कीवर्डहरू -

स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’

स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’

पोखराका स्वदेश नेपाली, कोरोना महामारी अगाडिसम्म साझेदारीमा पोखरामा होटल सञ्चालन गरिरहेका थिए । सँगसँगै आफ्नो पूर्ण स्वामित्वमा अर्को होटल सञ्चालन गर्ने योजना बनाइरहेका थिए । 

यत्तिकैमा कोरोना महामारीका कारण देशभर लकडाउन सुरू भयो । मानिसको आवत जावत रोकियो । व्यापार व्यावसाय, स्कुल, कलेज सबै ठप्प भयो । 

यसको मारमा स्वदेश पनि परे । चार्टड अकाउन्टेन्ट (सीए) अध्ययन गरिरहेका उनको एकातिर कलेज बन्द भएको थियो भने अर्कोतिर होटल व्यवसाय समेत चौपट भएको थियो ।  

लकडाउनले जनजीवन ठप्प हुँदा होटल लिने सपना तुहियो । तर आफ्नै केही गर्ने हुटहुटी भने स्वदेशलाई सधैं थियो । महामारीमा पनि चल्न सक्ने व्यवसायको बारेमा अध्ययन गर्न थाले ।  

अध्ययन गर्दै जाँदा महामारीले पनि असर नगर्ने र विश्वको जुनसुकै ठाउँमा पनि सेवा दिन सक्ने आईटीको बारेमा थाहा पाए । त्यसपछि सीए अध्ययन गरिरहेका स्वदेशको यात्रा मोडियो र सुरू भयो आईटी कम्पनी ब्ल्याक टेक । 

ब्ल्याक टेकबाट आईटी सम्बन्धि सेवाहरू प्रदान गर्न थालेका थिए । तर स्वदेशलाई आफ्नै प्रडक्ट बनाउनु थियो । नेपाली प्रडक्टलाई विश्वभर पुर्‍याउनु थियो । कस्तो र के ‘टेक प्रडक्ट’ बनाउने भन्ने प्रश्नमा घोत्लिँदै गए । अनि रेष्टुरेन्ट व्यवस्थापन गर्ने सफ्टवेयर बनाउने आईडिया फुर्‍यो । किनकी स्वदेशले पहिलेदेखि नै होटल चलाइरहेका थिए ।

होटल क्षेत्रमा काम गर्दै गर्दा रेष्टुरेन्ट व्यवस्थापन सफ्टवेयरमा के के कमजोरी छन् भन्ने जानकारी थियो । त्यस्ता कमजोरीलाई समाधान गर्दै सहज र सस्तो सफ्टवेयर दिने उद्देश्यले रेष्टुरेन्ट व्यवस्थापन सफ्टवेयर रेष्ट्रोएक्स सुरू भएको हो । 

रेष्टुरेन्टका लागि सस्तो, गुणस्तरीय र चलाउन सजिलो हुने गरी रेष्ट्रोएक्स विकास गरिएको कम्पनीमा संस्थापक तथा सीईओ स्वदेश नेपालीले बताए । ‘म होटल व्यवसायमा आवद्ध थिए । त्यसकारण होटल, रेष्टुरेन्टमा प्रयोग हुने सफ्टवेयरमा के के कमजोरी छन् भन्ने थाहा थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘ती कमजोरीलाई समाधान गर्दै चलाउन सजिलो हुने, सस्तो र गुणस्तरीय सफ्टवेयर विकास गर्ने हेतुले रेष्ट्रोएक्स तयार भएको हो ।’

रेष्ट्रोएक्स विकास गर्न करिब साढे २ वर्षको समय लागेको थियो । सन् २०२० मा निर्माण गर्न सुरू गरिएको सफ्टवेयर सन् २०२२ को अन्तिमतिरबाट सञ्चालनमा आएको थियो । रेष्ट्रोएक्स साना तथा मध्यम रेष्टुरेन्टलाई ध्यानमा राखेर विकास गरिएको सफ्टवेयर हो । 

६ हजार ४०० बढी रेष्टुरेन्टले गर्छन् प्रयोग

ब्ल्याक टेक सुरू गरेपछि पहिलो एक वर्ष स्वदेशलाई गार्‍हो भयो । व्यवस्थापन पृष्ठभूमिबाट आईटीमा आएका कारण घुलमिल हुन केही समय लाग्यो । सिक्दै, ज्ञान बटुल्दै आईटीमा अभ्यस्त हुँदै थिए । उद्यमशीलतामा जम्दै थिए । 

२०२२ को अन्तिमतिरबाट रेष्ट्रोएक्स सिस्टम प्रालिमार्फत सञ्चालनमा आएको रेष्ट्रोएक्सले छोटो समयमै लोकप्रियता हासिल गर्न सफल भइसकेको छ । अहिले देश तथा विदेशमा ६ हजार ४०० बढी रेष्टुरेन्टले रेष्ट्रोएक्स प्रयोग गरिरहेका छन् भने ८ हजार बढी प्रयोगकर्ता छन् । 

