नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवान सफ्ट ग्रुपले छिट्टै राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’ बजारमा ल्याउने तयारी गरेको हो ।
नेपाल मोबिलिटी सोलुसन प्रालि अन्तर्गत जुम जुम बजारमा आउँदैछ । एफ्वान सफ्टले एपका लागि आवश्यक पर्ने प्रविधि श्रीलंकाबाट खरिद गरेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।
अहिले सफ्ट लञ्चको रूपमा सार्वजनिक भएको जुम जुम एप पूर्ण रूपमा केही समयमा सार्वजनिक हुनेछ । आक्रामक रूपमा बजारमा प्रवेश गर्ने गरी जुमजुमले विगत डेढ महिनादेखि निरन्तर काम गरिरहहेको छ । अब छिट्टै औपचारिक रूपमा सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
पछिल्लो समय नेपालमा राईड शेयरिङ बजारमा प्रतिस्पर्धी बन्दै छ । बजारमा स्वदेशी देखि विदेशीसम्मका राइड शेयरिङ प्लेटफर्म उपलब्ध छन् । तर जुमजुम अन्य राईड शेयरिङभन्दा केही फरक बन्ने प्रयास गरेको कम्पनीको दावी छ । त्यसैअनुसार नयाँ नयाँ सुविधा ल्याउने योजना बनाएको छ ।
सुरूमा दुई पांग्रे राईड शेयरबाट सेवा सुरू गर्ने तयारी छ । बजारमा आवश्यक अनुसार अन्य सेवा थप गर्दै जाने कम्पनीले जनाएको छ । एपका लागि आवश्यक पर्ने प्रविधि मात्रै श्रीलंकाबाट किनेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीकर्ताको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।
ट्रिप ‘एसेप्ट’ भएपछि बीमा लागु
जुम जुमले प्रयोगकर्तालाई बीमा सुविधा उपलब्ध गराउने छ । यसका लागि नेको इन्स्योरेन्ससँग एक्सक्लुसिभ सम्झौता गरिएको छ ।
जुमजुममा ड्राइभरले ट्रिप एसेप्ट गरेपछि बीमा लागु हुनेछ । यस बीमा अन्तर्गत यात्राका क्रममा कुनै दुर्घटना भएमा ५० हजार रूपैयाँसम्मको स्वास्थ्य बीमा तथा ५ लाख रूपैयाँसम्मको मृत्यु वा स्थायी डिसाबिलिटी बीमा पाइने छ ।
ड्राइभरलाई टिप्सदेखि बोनस
जुमजुमको अन्य राइड शेयरिङभन्दा फरक सुविधा भनेको ‘टिप्स’ हो । एपमा रहेको टिप्सको सुविधा प्रयोग गरेर यात्रुले ड्राइभरलाई सिधैं टिप्स (थप रकम) दिन सक्छन् । यात्रुले ड्राइभरलाई दिने टिप्समा कम्पनीले कुनै पनि कमिसन नलिने जनाएको छ ।
यसका साथै ड्राइभरहरूले निश्चित राईड पुरा गरेपछि बोनस दिने समेत कम्पनीको योजना छ । एप प्रयोग गर्न समेत एकदमै सजिलो छ । ड्राइभरले एपबाटै राइड लिएको, कमिसन काटिएको सबै हिसाब किताब थाहा पाउने छन् । ड्राइभरले खर्च र आम्दानी ट्रयाक गर्न सक्ने छन् ।
यस बाहेक ड्राइभरका लागि एपमा डिरेक्सनल हाइरिङ भन्ने सुविधा छ । यदी तपाई बसन्तपुर जानु हुँदै छ भने बसन्तपुर जाने ‘ट्रिप’ मात्रै आउने बनाउन मिल्छ ।
इसेवाबाटै सिधैं भुक्तानी
जुम जुममा इसेवालाई डिरेक्ट इन्टिग्रेट गरिएको छ । त्यसले गर्दा यात्रुले डिजिटल भुक्तानी गर्दा पटक पटक इसेवामा जानु पर्ने छैन् । पहिलो पटक जुमजुममा इसेवा लगइन गरेपछि सिधैं जुम जुम एपबाटै रकम भुक्तानी गर्न सकिने छ । पटक पटक लगइन पनि गर्नुपर्दैन् ।
सफ्ट लञ्च भएको जुमजुम अहिले काठमाडौं उपत्यकाका मुख्य ठाउँ ठाउँमा उपलब्ध छ । काठमाडौं उपत्यकामा आक्रामक रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । राइडरबाट सुरूवाती चरणमा जिरो प्रतिशत कमिसन लिएपनि निकट भविष्यमा २० प्रतिशतसम्म कमिसन लिने कम्पनीको योजना छ ।
‘मल्टिपल’ राइड बुकको सुविधा
अहिलेसम्म हामीले राइड शेयरिङबाट एउटा राइड पुरा नभएसम्म अर्को राइड बुक गर्न सक्दैनौं । तर जुम जुमले यो समस्या समाधान गर्दैछ । कम्पनीका अनुसार एक पटकमा एउटा मात्रै नभएर ‘मल्टिपल’ राइड समेत बुक गर्न सकिने छ । जुम जुमबाट वान वेको मात्रै नभएर टुवे अर्थात रिटर्न ट्रिप समेत एकैपटक बुक गर्न सकिने छ ।
यसबाट एकैटपक आफ्ना साथीभाई, आफन्तका लागि धेरै राइड बुक गर्न सकिने छ । जुम जुममा ४०० बढी ड्राइभर आवद्ध भइसकेका छन् भने दिनदिनै आवद्ध हुनेको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ । जुम जुमको ड्राइभर एपबाट गएर लाइसेन्स, सवारीसाधन र नवीकरण भएको ब्लुबुक पठाउन सकिन्छ । त्यसपछि जुम जुमको सानेपामा रहेको कार्यालयमा गएर एउटा तालिम लिएपछि जुम जुम राइडरको रूपमा काम गर्न सकिने छ ।
अहिले ‘HelloJumJum’ प्रोमो प्रयोग गरेर काठमाडौं उपत्यकाका सुरूवाती ३ वटा राइड निःशुल्क उपयोग गर्न सकिने छ । जुम जुम एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।
जुम जुममा अहिले २० भन्दा बढीले रोजगारी पाएका छन् । जुम जुम प्रयोगकर्ताले सेवा प्रयोग गरेवापत रिवार्ड समेत पाउने छन् । उक्त रिवार्ड प्रयोग गरेर विभिन्न अफरमा क्लेम समेत गर्न सकिने छ । यस बाहेक कम्पनीले विभिन्न अफर र स्कीमहरू पनि सार्वजनिक गर्ने तयारी गरेको छ । भविष्यमा जुम जुम नेपालका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार गर्ने योजना छ ।