कीवर्डहरू -

अमेरिकी सिस्टम कन्सल्टिङमा जमेका कार्की, अब नेपालबाटै बनाउन चाहन्छन् ग्लोबल प्रडक्ट

अमेरिकी सिस्टम कन्सल्टिङमा जमेका कार्की, अब नेपालबाटै बनाउन चाहन्छन् ग्लोबल प्रडक्ट

नेपालीहरू विश्वका हरेक कुनामा पुगेका छन् । पुग्ने मात्र होइन उल्लेख्य सफलता समेत हासिल गरिरहेका छन् । कोही ठूला ठूला कम्पनीको माथिल्लो तहमा बसेर काम गरिरहेका छन् भने कसैले व्यवसाय सुरू गरेर नेपालको नाम ‘उचो’ बनाइरहेका छन् । 

त्यही मध्येका एक हुन, मकवानपुरका राजु कार्की । २५ वर्ष अघि पढाइको सिलसिलामा अमेरिका पुगेका उनी अहिले कन्सल्टिङ उद्योगमा जमेका छन् । अहिले कार्की कन्सल्टिङमार्फत सिस्टम, ईआरपी कन्सल्टिङदेखि अकाउन्टिङसम्मको सेवा प्रदान गर्दै आएका हुन् । 

सन् २०१३ मा उनले कार्की कन्सल्टिङ सुरू गरेका थिए । त्यसभन्दा अगाडि अमेरिकाकै ठूला कन्सल्टिङ फर्म सीएसई कम्प्युटर साइन्स कर्पोरेसन र बीडीओमा समेत काम गरेका थिए । पढाइमा ठिकै थिए । आमा, बुबा दुवै शिक्षक । कक्षामा एकपटक तेस्रो भएका थिए । तर कसरी आए उनलाई नै थाहा छैन् । 

काठमाडौंको हिमालय विद्या मन्दिरबाट कक्षा १० सम्मको अध्ययन गरेका कार्कीले आईकम पिपुल्स कलेज र ब्याचलर्स शंकरदेव क्याम्पसबाट पढेका हुन् । त्यसपछि सन् १९९८ मा फेरि ब्याचलर्स अध्ययनका लागि अमेरिका गएका थिए । २५ वर्ष अगाडि अमेरिका पुगेका कार्कीले अनेकौं सङघर्ष गर्दै आज अमेरिकामा आफुलाई स्थापित गर्न सफल भएका छन् । 

अमेरिका जाने लक्ष्य नै थिएन !

कार्कीले शंकरदेव क्याम्पसबाट अकाउन्टिङमा ब्याचलर्स गरेका थिए । त्यो बेला ब्याचलर्स २ वर्षको हुन्थ्यो । नतिजा आउन भने धेरै महिना लाग्थ्यो । त्यो खाली समयमा उनी अमेरिकन लाइब्रेरी जाने मौका पाए । त्यसपछि अमेरिका जाने सपना देख्न थाले । खासमा, चार्टड अकाउन्टेन्ट (सीए) बन्ने उनको इच्छा थियो । भारतबाट सीए पढेर नेपाल राष्ट्र बैंकमा जागिर खाने योजना रहेको कार्कीले सुनाए । 

‘अमेरिका जाने लक्ष्य थिएन । भारतमा गएर सीए पढेर राष्ट्र बैंकमा जागिर खाने इच्छा थियो,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यतिबेला राष्ट्र बैंकमा रोजगारी पनि ग्यारेन्टी जस्तै थियो । किनकी सीए पढेका जनशक्ति एकदमै कम थिए ।’ 

अमेरिकन लाइब्रेरी जाँदा २-३ वटा अमेरिकी कलेजहरूको नाम थाहा पाएका थिए । २-३ वटा कलेजमा प्रयास गरे, आंशिक छात्रवृत्ति पनि पाए । अनि उनको यात्रा मोडियो, अमेरिका । परिवारले पनि भारत भन्दा अमेरिका जान नै सल्लाह दिए । अहिले फर्केर हेर्दा पूर्व जाने मान्छे पश्चिम गएको जस्तो महशुस भइरहेको कार्की बताउँछन् । 