प्रयोग गर्ने ६ हजार ४०० बढी रेष्टुरेन्टमध्ये करिब ८५ प्रतिशत नेपालका छन् भने बाँकी अमेरिका, भारत, अष्ट्रेलिया, मलेसिया, फिलिपिन्स लगायतका देशबाट छन् । ८०० बढी विदेशी रेष्टुरेन्टले रेष्ट्रोएक्स प्रयोग गर्दै आएका छन् । चलाउन सजिलो हुने गरी सफ्वेयर विकास गरेकाले धेरै रेष्टुरेन्टले रेष्ट्रोएक्स मन पराइदिनु भएको उनको दावी छ । 

null

विभिन्न चुनौतीहरू पार गर्दै रेष्ट्रोएक्स आजको दिनसम्म आइपुगेको छ । सुरूवाती अवस्थामा सफ्टवेयरको पनि पैसा तिर्नुपर्छ र.. भन्ने धारणा थियो । त्यो धारणालाई चिर्दै रेष्ट्रोएक्स अगाडि बढेको छ । तर अझै पनि यो समस्या पूर्ण रूपमा हट्न भने सकेको छैन् । 

गत वर्ष रेष्ट्रोएक्सलाई लिभिङ विथ आईसीटीले गण्डकी प्रदेशको उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान समेत गरेको थियो । गण्डकी प्रदेशको उत्कृष्ट स्टार्टअपको रूपमा सम्मानित भएपछि विश्वास जित्न सहज भएको र एउटा नयाँ पहिचान स्थापित भएको स्वदेश बताउँछन् । 

रेष्टोएक्स सफ्टवेयर निःशुल्क, प्रिमियम र प्लाटिनियम गरी ३ वटा भर्सनमा उपलब्ध रहेको छ । निःशुल्क भर्सनमा केही सिमित सुविधाहरू रहेका छन् । ५ वटासम्म टेबुल भएका साना रेष्टुरेन्ट, बार, क्याफे र फुड ट्रक्सहरूलाई निःशुल्क भर्सन उपयोगी हुने नेपाली बताउँछन् । 

निःशुल्क भर्सनमा २ वटा स्टाफको लगइन, ५ टेबल विथ लिमिटेड स्पेश, १०० डिसेस, डिजिटल मेन्यु, अनलिमिटेड अर्डर, फ्रि वेबसाइट, डिजिटल केओटी, रिपोर्ट र डेलिभरीको सुविधा रहेको छ । 

यस्तै प्रिमियम भर्सनको शुल्क छुटसहित वार्षिक २० हजार रूपैयाँ तोकिएको छ । यो विशेष गरी मध्यम खालका रेष्टुरेन्ट तथा क्याफेहरूलाई उपयोगी हुनेछ । यसमा १५ स्टाफ लगइन, ३० टेबल विथ असिमित स्पेश, ५०० डिशेस, इन्भेन्ट्री म्यानेजमेन्ट, २४ सै घण्टा च्याट तता कल सपोर्ट, रिजर्भेसन, कस्टम युजर लगायतका सुविधा छन् । 

त्यसैगरी प्लाटिनम भर्सनको शुल्क छुटसहित वार्षिक ५० हजार तोकिएको छ । यसमा निःशुल्क र प्रिमियम भर्सनमा उपलब्ध हुने सुविधाका साथै अनलिमिटेड स्टाफ लगइन, टेबल एण्ड स्पेश, डिशेस लगातयका सुविधा छन् । 

धेरैजसो रेष्टुरेन्टले निःशुल्क भर्सन नै प्रयोग गरिरहेका छन् । सःशुल्क भर्सन प्रयोग गर्ने ५०० बढी रेष्टुरेन्ट रहेका छन् । यसमा ट्रायलको सुविधा समेत रहेको छ । 

रेष्टुरेन्टका लागि सुपर एप

रेष्ट्रोएक्स सफ्टवेयर वेबसाइट र मोबाइल एप (एन्ड्रोइड तथा आईओएस) मा उपलब्ध रहेको छ । विशेष गरी मोबाइल एपमा बढी ध्यान दिइएको छ । रेष्ट्रोएक्सको भुक्तानीका लागि नेपालमा वार्षिक सब्सक्रिप्सन र विदेशमा मासिक सब्सक्रिप्सनको सुविधा रहेको छ । 

नेपालमा पनि भविष्यमा मासिक सब्सक्रिप्सन सेवा उपलब्ध गराउने उनी बताउँछन् । ‘नेपालमा सुरूमै मासिक सब्सक्रिप्सनमा जाने सोचिरेहेका थियौं । तर केही प्राविधिक समस्याका कारण वार्षिक सब्सक्रिप्सनमा गयौं,’ स्वेदश भन्छन्, ‘नेपालमा डिजिटल वालेटहरूले मासिक सब्सक्रिप्सनको सुविधा सुरू गरिदिनु भयो भने हामी छिट्टै नेपालमा पनि मासिक सब्सक्रिप्सन सेवा सुरू गर्छौं ।’

null

मासिक सब्सक्रिप्सन सेवा सुरू भयो भने महिनाको २ हजार रूपैयाँ शुल्क लिने कम्पनीको योजना छ । रेष्ट्रोएक्सले प्रयोगकर्ताको प्रतिक्रिया समेत राम्रो पाइरहेको छ । त्यसैले गर्दा प्रत्येक दिन लगभग १५-२० वटा लिड आइरहेका हुन्छन् । स्वदेशको अनुभवमा विदेशी प्रयोगकर्ता एकदमै प्रोफेसनल छन् । कुनै एउटा फिचर भएन भने पैसा फिर्ता चाहियो भनेर सब्सक्रिप्सन नै क्यानसिल गर्छन् । 

