कीवर्डहरू -

‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’

नेपाल आफैले निर्यात नगरे अरू कोही आएर निर्यात गर्छ

‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’

पछिल्लो समय नेपालमा ग्रीन हाइड्रोजन चर्चामा छ । काठमाडौं विश्विविद्यालयले ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी नेपालको पहिलो पटक हाइड्रोजनबाट चल्ने कार भित्र्याइ र पहिलो रिफ्युलिङ स्टेशन स्थापना गरी यस क्षेत्रमा काम गरिरहेको छ ।

अहिले नेपालमा यसको सम्भाव्यता र विकासबारे परीक्षण भईरहेको छ । नेपालमा विश्वकै सस्तो हाइड्रोजन उत्पादन हुन सक्ने सम्भावना रहेको केही अध्ययनबाट देखिएको छ ।

खाडी मुलुकहरू तेल बेचेर धनी भए जसरी विश्वभर हाइड्रोजन निर्यात गरेर नेपाल धनी हुन सक्छ भन्नु महत्त्वकांक्षी कुरामा मात्र सिमित नरहने देखिन्छ । 

यसै सन्दर्भमा नेपालमा हाइड्रोजनको सम्भावना, चुनौती र अवसरका बारेमा काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापासँग आईसीटी समाचारका लागि कमल केसीले गरेको कुराकानीको सम्पादित अंशः


हाइड्रोजन भनेको के हो ? 

हाइड्रोजन भनेको सबैभन्दा सुक्ष्म र उर्जाको घनत्व बढी भएको अणु हो भनी बच्चादेखि नै पढ्दै आएका छौं । पहिलो पटक चन्द्रमामा रकेट पुर्‍याउने इन्धनको रूपमा पनि हाइड्रोजन प्रयोग भएको थियो । हाइड्रोजन बम सबै भन्दा शक्तिशाली हुन्छ भनेर पनि सुन्दै आएका छौं । 

यसरी उर्जाको घनत्व बढी भएको हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने बम, रकेट मात्रै होइन, जहाँ हामीलाई उर्जा आवश्यक पर्छ त्यहाँ प्रयोग गर्न सक्छौं । आज पनि विश्वमा करोडौं टन हाइड्रोजनको प्रयोग हुन्छ । तर यो जनरल हाइड्रोजन भयो । यसबाहेक हाइड्रोजनलाई उत्पादनको प्रक्रियाको आधारमा वर्गीकरण गरिएको छ ।

हामीले कोइला, ग्यासबाट हाइड्रोजन निकाल्दा कार्बनडाइअक्साइड निस्किन्छ । त्यसरी निस्किएको कार्बनले वातावरणमा नकारात्मक असर गर्छ । यसरी कार्बनडाइअक्साइड हावामा विसर्जन भयो भने त्यसलाई हामी ब्ल्याक वा ग्रे हाइड्रोजनज भन्छौं । कार्बनडाइअक्साइडलाई वातावरणमा जान दिइएन भने त्यसलाई ब्लू हाइड्रोजन भनिन्छ ।

त्यस्तै, पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ । पानीलाई हामीले बिजुलीको प्रवाहद्वारा टुक्रयाएर अक्सिजन र हाइड्रोजन छुट्यायौं भने त्यसमा कार्बनडाइअक्साइड आउँदैन् । त्यसरी कार्बनडाइअक्साइड उत्पादन नभई उत्पादन भएको हाइड्रोजनलाई ग्रीन हाइड्रोजन भनिन्छ ।

काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजनमा सन् २०२० बाट काम गरिरहेको छ । अहिलेसम्म कसरी काम भइरहेको छ ?

हामीसँग जलविद्युत देखि सोलार सम्म अथाह हरित उर्जा छ । नवीकरणीय उर्जाको स्रोत हामीसँग प्रशस्त भएता पनि यसको खपत कम गरिरहेका छौं भने पेट्रोल, डिजेल, कोइला जस्ता जीवाश्म इन्धनको खपत दिनानुदिन बढ्दै गईरहेको छ ।

हामीसँग भएको नवीकरणीय उर्जाले हामीसँग नभएको पेट्रोलियम पदार्थलाई कसरी विस्थापन गर्न सकिन्छ ? यसको अनुसन्धान गर्नुपर्छ भन्ने लागेर काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजनमा अध्ययन गर्न सुरू गरेको हो । 

यो नेपालको लागि मात्रै भएको भए त अलि चुनौतीपूर्ण हुन्थ्यो । तर ऊर्जा हामीलाई मात्र चाहिने होइन, सारा संसारलाई नै चाहिने हो र हाल मुलुकहरुको लक्ष्य जीवाश्म इन्धन (पेट्रोल, डिजेल, कोइला) लाई नवीकरणीय उर्जाले प्रतिस्थापन गर्ने रहेको छ ।

कोप २६ बाटै यसको म्यान्डेटहरू अगाडि आएको छ । विकसित राष्ट्रहरूले ग्रीन हाइड्रोजनको प्रयोगद्वारा जीवाश्म इन्धनलाई विस्थापित गर्दै सन् २०५० सम्म नेट जिरो कार्बन उत्सर्जनलाई लक्ष्य मानेर हिडिरहेका छन् ।

यस सन्दर्भमा, विश्वलाई चाहिने भन्दा बढी नवीकरणीय उर्जा उपलब्ध छ तापनि सिधैं लगेर प्रयोग गर्न सकिँदैन् । तसर्थ जीवाश्म इन्धनलाई विस्थापित गर्न नवीकरणीय उर्जालाई पहिला ग्रीन हाइड्रोजन बनाइ जहाँ जहाँ जीवाश्म इन्धन प्रयोग हुन्छ, त्यहाँ त्यहाँ विस्थापन गर्दै लैजान सकिन्छ। यो दिशामा आज संसार एकजुट भएको छ ।

null

हामी पनि पेट्रोलियम पदार्थबाट बाहिर निस्किनु पर्छ । हामीसँग पनि नवीकरणीय उर्जाको प्रचुर सम्भावना छ । तर हाइड्रोजनको अनुसन्धान, व्यवस्थापन र प्रयोग नेपालमा भएको थिएन । त्यसलाई जोड्ने प्रयासको रूपमा विश्वविद्यालयले सन् २०२० बाट ग्रीन हाइड्रोजनको ल्याब सुरू गरेको हो । 

ग्रीन हाइड्रोजनमा काम गर्दै गर्दा के के चुनौतीहरू पाउनु भयो ? 