अमेरिकामा सुरूवाती बसाइ एकदमै गार्‍हो थियो । सुरूमा चिसो र हिउँ पर्ने गाउँमा बस्नु पर्‍यो, जुन उनका लागि अनपेक्षित थियो । नेपालमा होस्टलमा बसेर पढेको मान्छे, अमेरिकामा पुगेर आफै खाना पकाउनेदेखि जीविका धान्नलाई कामसम्म गर्नुपर्‍यो । त्यसमाथि संस्कृति पनि फरक । पहिलो सेमेन्टरमा उनलाई धेरै पछुतो भयो । अर्कै ग्रहमा गएको जस्तो महशुस भएको कार्कीको भोगाइ छ । तर दोस्रो सेमेस्टरदेखि वासिङटनमा ट्रान्सफर भएपछि अलि सहज भयो । नेपाली साथीहरू पनि भेटिए । 

त्योबीचमा एकपटक नेपाल फर्किने सोच समेत आएको उनी सुनाउँछन् । विगतलाई स्मरण गर्दै कार्की भन्छन्, ‘एकपटक नेपाल फर्किने सोचेको थिए । अमेरिका आउँदा बुबाले कलेजमा ८-१० हजार डलर दिनुभएको थियो ।  त्यो पैसा कमाएर फर्किउ कि जस्तो लागेको थियो । फेरि फर्किएर भारतमा जान जस्तो लागेको थियो ।’ 

null

विद्यार्थीको रूपमा अमेरिका गएकाले पढाइ र कामलाई व्यवस्थापन गर्न साह्रै गार्‍हो हुन्थ्यो । एकातिर पढ्ने शुल्क र जीवीका धान्न फुल टाइम काम पनि गर्नुपर्ने अवस्था थियो भने अर्कोतिर पढाइ पनि फुल टाइम गर्नुपर्ने बाध्यता थियो ।

नेपालबाट ब्याचलर्समा बिजनेस म्यानेजमेन्ट पढ्न अमेरिका गएका थिए तर पछि आईटीमा धेरै अवसर देखेर उनी कम्प्युटर इन्फरमेसन सिस्टममा स्वीच भएका थिए । किनकी त्यो बेला अमेरिकामा ई-कमर्स बुम हुँदै थियो भने ‘डटकम बबल’ पनि आएको थियो । त्यो देखेर राजु पनि आईटीमा सिफ्ट भए र कम्प्युटर इन्फरमेसन सिस्टममा ग्राजुएट गरे । 

सन् २००१ मा ग्राजुएट भएकै वर्ष रोजगारीका लागि उनी धेरै भौतारिए । ग्राजुएट भएपछि डटकम बबल क्र्यास आयो थियो र रोजगारी पाउन एकदमै गार्‍हो हुन थाल्यो । रोजगारी नपाएपछि त्यो बीचमा उनले रिटेल बिजनेस सुरू गरे । नेपालीहरूलाई पनि रोजगारी दिएका थिए । तर केही महिनापछि बिजनेस बन्द गर्नुपर्‍यो । व्यवसाय बन्द भएपछि ऋणमा चुर्लुम्मै चुबेका थिए । त्यो बेला अब सबै सकियो जस्तो लागेको उनको भनाइ छ । 

‘मेरो जीवनको ‘लो पोइन्ट’ थियो । सबै गुमेको जस्तो र । सकिएको जस्तो लागेको थियो,’ उनले भने, ‘तर हार मानिन । सबै दुखसँग लडे ।’  उनले व्यवसाय गर्दा साथीहरूबाट पनि ऋण लिएका थिए । तर पछि ऋणमा डुबेपछि साथीहरू पनि कसैलाई थाहा थिएन । लक्का जवान थिए । केही गर्ने जोश र हौसला थियो । सँगसँगै बिजनेसमा असफल भएको चोट पनि ।  

असफलताबाट पाठ सिक्दै ९ महिनापछि फेरि अर्को नयाँ बिजनेस सुरू गरे । त्यो बिजनेस राम्रो चल्यो र करिब करिब सबै ऋण तिर्न सफल भए । सन् २००४ मा व्यवसाय छाडेर बिजनेस युनिट अकाउन्टेन्सको रूपमा सीएसई कम्प्युटर साइन्स कर्पोरेसनमा रोजगारी गर्न थाले । त्यो बेला कार्कीलाई फेरि शंकरदेवको डिग्री काम लाग्यो । 

