कीवर्डहरू -

२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक

२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक

पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । हरेक सेवा तथा प्रडक्टमा एआई इन्टिग्रेट हुन थालेको छ । तर आजभन्दा १० वर्ष अगाडि एआईको लोकप्रियता यति धेरै होला भनेर सायदै कसैले अनुमान गरेको थियो होला ! 

३ दशक अघि बेलायतबाट एआईमै विद्यावारिधि (पीएचडी) गरेका प्रा.डा. सुरेश मानन्धरलाई पनि यति छिट्टै एआई लोकप्रिय होला भन्ने लागेकै थिएन् । ‘एआई यति छिट्टै आउला भन्ने लागेको थिएन । अझै ५-१० वर्ष लाग्ला जस्तो लागेको थियो । तर च्याटजीपीटी आएपछि मात्रै एआईले चर्चा पाउन थालेको हो,’ मानन्धर भन्छन्, ‘१५ वर्ष अगाडि त एआई पढेको मानिसले जब पाउन पनि गार्‍हो हुन्थ्यो ।’

४ दशक अगाडि सुरेशले एआई पढ्छु भन्दा ‘के पढेको त्यस्तो भनेर’ भन्नेहरू धेरै थिए । तर अहिले ती व्यक्तिहरूले कुनै न कुनै रूपमा एआईको प्रयोग गरिरहेकै छन् । 

एआई वैज्ञानिक 

काठमाडौंमा जन्मिएका सुरेश मानन्धरलाई विद्यालयको पढाइमा खासै ध्यान थिएन । तर एक्सपेरिमेन्टमा र सेल्फ लर्निङमा भने उनको बढी रूची थियो । त्यसैकारण विद्यालयको किताबले भन्दा लाइब्रेरीको किताब र ‘एक्सपेरिमेन्ट’ गर्ने सामानहरूले कोठा भरिभराउ हुन्थ्यो । 

null

बच्चाबेला आफु बस्ने घरको कोठा ल्याब जस्तै भएको सुरेश बताउँछन् । ‘खिचापोखरीमा अमेरिकन लाइब्रेरी थियो । लाइब्रेरीमा पढ्न जाँदा इलेक्ट्रोनिक्सप्रति रूची बढ्यो,’ उनले बच्चाबेलाको रोचक कहानी सुनाउँदै भने, ‘कोठामै मोडेल एरोप्लेन, मोटर, तारहरू ल्याएर बनाउने, बिगार्ने काम गर्थे । ट्रायल एण्ड एरर गर्न एकदम मन पर्थ्यो । त्यो बेला मेरो कोठा ल्याब जस्तै थियो ।’ 

त्यतिबेला मानन्धरको रूची एरोप्लेनमा बढी थियो । उनले मोडेल एरोप्लेनहरू धेरै बनाए, जुन बेला मोडेल एरोप्लेन बनाउने किटहरू धेरै पाउँदैन्थ्यो । सबैले आफैले बनाउनु पर्थ्यो । 

पढाइमा भन्दा प्रविधिमा रूची भएका सुरेशका आमाबुबालाई छोरो ‘एसएलसी’ पास हुन्छ भन्ने लागेकै थिएन । तर उनी सेकेण्ड डिभिजनको साथ एसएलसी उत्तीर्ण भए । त्यसपछि उच्च माध्यमिक शिक्षा र इन्जिनियरिङ पढ्न भारत गए ।

इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक पनि भारतबाटै पूरा गरे । भारतमा स्नातक अन्तिम वर्षमा अध्ययन गर्दै गर्दा उनको रूची विशेष गरी पावर ट्रान्समिसन, डिजिटल कन्ट्रोल सिस्टम र प्रोग्रामिङ गरी ३ वटा विषयमा थियो । ३ वटा मध्ये प्रोग्रामिङ (प्रोग्रामिङ प्लस हार्डवेयर) मा उनले आफ्नो थेसिस सम्पन्न गरे । 