हामीले हाइड्रोजनमा अनुसन्धान गर्नु अगाडि पनि केही केही काम भएका थिए । म आफैले पनि कक्षा ७ मा पढ्दै गर्दा विज्ञान पढाउने गुरूले पानीलाई बिजुलीबाट टुक्र्याएर अक्सिजन र हाइड्रोजन छुट्याएर हाइड्रोजन बालेको नमुना परीक्षण गर्नु भएको थियो । तर राष्ट्रलाई नै हाइड्रोजनको दिशातिर लैजाने नमुना प्रयोग भएको थिएन ।

हामीले यहाँ चुनौतीभन्दा पनि बढी सम्भावना देख्यौं । चुनौतीहरू जहाँपनि छन्, तर हाइड्रोजनमा सम्भावना धेरै छ । किनभने हाइड्रोजन प्रविधिको विकास हामी एक्लैले नै गर्नुपर्ने थिएन । सारा संसारलाई हाइड्रोजन प्रविधि चाहिएको थियो । त्यसको विकास पनि सारा संसारमा हुँदै थियो ।

हाइड्रोजनबाट जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्न राष्ट्रियस्तरको नीति, नियमहरू चाहिन्थ्यो । धेरै विकसित मुलुकहरूले पनि त्यस्ता खालका नीतिहरू बनाउँदै गरेको अवस्था थियो । हामीसँग प्रशस्त जलविद्युत उत्पादन हुँदै थियो । सन् २०२० बाटै नेपालमा खपत नभएर विद्युत खेर जान थालिसकेको थियो ।

नेपालमा वर्षेनी करिब ४ खर्बको पेट्रोल आयात हुँदै गरेको छ । यसलाई हाइड्रोजनबाट विस्थापित गर्न सक्ने सम्भावना देख्यौं । चुनौती मात्र देखेको भए हामी कतै पनि पुग्दैन थियौँ होला । तर यसमा देखिएको सम्भावनाले हामीलाई यहाँसम्म ल्याएको छ । सम्भावनाले नै चुनौती सामना गर्ने हिम्मत पनि दियो । 

पहिलो कुरा त जनमानसमा हाइड्रोजन भनेको के हो ? नेपाललाई किन आवश्यक छ ? यसबाट नेपाललाई कसरी अगाडि लान सक्छौं ? भन्ने बुझाउन चुनौती थियो । जनताले बुझेपछि बल्ल त्यो राजीनितिक तहमा आउँछ । त्यसपछि बल्ल सरकारले बुझ्छ । सरकारले बुझेपछि आवश्यक नीति, ऐन, नियम लगायतका कानुनहरू तयार हुन्छन् । हाइड्रोजनको पैरवीमा हामीले ठूलो चुनौती देखेका थियौं । तर हामी चुनौतीहरुको सामना गर्दै सफल हुँदै गएका छौँ । 

ग्रीन हाइड्रोजनको क्षेत्रमा नेपालले कस्तो सम्भावना बोकेको छ ? 

जुन देशहरूले आज ट्रिलियन डलर बराबरको तेल बेचिरहेका छन्, त्यस देशहरुको पनि ग्रीन हाइड्रोजन प्रति ध्यानाकर्षण भएको छ । भविष्यमा सो तेलको खपत क्रमिक रूपमा घटाउँदै लैजाने र यसलाई शुन्यमै झार्नुपर्छ भन्ने महत्त्कांक्षी लक्ष्य विकसित मुलुकहरूले पनि लिइसकेका छन् । 

तेलको खपत घटाउनका लागि नवीकरणीय उर्जाको खपत बढाउनु पर्ने र नवीकरणीय उर्जालाई हाइड्रोजनमा रूपान्तरण गर्नुपर्ने दिशातर्फ जाँदै गर्दा नेपालको सम्भावना पैदा भएको हो । यो नेपालको आफ्नै सम्भावना होइन । त्यसकारण नेपालमा सम्भावना २ वटा किसिमले देखिएको छ ।

null

एउटा हामी जलस्रोतको धनी देश हौं । त्यो जललाई विद्युतमा रूपान्तरण गर्न हामी सफल हुँदै गएका छौं । आजभन्दा १० वर्ष अगाडि त्यो सम्भव थिएन । दैनिक १८ घण्टा बढी लोडसेडिङ हुन्थ्यो । बिजुलीको माग पुगेकै थिएन । त्यो बिजुलीले हाइड्रोजन बनाएर जीवाश्म इन्धनको प्रतिस्थापन गर्ने भनेको हाँसोको विषय हुन्थ्यो । तर अब जलविद्युतमा अत्याधिक लगानी बढेको छ ।

जलविद्युत बिक्री भएन भने बैंकको लगानी डुब्न सक्ने जोखिम छ । हामीले बैंकमा जम्मा गरेको रकम बैंकबाट जलविद्युतमा गइरहेको छ । त्यसकारण विद्युतको प्रयोग उच्चतम हुनुपर्छ । त्यो भएन भने देशलाई ठूलो घाटा हुन्छ । एउटा हामीले सम्भावना त्यहाँ देख्यौं ।

दोस्रो, हामीले ४०० अर्बको पेट्रोलियम खपत कहिलेसम्म गर्ने ? सारा संसार पेट्रोलियम पदार्थबाट बाहिर निस्किँदै गर्दा हामी पेट्रोलियममै बस्ने हो त ? त्यस्तै, पेट्रोलियम पदार्थ किन्ने पैसा नेपालबाट डलरमा जान्छ, जुन तपाई हाम्रा दाजुभाइ विदेशी मुलुकमा रगत पसिना बगाएर बाक्सामा लास बनेर आएर कमाएका हुन्। त्यसरी नेपाल भित्रिएको रेमिट्यान्स फेरि डलर बनेर पेट्रोल खरिद गर्न विदेशिएको छ । त्यसलाई मात्रै पनि रोक्न सकियो भने देशलाई ठूलो फाइदा हुन्छ । यो नेपालको लागि ठूलो सम्भावना हो ।  

ग्रीन हाइड्रोजन निर्यात गरेर नेपाल सम्वृद्ध हुन सक्छ ? 

हाइड्रोजन निर्यात गरेर नेपाल धनी हुन सक्छ की सक्दैन त्यो चुनौतीको विषय हो । यसमा हाम्रो सम्भावना छ, हामीले गर्न सक्छौँ र गर्नुपर्छ पनि । आजैबाट काम थाल्यो भने नेपाल आफैले निर्यात गर्न सक्छ । हामीले गरेनौं भने पनि अरू कोही आएर नेपालको हाइड्रोजन निर्यात गर्नेछ । 

अबको १० वर्षसम्ममा विश्वलाई ठूलो परिमाणमा ग्रीन हाइड्रोजन चाहिनेवाला छ ।यस सन्दर्भमा, हाइड्रोजन सस्तोमा कहाँ पाइन्छ ? भनेर धेरै खोजहरू भइरहेका छन् । सस्तो हाइड्रोजन पाइने मुलुकको सूचीमा नेपाल अग्रपङ्तिमा छ ।

भविष्यमा ठूलो परिमाणमा आवश्यक पर्ने हाइड्रोजन नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ भन्ने जानकारी सबैलाई भएको छ । त्यसकारण हाइड्रोजन उत्पादन गरेर नेपाल आफैले बेच्ने हो वा हाम्रो सट्टामा अरू कोही आएर बेचिदिने हो त्यो मात्रै विकल्प हो । नेपालको हाइड्रोजन भविष्यमा विश्व बजारमा बिक्री हुन्छ भन्ने कुरामा हामी पूर्ण रुपमा आशावादी छौँ। ‍

अरू आएर हाम्रो हाइड्रोजन निर्यात गर्दा र नेपाल आफैले निर्यात गर्दा कस्तो असर हुन सक्छ ? 