अमेरिकामा अकाउन्टिङको काम सबै सिस्टममा हुन्छ । कम्प्युटर सिस्टम र अकाउन्टिङ दुवैको ज्ञान भएकाले उनलाई सजिलो भयो । त्यसले ‘प्रमोसन’मा पनि सघायो । यस बाहेक महत्त्वपूर्ण कुरा नयाँ एक्सपोजर र अनुभव पाए ।

सीएसई तत्कालिन समयमा अमेरिकी सरकारको तेस्रो सबैभन्दा ठूलो कन्ट्रयाक्टर थियो, जसले वार्षिक १६ अर्ब डलरभन्दा बढीको कारोबार गर्थ्यो । सन् २००७ मा उनले सर्टिफाइड पब्लिक अकाउन्टिङ (सीपीए) पनि पढे, जुन सीएको इक्युभ्यालेन्ट हो । सीए गर्न नपाएकोमा उनलाई ‘ठूलो रिग्रेट’ थियो । त्यसका लागि अकाउन्टिङमा राम्रो फाउन्डेसन पनि बनाएका थिए । तर पढ्न पाएका थिएनन ।

एक पटक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर विश्व बैंकको कन्फेरेन्समा आएका थिए । सीए पढेर राष्ट्र बैंकमा जागिर खान्छु भन्ने सपना देखेका कार्कीलाई कन्फेरेन्समा देखेको त्यो दृश्यले एकदमै हिट गर्‍यो । त्यसपछि सीए नभएपनि अब ‘सीपीए’ गर्छु भनेर त्यसको अध्ययन गरेका थिए । 

सीपीए अध्ययन गरेपछि आफ्नो लागि ‘कन्सल्टिङ’ क्षेत्र उपयोगी भएको जस्तो कार्कीलाई लाग्न थाल्यो । ल्यापटप भएपछि जुनसुकै ठाउँबाट पनि काम गर्न पाइने भएपछि कन्सल्टिङ क्षेत्र आफ्नो लागि उचित भएको उनले बताए । अनि सन् २००७ बाट अकाउन्टिङमा कन्सल्टिङ करियर सुरू भयो । मर्क ल्याड्री, बीडीओ जस्ता ठूला कन्सल्टिङ कम्पनीमा काम गर्ने मौका पाए । उनको अन्तिम जब बीडीओमा ‘कन्सल्टिङ म्यानेजर’ थियो ।

कार्की कन्सल्टिङको सुरूवात 

एक देशकदेखि कर्पोरेटमा काम गरिरहेका थिए । अब आफ्नै केही गर्नुपर्छ भन्ने सोच पलाइसकेको थियो । उता चीनको वृद्धि द्रुत रूपमा भइरहेको थियो । एकदिन उनको हङकङमा बस्ने अंकलले हङकङ बोलाए । हङकङ पुग्दा उनलाई हङकङको सुन्दरताले मन जित्यो र त्यही केही गर्ने सोच बनाए । कामबाट छुट्टी लिएर ट्रेडिंङ बिजनेस सुरू गरे । तर व्यवसाय सफल भएन, फेरि शुन्यमा फर्किए । 

त्यसपछि पुनः अमेरिका गए । बीडीओमै काम गर्न थाले । सँगसँगै जर्ज मासन विश्वविद्यालयमा मास्टर्स इन इन्फर्मेसन सिस्टममा पनि भर्ना भए । काम पनि राम्रै गरिरहेका थिए । उनको कामबाट क्लाइन्टहरू समेत एकदमै खुसी थिए । किनकी आईटी र अकाउन्टिङको ज्ञान भएका कारण ३ जनाले गर्न सक्ने काम उनी एक्लै गर्थे । त्यहाँ ‘ए प्लस’ कन्सल्टेन्ट थिए, कार्की । 