उनले कोडिङ गर्दा अहिलेको जस्तो कम्प्युटर थिएन एसेम्बली कोडिङ गर्नुपर्ने अवस्था थियो । सन् १९९२ को अन्तिम तिर स्नातक अध्ययन पूरा गरेर सुरेश नेपाल फर्किए । नेपाल आउनै बित्तिकै आफ्नो बुबालाई कम्प्युटरमा काम गर्न चाहेको र नेपालमा कहाँ छ खोजिदिनुस् भने । 

त्यतिबेला राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा कम्प्युटर थियो । उनका बुबाले केन्द्रका निर्देशकसँग कुरा गरे । तत्कालीन समयमा सुरेशका बुबा त्रिचन्द्र कलेजको लाइब्रेरीयन एडमिनिष्ट्रेटर थिए । 
           
null

आफ्नो बुबाले केन्द्रमा कुरा गरेपछि केन्द्रका निर्देशकले शनिबासर नै अन्तर्वाताका लागि घरमा बोलाए । त्यसपछि उनले भोलिपल्टदेखि सिस्टम इन्जिनियरको भूमिकामा केन्द्रमा काम गर्न थाले । 

काम गर्दै जाँदा केन्द्रमा मात्रै अल्झेर हुँदैन् भन्ने सुरेशलाई लाग्यो । त्यसपछि फेरि अमेरिकन, ब्रिटिश लाइब्रेरी धाउन थाले । लाइब्रेरीमा पढ्दा नै हो उनले एआई बारे थाहा पाएको । त्यहाबाट बल्ल एआईमा सुरेशको रूची पैदा भयो । इलेक्ट्रिकल र इलेक्ट्रोनिक्समा थप अध्ययन नगर्ने निधो उनले यसअघि नै गरिसकेका थिए । 

एआईमा रूची बढ्न थालेपछि छात्रवृत्तिमा बेलायतबाट मास्टर्स इन एआई अध्ययन गरे । सन् १९८७ मा एसेक्स विश्वविद्यालयबाट मास्टर्स इन एआई अध्ययन गरेर नेपाल फर्किए ।

नेपालमा साथीहरूसँग मिलेर प्रोफेसनल कम्प्युटर सिस्टम (पीसीएस) सुरू गरे । केही महिना काम गरेपछि पीसीएस पनि छोडे । पीसीएमा हुँदा उनले नेपाली किबोर्ड सिस्टम बनाएका थिए, जुन अहिलेको युनिकोड जस्तो मिल्दोजुल्दो नै थियो । यो युनिकोड आउनुभन्दा १५-२० वर्ष अगाडिको कुरा हो ।  

मानन्धरमा अध्ययन तिर्खा मेटिएको थिएन । त्यसैकारण सन् १९८८ मा पीएचडी अध्ययन गर्न उनी पुनः बेलायत गए । सन् १९८८ मा सुरू भएको उनको पीएचडी अध्ययन १९९३ मा सम्पन्न भयो । पीएचडी सकिनुभन्दा १ वर्ष अगाडि नै आफुले अध्ययन गरिरहेको युनिभर्सिटी अफ एडिनबर्गमै रिसर्च फेलोको जब पाए । पीएचडीमा उनले कम्प्युटरलाई नेचुरल ल्याङ्वेज बुझाउने सिस्टममा काम गरे । 

सन् १९९४ मा सुरेशले भाषा जस्तो जटिल विषय कोडिङ गरेर कम्प्युटरलाई पूर्ण रूपमा बुझाउन सकिदैन भन्ने महशुस गरे । भाषालाई कुनै नियमबाट बुझाउन असम्भव जस्तै हुने उनको धारणा छ ।  

त्यसपछि युनिभर्सिटी अफ योर्कमा फ्याकल्टीको रूपमा एआई रिसर्च ग्रुपमा आवद्ध भए । युनिभर्सिटी अफ योर्कमा २३ वर्षसम्म काम गरे र एआई रिसर्च ग्रुपको प्रमुखसम्म भए । २३ वर्ष कामगर्दै २२ बढी विद्यार्थीलाई पीएचडी सुपरभाइज पनि गरे । अहिले सुपरभाइज गरेका पीएचडीका विद्यार्थी विश्वका ठूला एआई कम्पनीहरूमा काम गरिरहेका छन् । 