असर त पक्कै पनि पर्छ । कंगो हिरै हिराको देश थियो । कंगोबासीको त्यो हिरा आफै विश्वबजारमा बेच्न सकेको भए कंगो कहाँ हुन्थ्यो ? अरू आएर कंगोको हिरा बेचिदिए, त्यसकारण कंगो आज कहाँ छ । हिरा त बिक्री भयो । त्यसै गरेर हाम्रो हाइड्रोजन आफैले बेचेर सम्वृद्ध हुने की हाम्रो हाइड्रोजन अरूले बेचेर कंगो जस्तै बनेर बस्ने ? यो नमुना हाम्रो अगाडि छर्लङ्ग छ । 

ग्रीन हाइड्रोजनको उत्पादन कसरी हुन्छ ? 

मुख्यतया ग्रीन हाइड्रोजन उत्पादन गर्न बिजुली र पानी चाहिन्छ । तर सबैभन्दा पहिला ग्रीन हाइड्रोजन उत्पादन गर्ने स्टेशन हुन्छ, जसमा इलेक्ट्रोलाइजर हुन्छ । इलेक्ट्रोलाइजर भनेको इन्धन हो । त्यसमा पानी र बिजुली प्रवाह गरेपछि पानीबाट इलेक्ट्रोलाइजरभित्र बिजुलीले गर्दा हाइड्रोजनमा टुक्रिन्छ । हाइड्रोजन टुक्रिदाँ हाइड्रोजन र अक्सिजन पनि निक्लिन्छ ।

निस्किएको हाइड्रोजन आजको आजै खपत हुँदैन् । भण्डार गरेर राख्नुपर्छ । त्यसकारण ठूलो परिमाणको हाइड्रोजनलाई भण्डारण गरेर राखिन्छ । आफुलाई आवश्यक भएको स्थान, समय र परिमाणमा हाइड्रोजनको प्रयोग गर्न सकिन्छ । प्रयोगमा आउन नसकेको बिजुलीले हाइड्रोजन उत्पादन गरेर आवश्यक परेको समयमा, स्थानमा र परिमाणमा हाइड्रोजनलाई प्रयोग गर्न सकिन्छ ।

त्यो हाइड्रोजनबाट फेरि बिजुली (उर्जा) निकाल्न सकिन्छ । हाइड्रोजन भनेको एक किसिमको ठूलो परिमाणको बिजुलीको उच्चतम भण्डारण प्रक्रिया हो । खेर जाने बिजुलीलाई हाइड्रोजमा भण्डार गरेर राख्ने र चाहिएको बेला फेरि त्यो हाइड्रोजनलाई बिजुलीको रूपमा प्रयोग गर्न सकिन्छ ।

null

हाइड्रोजनबाट बिजुली निकाल्न सकिने एउटा पाटो भयो भने अर्को पाटो भनेको औद्योगिक प्रयोगमा जहाँ हामीले कोइला प्रयोग गरिरहेका छौं, त्यसको विकल्पमा हाइड्रोजनको प्रयोग गर्न सकिन्छ ।

तसर्थ, हाइड्रोजनलाई बिजुली उत्पादन गर्न, ताप उत्पादन गर्न, केमिकल प्रोसेसिङका लागि  प्रयोग गर्न सकिन्छ । खेर जाने बिजुलीबाट ठूलो भ्यालु चेनमा हाइड्रोजन छिर्न सक्छ । जीवाश्म इन्धनको विकल्पमा हाइड्रोजनको प्रयोग गर्न सकिन्छ । 

विश्व ग्रीन हाइड्रोजनको विकास र अध्ययन अनुसन्धानमा विकसित राष्ट्रहरू जुटिरहेका छन् । अहिलेको अवस्थामा ग्रीन हाइड्रोजनको बजार कस्तो छ र भविष्यमा कस्तो हुने प्रक्षेपण गरिएको छ ? 

अहिले हाइड्रोजन भनेको ‘फोर्स मार्केट’ हो । आज हाइड्रोजनलाई ‘राजनीतिक इन्धन’को रूपमा हेरिँदै छ ।
राष्ट्रहरुले के बुझ्दै छन् भने यदी यही क्रममा हामीले जीवाश्म इन्धनको प्रयोग गर्‍यौ भने कुनै दिन मानव सभ्यता नै संकटमा पर्न सक्छ ।

मानव सभ्यता संकटमा पर्न नदिनको लागि जीवाश्म इन्धनबाट बाहिर आउन हाइड्रोजन निर्विकल्प समाधानको रूपमा आएको छ । बजारले मागे पनि, नमागे पनि, सस्तो भएपनि, महंगो भएपनि हाइड्रोजनलाई बजारसम्म पुर्‍याउनु पर्छ ।

अहिले हाइड्रोजन महंगो छ । कहाँ कोइला ? कहाँ हाइड्रोजन ? मनसुली चामल र बासमती चामल भने जस्तै हो । चामल त चामल नै हो ।  त्यसकारण अहिले कोइला, डिजेल, ग्यासले चल्दै गरेको अर्थतन्त्रलाई हाइड्रोजनले चलाउनका लागि राज्यको ठूलो प्रणाली लाग्नु पर्ने हुन्छ, जसले गर्दा कर नीति, सब्सिडी, ऋण सबै कुरामा सरकारले नीति कार्यक्रम विस्तार गरी हाइड्रोजनको बजारलाई विकास गर्नुपर्ने देखिन्छ ।

आज जीवाश्म इन्धनलाई ग्रीन हाइड्रोजनले प्रतिस्थापन गर्न बजारको अर्थतन्त्रले फिजिबल बनाएको छैन । किनभने बजार नै सानो छ । तर राजनीतिक रूपमा त्यो मार्केटलाई बढाउँदै लग्नुपर्छ । १० वर्षमा जीवाश्म इन्धनमा धेरै कर लाग्नेवाला छ ।

१ टन कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ भने १०० डलर बराबरको क्लाइमेट पेनाल्टी कर लगाइँदै छ । जसले गर्दा जीवाश्म इन्धन आफै महंगो हुनेछ । करबाट उठेको रकम हाइड्रोजनमा सब्सिडी दिएर हाइड्रोजनको लागत घटाइने छ । त्यसकारण यसलाई डिमाण्ड एण्ड सप्लाईले मात्र ड्राइभ गरेको होइन ।

