिस्पर्धी बजारमा आफूलाई बलियो बनाउन नयाँ नयाँ सुविधा थपिरहेको छ । हालै कम्पनीले प्रिमियम प्रयोगकर्ताका लागि एआई आधारित प्लेलिस्ट फिचर पनि ल्याएको छ, जसले प्रयोगकर्ताको मुड वा निर्देशनका आधारमा स्वत: गीतहरूको मिश्रण तयार पार्ने सुविधा दिन्छ ।

यो अपडेट यस्तो समयमा आएको हो, जब गुगलले अमेरिकामा युट्युब म्युजिक प्रिमियमको शुल्क बढाएर प्रतिमहिना १२ डलर पुर्‍याएको छ । मूल्य वृद्धि भएपनि प्रयोगकर्ताले लामो समयदेखि माग गर्दै आएका उपयोगी फिचरहरू क्रमश: पाउन थालेका छन् ।