कीवर्डहरू -

आईसीपी २ नीति: संशोधनसहित सुरक्षा, सुशासन र सामुदायिक सहभागिताको आवश्यकता

आईसीपी २ नीति: संशोधनसहित सुरक्षा, सुशासन र सामुदायिक सहभागिताको आवश्यकता

केही समय अगाडि न्युजिल्यान्डमा भएको एपीएनआईसी ५८ कन्फेरेन्स  इन्टरनेट को–अर्डिनेसन पोलिसी २ (आईसीपी–२) को ऐतिहासिक महत्त्व र भविष्यमा गरिने संशोधनहरूमा केन्द्रित भएको थियो । 

लगभग २५ वर्षअघि विकास गरिएको आईसीपी–२ ले नयाँ क्षेत्रीय इन्टरनेट रजिस्ट्रीहरू (आरआईआर) जस्तै ल्याकनिक र अफ्रिनिकलाई मान्यता दिने मापदण्डहरू निर्धारण गरेको थियो ।

विगत दुई दशकमा यसले विश्वव्यापी इन्टरनेट समुदायलाई राम्रोसँग सेवा दिएको छ । तर इन्टरनेटको परिदृश्यमा आएको परिवर्तन, समुदायको बढ्दो चासो, जटिलता, र इन्टरनेटको विश्वव्यापी महत्त्वको कारण नीतिलाई पुनः संशोधन गरिनुपर्ने आवश्यकता रहेको छ ।

साथै, सुशासनमा भएको कमजोरी, प्राविधिक क्षमताको चुनौती र बढ्दो सुरक्षा जोखिमजस्ता समस्याहरूलाई पनि यसमा सम्बोधन गर्नुपर्ने देखिन्छ । यस सेसनमा इन्टरनेट क्षेत्रका अनुभवी विज्ञहरूसहितका प्यानलिस्टहरूले यस नीति पुनःसंशोधनमा जोड दिएका थिए । यसले नयाँ प्रविधि र परिवर्तनशील डिजिटल परिदृश्यसँग नीतिलाई अनुकूल बनाउन सहयोग पुर्‍याउन उनीहरूको तर्क छ ।

विशेषगरी, सुरक्षा, गोपनीयता र प्राविधिक क्षमतासँग सम्बन्धित शासन र नीतिगत चुनौतीहरूलाई समाधान गर्न आवश्यक रहेको सेसनमा जोड दिइएको थियो । यस सेसनको उद्देश्य भनेको आरआईआर प्रणालीलाई सुदृढ पार्नु र भविष्यका लागि यसको स्थिरता सुनिश्चित गर्नु थियो । 

यस नीतिले नयाँ आरआईआरलाई मान्यता दिने मापदण्डहरू मात्र होइन, विद्यमान आरआईआरको सञ्चालनात्मक अखण्डता, सुशासन र प्राविधिक क्षमतालाई पनि सम्बोधन गर्नुपर्ने देखिन्छ ।

सेसनमा भएका मुख्य छलफल

सुरक्षा र गोपनीयता

साइबर जोखिमको बदलिंदो स्वरूपका कारण आरआईआरहरूले सुरक्षा र गोपनीयतालाई प्राथमिकतामा राख्नुपर्ने विषगमा छलफल गरिएको थियो । यी अब केवल प्राविधिक चुनौती मात्र होइनन्, यी सुशासनका मुद्दाहरू पनि हुन्, जसलाई आईसीपी–२ को संशोधित संस्करणमा प्राथमिकतामा राख्न आवश्यक छ ।  

सामुदायिक सहभागिता

आईसीपी–२ पुनः संशोधनका लागि एक समावेशी र बलियो प्रक्रिया आवश्यक भएको वक्ताहरूले जोड दिएका थिए । यसका लागि सरकार, निजी क्षेत्र, नागरिक, र औद्योगिक बहुपक्षीय निकायहरूदेखि नयाँ इन्टरनेट प्रोफेसनलहरूको सहभागिताको आवश्यकता रहेको औल्याइएको थियो । 

पुस्ता र क्षेत्रहरूको सन्तुलन

अनुभवी प्रोफेसनलहरूको साथै युवा पुस्ताको दृष्टिकोणलाई समेट्ने कुरामा पनि छलफल भएको थियो । आईसिपी–२ को आगामी संशोधनले विश्वव्यापी इन्टरनेट समुदायलाई इन्टरनेट शासनको भविष्य निर्माण गर्न सघाउने महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ । 

यो केवल प्राविधिक प्रक्रिया मात्र होइन, यसले इन्टरनेटलाई खुला, भरपर्दो, समावेशी, र सुरक्षित बनाउने महत्त्वपूर्ण कामका लागि भूमिका निर्वाह गर्दछ, जुन आगामी २५ वर्ष र भविष्यसम्म पनि निरन्तर रहनेछ ।

इन्टरनेट समुदायले आईसिपी–२ लाई सुदृढ बनाउन र संशोधन गर्न निरन्तर काम गर्दै जाँदा, सबैका लागि समावेशी, सुलभ र बलियो इन्टरनेट सुनिश्चित गर्ने विकासहरूमा अपडेट भइरहनेछ ।

(लेखक श्रेष्ठ, एपनीक कोअपरेसन एसआईजीका सह-अध्यक्ष तथा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष हुन् )