वातावरण सन्तुलनमा राख्न र मानव सभ्यता जोगाइ राख्न हाइड्रोजनलाई ‘पोलिटिकल्ली इन्जेक्ट’ गरिएको छ । अहिलेको बजार सानो र महंगो छ । तर विस्तारै क्रमिक रूपमा यो बजार स्थिर हुँदै आउने छ र ठूलो बजार बन्नेवाला छ । सबैभन्दा ठूलो बजार हेभिवेट ट्रान्सपोर्टेसनमा हुन्छ भन्ने प्रक्षेपण छ ।

ठूलाठूला २०-५० टन भारी बोकेर लामो दूरीको यात्रा गर्ने बस-ट्रकहरुहरूलाई ब्याट्रीले कहिले पनि प्रतिस्थापन गर्न सक्दैन् । सांघाइबाट सामान बोकेर अफ्रिका जाने पानी जहाज हाइड्रोजनले चलाउन सकिन्छ । आकाशमा उड्ने हवाइजहाजहरू जुन अहिले पनि जीवाश्म इन्धनले चल्छन्, तीनलाई हाइड्रोजनबाट चलाउन सकिन्छ । भविष्यमा ठूलो बजार बन्ने सम्भावना छ । 

ग्रीन हाइड्रोजन कत्तिको महंगो छ ? 

हामीले सरदर हेर्ने हो भने १ किलोग्राम हाइड्रोजनलाई विश्वबजारमा ५ डलर पर्छ, जुन चाँहि आगामी २ वर्षमा ३ डलरमा झर्न सक्छ र २०३० सम्म आईपुग्दा १ डलर प्रतिकिलोग्राममा झार्न सकिन्छ भन्ने हिसाबमा भारत लगायत अन्य विभिन्न देशहरूले काम गरिरहेका छन् । कसरी झार्ने ? त्यो सरकारको नीतिले ड्राइभ गर्छ । 

१ किलोग्राम हाइड्रोजनबाट डेढसयदेखि २ सयकिलोमिटरको दूरीसम्म कार चलाउन सकिन्छ । अहिलेको मूल्य अनुसार त्यो भनेको ५ सय देखि ७ सय रूपैयाँ हो । ईभीभन्दा महंगो भएपनि पेट्रोलसँग तुलना गर्न सकिने अवस्थामा अहिले हाइड्रोजन आइसकेको छ । अब पेट्रोलको मूल्य बढ्दै जान्छ । हाइड्रोजनको मूल्य घट्दै जान्छ ।

अहिले धेरै उद्योगहरू कोइलाबाट चलिरहेका छन् । कोइलाको तुलनामा हाइड्रोजन अलिकति महंगो छ । तर कोइलामा पनि कर लगाइँदै छ । यसो गर्दा हाइड्रोजनको डिमाण्ड बढ्दै जान्छ । हाइड्रोजनको प्रविधिहरू पनि सस्तो हुँदै आउँछ । विश्वविद्यालयमा धेरै अनुसन्धान हुने विषयमा हाइड्रोजन बनेको छ । यसरी, हाइड्रोजनको मूल्य घटाउन र सिस्टमहरूलाई अप्टिमाइज गर्न धेरै पैसा खन्याइँदै छ ।

null

प्रतिग्राम १ डलर पर्ने बेलासम्म हाइड्रोजनको बजार ठूलो हुन्छ । त्यतिबेला त्यो प्रविधि कसै न कसैले नेपालमा भित्र्याउछन् । नेपालमा विद्युत उत्पादन पनि बढ्दै छ । उत्पादन भएको सबै विद्युत हामीलाई नचाहिएको भएपनि त्यो बिजुलीबाट निकालिएको हाइड्रोजन सारा विश्वलाई चाहिएको छ । त्यस्तो बिजुलीबाट हाइड्रोजन निकालेर संसारको सस्तो मध्येको हाइड्रोजन विश्वमा निर्यात गर्न सक्छौं । 

अन्य देशहरूले हाइड्रोजनको उत्पादन र अनुसन्धानमा कसरी काम गरिरहेका छन् ? 

हाइड्रोजनको क्षेत्रमा अन्य देशले गरिरहेको काम लोभलाग्दो छ । म तपाईलाई केही देशहरुको उदाहरण दिन्छु । एउटा खाडी मुलक । सारा संसारलाई तेल बेचेर साउदी अरब भएको छ, दुबै भएको छ । उनीहरूको तेल १० वर्षपछि ओरालो लाग्नेवाला छ । बिक्नेवाला हाइड्रोजन छ । साउदीले सन् २०२१ बाटै मरूभूमिमा ४ हजार मेगावाटको सोलार प्यानल जडान गरेर हाइड्रोजन निकालेर एमोनिया बनाएर जापानलाई बेच्ने परियोजना सुरू गरिसकेको छ ।

युएईले २५ हजार मेगावाट, ओमानले ३० हजार मेगावाट नयाँ सोलार प्लान्ट हाइड्रोजन उत्पादन गर्नका लागि लगाउँदै छन् । बिजुलीले समुद्रको पानी छानेर हाइड्रोजन निकालेर विश्व बजारमा लैजाने भनेर ठूला लगानी सुरू भएका छन् । सोलार हेर्ने हो भने राती चल्दैन् । बादल लाग्यो भने पनि चल्दैन् । त्यही पनि लगाइरहेको छन् ।

समुद्रको पानीमा नुन छ । जसबाट सोझै हाइड्रोजन निकाल्न अहिलेको प्रविधिले दिदैन् । यस भन्नुको मतलब समुद्रको पानीबाट सुरूमा नुन छान्नुपर्छ । नुन छान्नलाई नै सोलारबाट निकालिएको १०-१५ प्रतिशत बिजुली खर्च हुन्छ । अनि बल्ल त्यो पानीबाट हाइड्रोजन निस्किन्छ ।

तर नेपालमा २४ सै घण्टा १२ महिना बग्ने हिमालको शुद्ध पानी छ । २४ सैं घन्टा चल्ने हाइड्रोपावरहरू छन् । उनीहरूले त्यो लगानी नेपालमा गर्न पाएको भए त्यसको आधा रकममा नेपालमा हाइड्रोपावर उत्पादन हुन्थ्यो । १२ घण्टाको साटो २४ घण्टा बिजुली, समुद्रको पानीको साटो शुद्ध पानी । 

भारतको कुरा हेरौं । भारतले अहिले वर्षको सरदर १६० अर्ब डलर बराबरको पेट्रोलियम इन्धन किन्छ । त्यो भनेको नेपालको ५०-६० वर्षको बजेट हो । भारतले तेल मात्रै आयात गर्छ । त्यो तेल आयातलाई शून्यमा झार्ने लक्ष्य प्रधानमन्त्रीको छ । सन् २०४७ सम्म भारतलाई पेट्रोलियम आयातमा शुन्य बनाउने र हाइड्रोजनले विस्थापन गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य छ । 