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ ग्रहण गर्दै

सन् २०१९ मा सुरेश पुनः नेपाल फर्किए । नेपाल आएर केही गरौं भन्ने इच्छा पहिलेदेखि नै भएपनि सन् २०१९ मा त्यो समय जुरेको उनी बताउँछन् । अहिले उनी वाइज्याकमा सहसंस्थापकको रूपमा छन्, जसले हेल्थसेवालाई एआईसँग जोड्ने सफ्टवेयर विकास र एआई च्याटबट तथा कल सेन्टर सोलुसनमा काम गरिरहेको छ । 

खासमा वाईज्याकमा पहिले देखिनै एडभाइजरको रूपमा उनले काम गरिरहेका थिए । पछि मानन्धरलाई नै चलाउने प्रस्ताव आयो । त्यसपछि उनले वाईज्याक आफ्नो नेतृत्वमा सञ्चालन गरिरहेका छन् । नेपालसहित अमेरिकामा समेत यसको कार्यालय छ । 

न्युमेरिक माइन्ड कम्पनीको उनी संस्थापक हुन् । सन् २०२० मा स्थापना भएको न्युमेरिक माइन्डले क्लिनिक ट्रायल्सको डेटालाई विश्लेषण गर्ने काम गर्दै आएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अनरी एआई चेयर प्रोफेसरको रूपमा पनि काम गरिरहेका छन् ।

फ्युज मेसिनमा हेड अफ एआई रिसर्चको रूपमा काम गरिरहेका छन् । विदेशमा बसेर सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याए वापत गत वर्ष लिभिङ विथ आइसिटीले नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ बाट समेत उनलाई सम्मानित गरेको थियो । 

अवतारसहितको च्याटबटको विकास

सन् २००० तिर विश्वभर भर्खर भर्खर इन्टरनेट आउन थालेको थियो । त्यो बेला मानन्धरले विश्वविद्यालमै प्राध्यापनको काम गरिरहेका थिए । त्यो बेला सन् २००० मा साथीहरूसँग मिलेर ‘लेक्जिकल’ भन्ने स्टार्टअप सुरू गरे ।

त्यो लेक्जिकलले ग्राहक सेवाका लागि भर्चुअल मानव (अवतार) सहित भर्चुअल असिस्टेन्ट बनाएको थियो, जुन अवतारसहित विकास भएको सम्भवत संसारको पहिलो भर्चुअल असिस्टेन्ट (च्याटबट) भएको उनको भनाको छ । 

null

उक्त सफ्टवेयर बेलायतको ठूलो बैंक फर्स्ट डिरेक्ट बैंक (एचएसबीसी युके बैंकको डिभिजन) मा प्रयोग भएको थियो ।

असिस्टेन्टले कुनै प्रश्न सोधेपछि उसले भ्वाइसमा जवाफ दिन्थ्यो । १ वर्ष लगाएर विकास भएको उक्त सफ्टवेयरका लागि लेक्जिकलले लगानीकर्ताबाट हाफ मिलियन डलर समेत लगानी उठाएको थियो ।

null
लेक्जिकल त्यो बेला बीबीसी क्लिक कार्यक्रममा समेत फिचर भएको थियो । तर सन् २००३ मा कम्पनी बन्द भयो । त्यतिबेला ‘अर्लि टु मार्केट’ भएका कारण लेक्जिकल स्टार्टअप असफल भएको मानन्धर बताउँछन् ।

‘त्यो बेला मानिसहरूलाई वेब ब्राउजर र इन्टरनेट भन्ने कुरा भर्खर भर्खर थाहा हुन लागेको थियो । च्याटबट भन्ने चीज अजिब भयो,’ उनले भने, ‘१० वर्ष जति हामी अर्लि भयौं ।’