तर नेपाली प्रयोगकर्ताले भने सपोर्ट गरिरहेका छन्, कुनै फिचर भएन भने यो फिचर पनि राख्नुस है भनेर सल्लाह सुझाव दिदै आएका छन् । प्रयोगकर्ताको माग अनुसार एकमहिना भित्रमा नयाँ फिचर थप गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहक सपोर्टलाई पनि उत्तिकै जोड दिएको छ । 

ह्वाट्एप, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट ग्राहक सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ ।‘हामीले ग्राहक सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं । ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम जस्ता माध्यमबाट पनि दिन्छौं,’ उनले भने, ‘सपोर्टका लागि भिडियो ट्युटिरियलहरू बनाएका छौं । प्रयोगकर्ताहरूको एउटा कम्युनिटी पनि बनाएका छौं, त्यहाँबाट एक अर्कालाई सहयोग गरिरहनु भएको हुन्छ । हाम्रो उद्देश्य भनेकै ग्राहकहरूलाई सपोर्टका लागि हामीसँग नआईपुगुन भन्ने हो ।’

रेष्ट्रोएक्सले अब भविष्यमा विदेशमा समेत प्राथमिकताका साथ सेवा विस्तार गर्ने योजना बनाएको छ । अहिलेसम्म कम्पनीले विदेशमा खासै प्राथमिकता दिएको छैन् । पहिलो चरणमा भारत वा अष्ट्रेलिया मध्ये कुनै एउटा देशको बजारमा छिर्ने योजना रेष्ट्रोएक्सको छ । 

रेष्टुरेन्टको लागि सुपर एप बनाउने योजना अनुसार रेष्ट्रोएक्सले काम गरिरहेको स्वदेश बताउँछन् । उनी भन्छन्, ‘रेष्टुरेन्टका लागि आवश्यक पर्ने सबै सुविधा खोज्न अन्त कतै जानु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसै अनुसार यसको इकोसिस्टम विकासमा जोड दिएका छौं ।’

भविष्यमा रेष्ट्रोएक्सबाटै रेष्टुरेन्टको मार्केटिङ गर्ने, स्टाफ र फाइनान्सलाई अझै सजिलो बनाउने, सेल्स ल्याउनका लागि आवश्यक इन्टिग्रेसनमा पनि काम गर्ने, डेलिभरी पार्टनरहरूलाई एकीकृत गर्ने तथा पेमेन्ट इन्टिग्रेसन पनि सुविधा दिने समेत कम्पनीले योजना बनाएको छ । रेष्ट्रोएक्स र ब्ल्याटक टेक कम्पनीमा अहिले करिब ३० जनाले रोजगारी पाएका छन् । 

null

अहिले पोखरामा मूख्यालय रहेको कम्पनीको शाखा काठमाडौंमा पनि खोल्ने तयारी गरिएको छ । नेपालीले पछिल्लो समय ब्ल्याटक टेकमार्फत केही नयाँ प्रडक्टमा पनि काम गरिरहेका छन् ।  

स्टार्टअपका सारथी ‘स्वदेश’

स्टार्टअप सुरू गर्नु आफैमा एउटा चुनौतीपूर्ण काम हो । नेपालमा त झनै चुनौतीपूर्ण छ । काठमाडौं उपत्यका बाहिर अझै चुनौतीपूर्ण छ । पोखरा जस्तो ठाउँमा स्वदेश आफैले स्टार्टअप गरिरहेका छन् । 

पोखरा जस्ता देशका ठूला शहरबाट पछिल्लो समय स्टार्टअपहरू उदाइरहेका छन् । तर अनेकौं चुनौतीका बावजुत पनि नेपाली युवाहरू स्टार्टअपमा आइरहेका छन् । देशमै केही गर्न खोजिरहेका छन् ।

देशमै केही गर्न खोजिरहेका युवाहरूको आईडियामाथि पोखरामा स्वदेशले सघाइरहेका छन् । उनी आफै स्टार्टअपमा छन् र स्टार्टअप गर्दा के के कुरामा समस्या आउँछ भन्ने कुरा बुझेका छन् । 

त्यसैकारण ब्ल्याक टेकमार्फत उनले युवाहरूलाई काम गर्न स्पेश दिने, सिकाउने र आईडियालाई बजार योग्य बनाउन काम गर्दै आएका छन् ।