भारतमा ८० प्रतिशत बिजुली जीवाश्म इन्धनबाट आइरहेको छ । भर्खरै मात्र ४ लाख ५० हजार मेट्रिक हाइड्रोजन प्रतिवर्ष उत्पादन गर्न टेन्डर आह्वान भएको छ । यस्तो टेन्डर अघिल्लो महिना पनि आह्वान भएको थियो । त्यसका लागि २० हजार करोड, २५ हजार करोड सब्सिडी प्याकेज छ ।

आयात भइरहेको पेट्रोलियमलाई हाइड्रोजनले विस्थापन गर्ने ठूलो परियोजना हो । टाटा मोटर्सले आज हाइड्रोजन ट्रकको व्यवसायीक उत्पादन सुरू गरिसकेको छ । चीनले अझै ठूलो परियोजनाहरू सञ्चालन गर्दैछ । सारा विश्व हाइड्रोजनमा तयार हुँदैछ हामी पनि चुप लागेर बस्नु हुँदैन । सरकारले गर्दै गर्ला कम्सेकम विश्वविद्यालयले पनि सुरू गरौं न र गर्नुपर्छ भनेर हामीले थालेका हौं । 

नेपालले केही समय अगाडि ग्रीन हाइड्रोजन नीति ल्याएको थियो । तपाई आफै पनि विज्ञ सदस्यको रूपमा काम गर्नुभएको थियो । तपाईको विचारमा कस्तो आयो नीति ? 

ग्रीन हाइड्रोजन नीतिमा काम गर्ने एउटा सौभाग्य प्राप्त भएको थियो । प्राय विश्वविद्यालयलाई यस्तो अवसर प्राप्त हुँदैन् । मस्यौदा समितिमा विज्ञ सदस्यको रूपमा काम गरेको थिएँ । त्यो भन्दा अघि सरकारले बनाएको २ वटा कार्यदलमा पनि काम गरेको थिएँ । कार्यदलले गरेको काम राष्ट्रिय नीतिमा आएको छ ।

ग्रीन हाइड्रोजन नीति किन चाहियो भनेर सरकारले पनि यति चाँडै महशुस गरेको थिएन । हामीले सरकारलाई घचघच्याइरह्यौं । विश्वविद्यालयको कक्षाकोठामा भन्दा सरकारी संयन्त्रसँग धेरै बस्यौं । हामीलाई आरोप पनि लाग्छ, विश्वविद्यालयको प्राध्यापक भएर विद्यार्थीलाई पढाउने की सरकारलाई पढाउने ? हाम्रो पढाउने काम हो । हाइड्रोजनका लागि सरकार नै विद्यार्थी भयो । त्यो नीति दूर प्रक्षेपण गरेर लेखिएको छ ।

केयुले भित्र्याएको हाइड्रोजन कार

हाइड्रोजनलाई नेपालमा संस्थागत विकास गर्नका लागि र अन्य मुलुकहरूले गरेका प्रयासहरूलाई पनि संकलन गरेर कसरी नेपालमा हाइड्रोजन संस्थागत हुन सक्छ ? कर नीति कस्तो चाहिन्छ ? नियामक संरचना कस्तो चाहिन्छ ? निजी क्षेत्रलाई कसरी ल्याउने ? विदेशी लगानी कसरी ल्याउने ? यी सबै कुरा समेटिएको छ ।

नीति भनेको एउटा सोच्ने प्रक्रिया हो । सोच्ने र काम गर्ने प्रक्रिया फरक हुँदो रहेछ । हामीलाई त नीति आयो अब काम हुन्छ लागेको थियो । तर नीति अनुसार ऐन, कानुनहरू बन्नुपर्ने रहेछ । अब नीति अनुसार कानुन बनाउनु पर्छ । 

नीतिले हाइड्रोजनका लागि राम्रो मार्गनिर्देशन दिएको छ । नीतिका ३ वटा कुराहरू मलाई असाध्यै राम्रो लागेको छ । त्यसका लागि हामीले प्रेसर पनि गर्नु परेको थियो । त्यहाँ भित्रको कथा, घोचपेच फरक छ । विज्ञ सदस्य भएका कारण नीति बनाउन हाम्रो हात अलिकति माथि पर्‍यो । यति त राख्नै पर्छ भनेर हामीले अडान लियौं । 

नेपालमा हाइड्रोजन उत्पादन गर्न घरैपिच्छे ग्यासको सिलिण्डर राखेजस्तै हाइड्रोपावर पिच्छे इलेक्ट्रोलाइजर राखेर उत्पादन गर्नुपर्‍यो भने त्यो महंगो हुन्छ । त्यस्तो सकिँदैन् । त्यसकारण नेपालमा हाइड्रोजन उत्पादन गर्नका लागि २ वटा वा २ भन्दा बढी बिजुली उत्पादन गृहबाट निस्किएको बिजुलीलाई एक ठाउँमा निकाल्ने खालको प्रोजेक्ट लिएर आउँछ भने विद्युत प्राधिकरणको प्रसारणलाइन प्रयोग गरेर परसेप्सन गर्न दिइने छ भन्ने नीतिमा राखिएको छ । यो सबैभन्दा ठूलो कुरा हो । तीनवटा हाइड्रोपावर मिलेर चौथो ठाउँमा हाइड्रोजन उत्पादन गर्न सक्छन् । 

दोस्रो, हाइड्रोपावर बनाएर म हाइड्रोजन उत्पादन गर्छु र त्यो हाइड्रोजनलाई जीवाश्म इन्धनको विकल्पको रूपमा प्रयोग गर्छु भन्यो भने त्यो हाइड्रोपावरले पीपीए गर्नुपर्दैन् । सोझै बेच्न सकिन्छ । त्यसको दरभाउ पनि आपसी सहमितिमै तय गर्न सकिने छ । त्यो ठूलो चीज हो । हुन्छ, हुँदैन् फरक होला तर नीतिले भनेको छ ।

तेस्रो, हाइड्रोजन उत्पादन र प्रयोगका लागि सरकारी व्यवस्था भएबमोजिम न्युनतम कर नीति लगाइने भनिएको छ । मल कारखाना, एमोनिया कारखाना खोल्नका लागि पनि विशेष सहुलियत दिइने उल्लेख गरिएको छ । कुनै उद्योगमा डिजेल र कोइला प्रयोग भइरहेको छ भने त्यसमा हाइड्रोजन वा हाइड्रोजनजन्य इन्धनको प्रयोग गर्छु भन्यो भने राज्यले उसलाई हेर्न नजर फरक हुनेछ । त्यसलाई ग्रीन उद्योगको रूपमा हेरिने समेत नीतिमा उल्लेख गरिएको छ ।

नीति आएपछि एक किसिमको फ्रेमवर्क बनेको छ । ग्रीन हाइड्रोजनको विकासका लागि अब के के गर्नुपर्छ ?