पछि क्लाइन्टहरूले पनि ‘राजु तिमी अब आफ्नै भेन्चर सुरू गर, हामी तिमीसँग सिधैं काम गर्न चाहन्छौं’ भन् थाले । एक जना क्लाइन्टले त आफ्नो कम्पनीको सीईओ, सीएफओ, सीटीओसँगको लन्च मिटिङमा बोलाएर महिनामा २ पटक मात्रै अफिस आउनु पर्ने र मासिक ५ हजार डलर पारिश्रमिक दिने प्रस्ताव नै गरेका थिए । 

बीडीओको जब छोड्न मन लागेको थिएन । किनकी उनी भर्खर ‘सेटल’ हुँदै थिए । क्लाइन्टको उक्त प्रस्तावले जब छोड्न मद्दत गर्‍यो । अनि सन् २०१३ मा जब छोडे र सुरू गरे, कार्की कन्सल्टिङ । कार्की कन्सल्टिङ सुरू गरेपछि पछाडि फर्किएर हेर्नु नपरेको उनी बताउँछन् । 

पहिलो महिना २-३ वटा क्लाइन्ट आएका थिए । त्यसपछि कार्की कन्सल्टिङले ग्रोथको ग्राफ मात्रै देखेको छ । सुरूवाती समयमा बिहानदेखि रातको २ बजेसम्म काम गर्थे । कार्की कन्सल्टिङले अकाउन्टिङ, ईआरपी सिस्टम कार्यान्वयन, सिस्टम कन्सल्टिङ, ट्रेनिङ जस्ता सेवाहरू प्रदान गर्छ । केही वर्षदेखि कार्की कन्सल्टिङले आउटसोर्स सुविधा समेत दिन थालेको छ । यसबाट कम्पनीहरूलाई अकाउन्टिङ र प्रमुख वित्त अधिकारी (सीएफओ) को सेवा आउटसोर्स गरिरहेको छ । 

null

कन्सल्टिङ बिजनेसमा रिफरल ग्राहकहरू नै धेरै हुन्छन् । कार्की कन्सल्टिङमा रिफरलबाट आउने कलाइन्टहरू धेरै छन् । अहिले कार्की कन्सल्टिङमा ३० बढीले रोजगारी पाएका छन् भने १०० बढी क्लाइन्ट छन् । कार्की कन्सल्टिङका ग्राहकहरू स्टार्टअपदेखि लिएर अर्ब डलरसम्मका पब्लिक कम्पनी छन् ।

अहिले धेरै काम पीई फर्महरूसँग गरिरहेको कार्की बताउँछन् । अमेरिकाको गभर्नेमेन्ट कन्ट्रयाक्ट (सरकारी ठेक्कापट्टा)मा कार्की कन्सल्टिङ ‘भेट्रान’ कम्पनी हो । गुणस्तरीय सेवा प्रवाहमा कुनै पनि सम्झौता गर्दैन् । त्यसैकारण, एक दशकदेखि अमेरिकाका व्यवसायीहरूको रोजाइमा पर्दै आएको छ, कार्की कन्सल्टिङ । 

रिटेल व्यवसायबाट धेरै कुरा सिकेको हुनाले कन्सलटिङमा बिजनेसमा उनले धेरै चुनौती भोग्नु परेन । पहिलो महिना नै जब छोडेपछि पहिलाको भन्दा तीन गुणा आम्दानी कार्की कन्सल्टिङबाट गर्न थालिसकेका थिए । गार्‍हो भनेको राती २ बजेसम्म काम गर्नुपर्थ्यो । आफ्नो मन पर्ने काम राती २ बजेसम्म गर्दा पनि गरेको जस्तो फिल नभएको कार्की बताउँछन् । 

नेपालबाटै ग्लोबल प्रडक्ट

पछिल्लो समय कार्की विदेशमा आफुले सिकेको सीप र ज्ञानलाई नेपाली युवाहरूसँग बाँडिरहेका छन् । नेपालबाट ग्लोबल प्रडक्ट बनाउने काममा अहिले कार्की लागिपरेका छन् । त्यसैका लागि अहिले नक्सालमा कार्यालय समेत खोलिएको छ, जहाँ २५ बढीले रोजगारी पाएका छन् । त्यहाँ अहिले सिस्टम विकास भइरहेको छ । 

