काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण गीत–सङ्गीत क्षेत्र संकटमा पर्ने, कलाकार विस्थापित हुने र रेकर्डिङ स्टुडियोको आवश्यकता घट्ने बहस चलिरहेका बेला गायक शिव परियारले एआईलाई डरको विषय मात्र नबनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘एआई र नेपाली सङ्गीतका विषयमा मेरो विचार’ शीर्षकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले एआईले सङ्गीत उद्योगमा परिवर्तन ल्याउने सम्भावना स्वीकार गरेपनि यसले मानव सिर्जनशीलताको स्थान लिन नसक्ने बताएका छन् ।
उनका अनुसार एआईले गीत लेख्न, धुन तयार गर्न, गाउन, वाद्यवादन गर्न तथा विभिन्न प्राविधिक कामलाई छिटो र सहज बनाउन सक्छ । त्यसैले केही काम गर्ने शैली परिवर्तन हुनु स्वाभाविक भएपनि एआईलाई मानव चेतनाको विकल्पका रूपमा लिन नमिल्ने उनको भनाइ छ ।
परियारले एआई प्रविधि मानिसले नै विकास गरेको शक्तिशाली उपकरण भएको उल्लेख गर्दै यसमा मानव अनुभूति र संवेदनाको अभाव रहने बताएका छन् । “एआईले धेरै कुरा गर्न सक्छ, तर जीवन बाँच्दैन । यसले पीडा, प्रेम, बिछोड, सङ्घर्ष वा आनन्द अनुभूति गर्न सक्दैन । त्यसैले कलाकारको जीवन अनुभवबाट जन्मिएको भाव र आत्मीयतालाई यसले पूर्ण रूपमा अभिव्यक्त गर्न सक्दैन,” उनले लेखेका छन् ।
उनले कलाकार, सर्जक, सङ्गीतकार, गीतकार तथा प्राविधिकलाई एआईसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि आफ्नो सीप, अध्ययन, अभ्यास र साधनालाई अझ परिष्कृत बनाउन सुझाव दिएका छन् । साधनाबाट सिर्जना भएको कलाको मूल्य कुनै पनि प्रविधिले घटाउन नसक्ने उनको विश्वास छ ।
आफ्नो तर्कलाई स्पष्ट पार्न उनले परम्परागत खानाको उदाहरण पनि दिएका छन् । “जति प्रकारका फास्ट फुड आएपनि कोदो र फापरको ढिँडोको महत्त्व हराएको छैन । किनभने अन्तत: मानिसले मौलिकता, गुणस्तर र वास्तविकताको खोजी गर्छ,” उनले उल्लेख गरेका छन् ।
परियारका अनुसार एआई कलाकारको सहयोगी उपकरण बन्न सक्छ, सिर्जनाको गति बढाउन सक्छ र कार्य प्रक्रियालाई सहज बनाउन सक्छ । तर, मानव संवेदना, अनुभव, साधना र आत्माबाट जन्मिने सङ्गीतलाई कुनै पनि प्रविधिले प्रतिस्थापन गर्न सक्दैन ।
उनले प्रविधिसँग डराउनुको सट्टा त्यसलाई बुझेर आवश्यक ठाउँमा उपयोग गर्दै आफ्नै मौलिकतालाई अझ बलियो बनाउने समय आएको उल्लेख गरेका छन् । “एआईले सिर्जनाको गति दिन सक्छ, तर सिर्जनाको आत्मा भने कलाकारले मात्रै दिन सक्छ,” उनले निष्कर्ष दिएका छन् ।
आईसीटी समाचार