नीतिसँगसँगै महत्त्वपूर्ण विषय त्यससँग सम्बन्धित कानुनहरू रहेछ । नीतिले यातायातका संशाधनमा हाइड्रोजनलाई ठूलो स्थान दिएको छ । तर हाइड्रोजनबाट चल्ने यातायातलाई नम्बर प्लेट कसरी दिने ? त्यसको कार्यविधि छैन् । ऐन र कार्यविधि नभएसम्म नीतिले केही पनि गर्न सक्दैन् ।

अर्को कुरा व्यवसायिक उत्पादनका लागि कसैले रिफ्युिलिङ स्टेशन राख्न चाह्यो भने कुन फाराम भर्ने ? कुन निकायबाट स्वीकृति लिने ? मापदण्ड के हो ? त्यसको पनि कानुन छैन् । त्यसकारण राज्यले नीति अनुसारको ऐन, कानुन, नियम, कार्यविधि ल्याउनु पर्छ ।

हाइड्रोजनसँग उद्योग, उर्जा, वातावरण लगायतका क्षेत्र जोडिएका छन् । त्यसैले हाइड्रोजनलाई नियमन र सहजीकरण गर्न हाइड्रोजन विकास बोर्ड, हाइड्रोजन विकास आयोग जस्तो एउटा बलियो संस्थागत संरचना बनाउन सकिन्छ । होइन भने सबै कुरा गफमा मात्रै सिमित रहनेछ । 

विश्वविद्यालयले यसमा ठूलो व्यवसाय देखेको छ । त्यसकारण निजी क्षेत्रले हाइड्रोजनको व्यवसायिक उत्पादनमा हात हाल्नु पर्छ । पेट्रोल, डिजेल, ग्यास, गाडी लगायतको कारोबार गरिरहनु भएका व्यवसायीले भविष्यमा हाइड्रोजन नयाँ व्यवसाय हुन सक्छ भनेर महसुस गर्नु भयो, लगानीको सम्भावना र उच्चतम प्रतिफल देख्नुभयो भने यो अगाडि बढ्छ । विश्वविद्यालयले मात्रै ठूलो व्यवसायको सम्भावना देखेर भएन । व्यवसायीले पनि प्रयासहरू गरिरहनु भएको छ । तर बीचमा कतै तालमेल मिलिरहेको छैन् । तालमेल मिलाउने संयन्त्र हामीसँग छैन । 

हाइड्रोजनको व्यवसायिक उत्पादनका लागि राज्यले कसरी प्रेरित गर्न सक्छ ? 

अहिलेका लागि धेरै ठूलो काम गर्नुपर्दैन् । भारतको प्याकेजहरू हेर्नु भयो भने त र्‍याल चुहिन्छ । व्यवसायलाई अगाडि बढाउन सरकार कसरी संवेदनशील भएर लागेको छ भन्ने देखिन्छ । कहिलेकाँही ईस्या पनि लाग्छ । हामीसँग पनि सम्भावना छ । हाम्रो देशले किन यस्तो गर्न सक्दैन् ? उहाँहरूको भन्दा बढी सम्भावना हाम्रोमा रहेको छ ।

अहिलेलाई सुरुवात सामान्य कामबाट गरौं । हाइड्रोजनबाट चल्ने सवारीसाधनलाई नम्बर प्लेट दिने व्यवस्था गर्नुपर्‍यो । बिजुलीको जस्तो वर्षौं लगाउनु भएन । हाइड्रोजनबाट चल्ने गाडी भनेको पनि बिजुलीबाट चल्ने गाडी जस्तै हो । त्यहाँ पनि मोटर नै हुन्छ । अहिलेलाई हाइड्रोजन सवारीसाधनलाई पनि विद्युत सवारीसाधन सरह नै कानुन लागु हुनेछ भनेर एक लाइन राख्न सकिन्छ । यसले गर्दा अहिले विद्युतीय गाडी भित्र्याउने व्यवसायीले हाइड्रोजन गाडी पनि भित्र्याउन थाल्छन् । 

अर्को कुरा हाइड्रोजनबाट मल कारखाना सञ्चालन गर्न सब्सिडी दिन सकिन्छ । उद्योगहरूमा जीवाश्म इन्धनको साटो ग्रीन हाइड्रोजन प्रयोग गर्न पनि सब्सिडीको व्यवस्था गर्न सकिन्छ । हाइड्रोजन सवारीसाधनलाई पनि विद्युत सवारीसाधन सरह नै कानुन लागु हुनेछ भनेर एक लाइन लेख्दा त्यसले लगानी र बजार दुबैलाई बढाउँछ । 

तपाईहरूले नेपाल हाइड्रोजन हब बन्न सक्छ भनेर एउटा अवधारणा अगाडि सार्नुभएको छ । त्यसको बारेमा बताइदिनुन ।

हाड्रोजन हब भनेको धेरैवटा जलविद्युत, सोलार र विन्ड उर्जाको विद्युत गृहको उर्जा ल्याएर एकै ठाउँबाट हाइड्रोजन निकाल्नु हो । यसमा हाइड्रोजनको उत्पादन, भण्डारण, प्रसारण र प्रयोग गर्ने ठाउँ एउटा हुन्छ । त्यसले नवीकरणीय उर्जा उत्पादन भइरहेको ठाउँमा उर्जा खेर जान थाल्यो भने हाइड्रोजनमा रूपान्तरण गर्न सकियो र सबैको एउटा हाइड्रोजन गृह हुन्छ ।

नेपालमा हाइड्रोजन हब बन्न सक्ने ठाउँ

यो कोल्ड स्टोर जस्तो हो । धेरैवटा नवीकरणीय उर्जाको गृहबाट एकठाउँमा हाइड्रोजन निकालिन्छ र भण्डार गरिन्छ । आवश्यक पर्‍यो भने त्यसबाट बिजुली निकालेर फेरि ग्रिडमा हालिन्छ जसले ग्रिडलाई स्टेबिलाइज गर्छँ । 

जुनबेला धेरै बिजुली चाहिन्छ त्यो बेला हाइड्रोजनबाट बिजुली निकाल्ने र जुन बेला बिलुजी खेर गरेइरहेको हुन्छ, त्यो बेला हाइड्रोजनको रूपमा भण्डारण गर्ने । यसरी बनेको हाइड्रोजनबाट पहिला जीवाश्म इन्धनको प्रयोग हुने सिमेन्ट कारखाना, मल कारखाना लगायत अन्य उद्योगहरू हाइड्रोजन इन्धनबाट चल्न सक्छन् । 