नेपालको कम्पनीमा पनि अमेरिकाको जसरी नै काम हुने गरेको छ । बेला बेला आफ्ना कर्मचारी ठट्टा गर्दै कार्की भन्छन्, ‘यो नेपाली कम्पनी होइन, अमेरिकी कम्पनी हो ।’ नेपालको संस्कृति नराम्रो भन्दा पनि अमेरिकी कल्चरले थप अनुशासन र जिम्मेवार बनाउन सहयोग गर्ने उनको बुझाइ छ ।

नेपालबाट एउटा ग्लोबल प्रडक्ट बनाउने दौडमा रहेका कार्की वर्षमा कम्तिमा २ पटक नेपाल आइरहन्छन् । दुतावास, नास आईटी, एमचाम लगायतका संस्थामार्फत आफुले सकेको सहयोग र ज्ञान सीपमार्फत नेपालमा योगदान गरिरहेका छन् ।  

नेपालमा जति सक्यो रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको उनले सुनाए । ‘सबै डायस्पोराहरूको इच्छा नेपालमा योगदान दिने छ । सिकेको कुरा नेपालको विकासमा योगदान गर्ने चाहन्छन्,’ उनले पूर्ण आत्मविश्वासका साथ भने, ‘डायस्पोराले नेपालमा हजारौं जब सिर्जना गरेको छ । मेरो पनि त्यही योजना छ, नेपालमा धेरै रोजगारी सिर्जना गर्ने ।’ 

null

सन् २०१८ मा नेपालमै बस्ने भनेर अमेरिकामा भएको आफ्नो सम्पत्ति बेचेर परिवार (श्रीमति, बच्चाहरू) सहित नेपाल आएका थिए । कम्पनी नेपालबाट सञ्चालन गर्ने तथा जाने र आउने गरिरहने उनको सोच थियो । अमेरिकामा पनि पार्टनर थिए । 

धेरै नसोच्ने, एक्जिक्युट गर्ने उनको बानी छ । सबै कुरा सोचेको जस्तो भएन । ५-६ महिनापछि अमेरिका फर्कनु पर्‍यो । नेपालमा योगदान गर्न फर्किनै पर्छ भन्ने नभएको कार्कीको धारणा छ । ‘उद्यमशीलतामार्फत नै म देशको योगदान गर्न चाहन्छु । नेपालमा धेरैलाई रोजगारी सिर्जना गर्ने योजना छ,’ उनी प्रफुल्लित हुँदै भन्छन्, ‘नेपालमा सधैंका लागि फर्किएर भन्दा अमेरिकामै बसेर नेपाललाई ठूलो योगदान दिन सक्छु जस्तो लाग्छ ।’ 

पछिल्लो समय ट्रम्प आएपछि अमेरिकामा समस्या देखिन थालेको छ । संघीय सरकारको कर्मचारी र खर्च दुवै कटौतीका लागि एलन मस्कको नेतृत्वमा ट्रम्पले सरकारी दक्षता विभाग (डज) नै खडा गरेका छन् । यसले गर्दा कार्कीको व्यवसायमा समेत धक्का पुग्ने निश्चित छ ।

कार्की कन्सल्टिङको व्यवसायको ठूलो हिस्सा सरकारी निकायबाट आउने गर्थ्यो । अमेरिकी सरकारी कन्ट्रयाक्ट (सरकारी ठेक्कापट्टा)को बजार ट्रिलियन डलरको छ । खर्च कटौती निर्णयले यसअघिको ‘रिसिभेभल’ पनि कहिले आउने टुंगो छैन् । 

ट्रम्प आएपछि देशलाई प्राइभेट कम्पनी जसरी सञ्चालन गरिरहेको भान भइरहेको कार्की बताउँछन् । उनी अगाडि भन्छन्, ‘यसअघि अमेरिका लगानीका लागि सुरक्षित ठाउँ भनेर चिनिन्थ्यो । त्यसमा केही धक्का पुगेको छ । सँगसँगै हाम्रो व्यवसायमा पनि सरकारी ठेक्कापट्टाको ठूलो हिस्सा भएकाले समस्या देखिएको छ । अब के हुन्छ ? थाहा छैन् ।’