हाइड्रोजन हबको कम्पोनेन्ट हेर्ने हो भने एउटा नवीकरणीय उर्जाको स्रोत (हाडड्रो, सोलार, विन्ड लगायत) हुन्छ । त्यसपछि हाइड्रोजन उत्पादन गृह हुन्छ । जहाँ हाइड्रोजनको उत्पादन, भण्डारण र प्रसारण केन्द्र हुन्छ । त्यसपछि हाइड्रोजनको प्रयोग गर्ने उद्योगहरू हुन्छन् । यति गरेपछि पनि बाँकी रहेको हाइड्रोजनलाई हामी विश्वबजारमा निर्यात गर्न सक्छौं । 

नेपालमा हाइड्रोजन हबहरू बन्ने धेरै सम्भावना छन् । कोशी करिडोरमा ५ हजार मेगावाटका हाइड्रोपावरहरू पाइपलाइनमा छन् । २२००-२५०० मेगावाटका हाइड्रोपवार अरूणमा बन्दै छन्, जहाँ बर्खामा ३ हजार मेगावाट र हिउँदमा १५०० मेगावाट बिद्युत निस्किन सक्छ । अरूणमा बर्खा र हिउँद १५ सय मेगावाटको भेरियसन छ । यो भेरियसनलाई ब्यालेन्स गर्न एउटा हाइड्रोजन हब बन्न सक्छ । त्यसको वरिपरि उद्योगहरू चलाउन सकिन्छ । 

हाइड्रोजन हब परिकल्पना हो । १५२ अर्ब युरोको ७० वटा हाइड्रोजन हब यूरोपमा बन्दै छन् । युरोपमा पनि कतै सोलार छ, कतै विन्ड छ, कतै हाइड्रो छ । विकसित मुलुकहरूमा हाइड्रोजनको बजारलाई ड्राइभ गर्नका लागि सस्तो बनाउन १०० देखि २०० किलोमिटरको परिधिभित्र जति पनि नवीकरणीय उर्जा उत्पादकहरूको संलकन विन्दु एउटा हुने गरी काम अगाडि बढेको छ । 

अमेरिकामा पनि प्रत्येक राज्यमा एक एक वटा हाइड्रोजन हब बनाउने भनेर महत्त्वकांक्षी परियोजना आएका छन् । त्यो सन्दर्भमा नेपालमा पनि हाइड्रोजन हबहरू बन्नु पर्छ । ५०-६० वटा हाइड्रोपावरको बीचमा एउटा हाइड्रोजन हब बनाउन सकियो भने सबै हाइड्रोपावारलाई त्यो हाइड्रोजन हबमा जोड्न सकिन्छ । खेर जाने बिजुलीबाट हाइड्रोजन बनाएर स्वदेशमै उपयोग वा निर्यात गर्न सकिन्छ । अब यता तिर ध्यानाकर्षण हुनुपर्छ । 

यस्तो हब नेपालको कुन कुन ठाउँमा बन्न सक्छ ? 

हाम्रो अहिले नेपालमा ४ वटा हाइड्रोजन हबको परिकल्पना गरेका छौं । कोशी करिडोरमा ४०-५० वटा हाइड्रोपावर बन्दै छन् । इनरूवाको छेउछाउ, कोशी ब्यारेजको छेउछाउ हाइड्रोजन हब बनाइयो भने भारत र बंगलादेशलाई निर्यात गर्न सकिन्छ । 

चीनतर्फ पनि हाइड्रोपावार प्लान्ट छन् । त्यहाँबाट पनि भविष्यमा चीनमा हाइड्रोजन निर्यात गर्न सक्छौं । नेपालको मध्यभागतिर २ वटा हाइड्रोजन हब बनाउन सकिन्छ । जहाँबाट हाइड्रोजन र एमोनिया निर्यात गर्न सकिन्छ । एमोनियाको बजारका लागि चीन पहिलो र भारत दोस्रो ठूलो बजार हो । 

अहिले ८०० मेगावाटको सोलार परियोजना कुरा हुँदैछ । भविष्यमा हावाबाट पनि विद्युत निकाल्न सकिएला । नेपालको हाइड्रोजन हबमा भविष्यमा भुटान, भारतको विद्युत नेपालसम्म आउँला । सार्कको एउटै ग्रीड बनाउने भनेर कुरा चल्दैछ । 

यसरी हाइड्रोजन निकालियो भने संसारकै सस्तो हाइड्रोजन उत्पादन गर्न सक्छौं । नेपालमै पनि उद्योहरूमा खपत गर्न सक्छौं । नेपालमा सस्तोमा हाइड्रोजन पाइन्छ, उद्योग स्थापना गरौं भनेर विदेशी लगानी पनि भित्रिन सक्छ । नेपाल हाइड्रोजन हबलाई गत वैशाखमा भएको लगानी सम्मेलनमा पनि प्रस्तुत गर्ने अवसर पाएका थियौं । 

वैशाखमा भएको लगानी सम्मेलनमा हाइड्रोजन हबको परियोजना प्रस्तुत गर्नुभएको थियो । प्रतिक्रिया कस्तो आयो ? कुन कुन देशका लगानीकर्ताले चासो देखाएका थिए । 

नेपाल हाइड्रोजन हब परियोजनालाई हामीले लगानी सम्मेलनको खुला प्याभिलियनमा प्रस्तुत गरेका थियौं । त्यहाँ धेरै देशका प्रतिनिधिहरू आउनु भएको थियो ।

भारत, चीन, अरब मुलुक, बेलायत, यूरोप लगायतका देशबाट प्रतिनिधित्व भएको थियो । नेपाली लगानीकर्ताका लागि अलि यो महत्त्वकांक्षी होला तर उहाँहरूको लागि चाँहि यो हुँदै गरेको चीज हो ।

भारतमा पनि ४-५ वटा हाइड्रोजन हबहरू सुरू भइसकेका छन् । यूरोपमा ७० वटा हाइड्रोजन हबहरू सुरू भएका छन् । युरोप, अरबमा हाइड्रोजन हबमा लगानी गरिरहेको लगानीकर्ताले नेपालमा लगानी गर्न पाए भने यो हाइड्रोजन हबबाट उत्पादन भएको हाइड्रोजनको लागत न्युन हुन्छ । अहिले पनि नेपालको आन्तरिक बजार ठूलो छ ।

हामीले ११२ अर्ब स्टिल आन्तरिक रूपमा खपत गर्छौं । ५५ वटा सिमेन्ट उद्योगको सिमेन्ट खपत गर्छौं । युरिया कारखाना खोलेका नै छैनौं । सबै उद्योगमा अहिले पनि कोइला, डिजेल र ग्यासको प्रयोग हुन्छ । आन्तरिक बजार पनि ठूलो छ । भारत र चीन पनि नजिक छन् ।

हाइड्रोपावर पनि कोही भारत नजिक छन्, कोही चीन नजिक छन् । भोलि निर्यात गर्न समेत सजिलो छ । यो भन्दा राम्रो लगानी गर्ने ठाउँ कहाँ होला ? भन्ने विदेशी लगानीकर्तालाई छ । लगानी गर्ने ठाउँ भएर मात्र भएन लगानी गर्ने वातावरण बनाउनु छ, त्यो चुनौतीपूर्ण छ । 

विश्वविद्यालयले केही समय अगाडि हाइड्रोजन कार र रिफ्युिलिङ स्टेशन नेपालमा ल्याएको थियो । त्यसको पछिल्लो अवस्था कस्तो छ ? 

हामी परीक्षणको चरणमा छौं । प्रधानमन्त्री ज्यूबाट हाइड्रोजन गाडीको उद्घाटन गराउने योजना छ । त्यसैले उहाँको सम्मान स्वरूप नै हामीले अहिलेसम्म हाइड्रोजन कार सडकमा गुडाएका छैनौं । विश्वविद्यालयको परिधिभित्र परीक्षण गरिरहेका छौं ।

अहिले पनि हामीसँग भएको रिफ्युलिङ स्टेशनमा क्रमिक रूपमा हाइड्रोजन उत्पादन गरिरहेका हुन्छौं । गाडीमा भर्छौं र टेष्ट ड्राइभ गर्छौं । हाइड्रोजन उत्पादन गर्दा केही चुनौती आए भने त्यसलाई कसरी समाधान गर्ने त्यो अध्ययन गर्छौँ । कोही पर्यवेक्षकहरू, लगानीकर्ताहरू हेर्न आउनु भयो भने देखाउँछौं ।

हाइड्रोजन रिफिलिङ स्टेशन

काठमाडौं आएको बेलामा पशुपति नबिराउ भने जस्तै धुलिखेल आएको बेलामा केयुमा भएको हाइड्रोजन कार र रिफ्युलिङ स्टेशन हेरौं भन्ने भएको छ । पदमा बस्नुभएका सम्मानीय ज्यूहरू पनि हेर्न आउनु हुन्छ । हामीलाई खुसी लाग्छ । अहिले त्यतिमै सीमीत छ । हामीले त्यसका लागि मात्रै ल्याएको होइन ।

यो देखेर नेपालका सडकमा हाइड्रोजन गाडीहरू गुडुन, पेट्रोल पम्प जस्तै हाइड्रोजन रिफ्युलिङ स्टेशन बनुन भन्ने उद्देश्य हो । धुलिखेलको करिडोरबाट प्रत्येक रात ३-४ हजार ट्रक गिट्टी, बालुवा, रोडा बोकेर जान्छन् । त्यसमा कति डिजेल खर्च हुन्छ होला । ती ट्रकहरू गाइड्रोजनले गुडुन् भन्ने सपना यसले देखाउन सक्छ भन्ने हो । 

सम्माननीय प्रधानमन्त्री ज्यूले यसलाई संस्थागत गरेर चढिदिनु भएपछि सायद यसमा अझै धेरैको चासो बढ्छ होला । 

निवर्तमान प्रधानमन्त्रीज्यूले सार्वजनिक कार्यक्रममै हाइड्रोजन गाडी चढ्ने तयारीमा छु भनेर भन्नु भएको थियो । उहाँहरूबाट कुनै प्रस्ताव आएन ? 

निवर्तमान प्रधानमन्त्रीज्यूको पनि यसमा चासो छ । हामी आफैले सम्पर्क गरेका थियौं । पछिल्लो चरणमा काठमाडौं विश्वविद्यालयमा गएर हाइड्रोजन गाडी चढ्छु भनेको सुनेका थियौं । तर अब नेपालको राजनीतिक उतारचढावले गर्दा केही समस्या भयो ।

हाइड्रोजन गाडी चढ्ने कुरा व्यक्ति विशषले भन्दा पनि प्रधानमन्त्रीको पदले बोलेका हुन् । अर्को प्रधानमन्त्रीज्यूले पनि यसलाई अगाडि बढाउनु हुन्छ होला भन्ने आशा छ । जो व्यक्ति प्रधानमन्त्री हुनु भएपनि प्रधानमन्त्री पदले हाइड्रोजन गाडी चढ्नु ठूलो सन्देश हुनेछ । नयाँ प्रधानमन्त्रीज्यू समक्ष पनि हामी हाइड्रोजन गाडी चढ्ने प्रस्ताव राख्ने नै छौँ । 

अन्त्यमा भन्नुपर्ने केही छ ? 

नेपालको ऊर्जा परिवर्तन र आर्थिक समृद्धिलाई टेवा पुर्‍याउने क्षमता हाइड्रोजनमा रहेको छ । यसको सम्भाव्यतालाई पहिचान गरी विश्वविद्यालयले यस विषयको उठान गरेको हो । तापनि हालसम्म नेपालमा यस क्षेत्रको लागि भनेर ठूलो लगानीको प्रतिबद्धता देखिएको छैन । क्रमिक रूपमा आउँछ भने आशा राखेका छौँ ।

हाइड्रोजन सानो विरूवा जस्तै हो, यसलाई हुर्काउन राज्यबाट प्रोत्साहन र संरक्षण आवश्यक हुन्छ। पिपलको विरूवा कुनै पशुले चपाइदियो भने मर्छ,  धेरै पानी पर्‍यो भने पनि मर्छ र पानी पाएन भने पनि मर्छ । हाइड्रोजन पनि त्यस्तै अवस्थामा छ ।

यो सानो भ्रुण हो । यसलाई प्रोत्साहित गर्दै  विकास गर्यौं भने जसरी एउटा पिपलको रूखले हजारौं वर्षसम्म छहारी दिएर, अक्सिजन दिएर समाजलाई संरक्षण दिन्छ, हाइड्रोजनले पनि नेपालको अर्थतन्त्रमा, उर्जा प्रणालीमा ठूलो योगदान दिन सक्छ । तसर्थ, सबै मिलेर यसको संरक्षण गर्नु जरुरी छ ।

हाइड्रोजनलाई अहिले हामीले विश्वविद्यालयमा ल्याएर राखेका छौं, यो संरक्षणका लागि हो । तर सधैंभरि विश्वविद्यालयको संरक्षणमा बसेर हुँदैन । यहाँबाट बाहिर जानुपर्छ ।

जुन दिन हाइड्रोजन काठमाडौं विश्वविद्यालयबाट व्यवसायीक रूपमा अब हामी गर्छौं भनेर व्यवसायीले विश्वविद्यालयलाई धन्यवाद दिदैँ बाहिर लिएर जान्छ, त्यस दिन एउटा चेली बिदा गरी बाउ खुसी भए जस्तो विश्वविद्यालयलाई पनि खुसी मिल्ने छ । गर्वको अनुभूति हुनेछ । त्यो दिनको प्रतिक्षामा हामी बसिरहेका छौं ।