कीवर्डहरू -

फेसबुक पेजबाट सुरू भएको इन्टर्न र इन्टर्नसीपलाई जोड्ने प्लेटफर्म ‘इन्टर्नसाथी डटकम’

फेसबुक पेजबाट सुरू भएको इन्टर्न र इन्टर्नसीपलाई जोड्ने प्लेटफर्म ‘इन्टर्नसाथी डटकम’

स्नातक तह अन्तिम वर्षमा अध्ययन गर्ने अधिकाशं विद्यार्थीहरूले इन्टर्नसीप अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर कतिपय विद्यार्थीले इन्टर्नसीपको अवसर पाउँदैनन् । 

यसको एउटा प्रमुख कारण भनेको ‘सूचनाको ग्याप’ हो । कम्पनीहरूलाई इन्टर्नको आवश्यकता भएपनि इन्टर्नसीप दिने कम्पनी र इन्टर्नसीपको आवश्यक भएका विद्यार्थीबीच सहजीकरण गर्ने कुनै प्लेटफर्म नहुँदा विद्यार्थीहरू इन्टर्नसीपको अवसरबाट बञ्चित हुँदै आएका थिए । विराटनगरका कुनाल शाहले पनि यस्तै समस्या भोगे । इन्टर्नसीपको सूचना नपाउने समस्या कुनाल जस्ता हजारौं विद्यार्थीको थियो । त्यसपछि करिब २ वर्ष अगाडि कुनालले सुरू गरे ‘इन्टर्नसाथी’ । 

नेपालमा गुणस्तरीय इन्टर्नसीप सेवा प्रदान गर्न इन्टर्नसाथी सुरू भएको साथि एडटेक प्रालिका संस्थापक कुनाल शाहले बताए । ‘नेपालमा गुणस्तरीय इन्टर्नसीको सेवा दिन २ वर्ष अगाडि इन्टर्नसाथी सुरू गरेका हौं,’ उनले आईसिटी समाचारसँग भने, ‘अहिले ४०० बढी विद्यार्थीले इन्टर्नसाथीबाट इन्टर्न पाइसकेका छन् ।’

एउटा भनाइ छ, ‘स्टार्ट स्माल, थिंक बिग’ अर्थात ठूलो सोच, सुरूवात सानोबाट गर । कुनालले पनि ठूलो भिजनका साथ एउटा फेसबुक पेजको भरमा इन्टर्नसाथी सुरू गरेका थिए । तर आज इन्टर्नसाथी फैलिदो छ । सानोबाट सुरूवात भएको इन्टर्नसाथीले लामो यात्राको केही दूरी पार गरिसकेको छ । १२ हजार बढीले इन्टर्नसाथीका प्रयोगकर्ता छन् । 

फेसबुक पेजबाट सुरू भएको इन्टर्नसाथीको परिचय पछिल्लो समय फराकिलो बन्दै गएको उनी बताउँछन् । ‘हाम्रो सुरूवात सानो थियो । एउटा फेसबुक पेजको भरमा इन्टर्नसाथी सुरू गरेका थियौं,’ कुनाल खुसी हुँदै भन्छन्, ‘विभिन्न चुनौतीलाई पार गर्दै आज धेरै विद्यार्थी र कम्पनीको सारथी भएका छौं ।’ 

विद्यार्थीले इन्टर्नसीप पाएवापत कुनै पनि शुल्क नलिने कम्पनीले जनाएको छ । यसबाट इन्टर्नसीपको सुविधा मात्र नभएर विद्यार्थीलाई सःशुल्क रूपमा मेन्टरसीप, प्लेसमेन्ट, रिजुमे बिल्डिङ लगायतको सुविधा दिदै आएको छ । 

यस्तै इन्टर्नसाथीले कम्पनीहरूलाई कर्मचारी रिटेन्सन, पाइपलाइन, एचआर लगायतका कन्सल्टिङ सेवा प्रदान गर्दै आएको छ । इन्टर्नसाथी डटकममा विद्यार्थीहरूले प्रोफाइल बनाएर इन्टर्नसीपमा आवेदन दिने सक्छन् भने कम्पनीले पनि आफ्नो कम्पनीमा आवश्यक भएको इन्टर्नसीपको विवरण राख्न सक्छन् ।  

विद्यार्थीहरूलाई वेबसाइटमा मात्र नभएर सकेको खण्डमा रिफरलबाट समेत इन्टर्नसीपको अवसर खोजिदिने उनको भनाइ छ । विद्यार्थीहरूलाई इन्टर्नसीप लिले प्रक्रिया निःशुल्क भएपनि कम्पनीहरूले भने शुल्क तिर्नुपर्छ । त्यसका लागि ‘इन्टर्नसाथी क्रेडिट’ तयार गरेको छ । उक्त क्रेडिट, सेवा प्रयोगको आधारमा खर्च हुनेछ । सुरूमा कम्पनीले ट्रायलका लागि निश्चित क्रेडिट निःशुल्क समेत दिनेछ । 

इन्टर्नसाथी डटकममा आउने धेरैजसो इन्टर्नसीपकै खोजिमा आउने भएकाले कम्पनीहरूका लागि उपयोगी भएको शाह बताउँछन् । ‘हाम्रो प्लेटफर्ममा आउने अधिकाशं इन्टर्नसीपकै लागि आउनुहुन्छ । हामीसँग इन्टर्नको खोजिमा रहेकाको डेटाबेस पनि छ,’ उनले भने, ‘इन्टर्न खोज्ने कम्पनीको प्रक्रियालाई हामीले सहज र छिटो बनाइदिएका छौं ।’ 

कम्पनीले इन्टर्नसीपको लागि वेबसाइटमा लिष्टिङ गर्ने बित्तिकै विद्यार्थीहरूलाई अलर्ट जान्छ । निश्चित स्कुलका विद्यार्थीलाई पनि अलर्ट पठाउन सकिन्छ । इन्टर्नसाथी अहिले ४०० बढी कम्पनीले प्रयोग गरिरहेका छन् । 

इन्टर्नसीप खोजिमा आउने धेरै विद्यार्थीहरूमा सीपको अभाव भएको उनको बुझाइ छ । उनी अगाडि भन्छन्, ‘विद्यार्थीहरूले सबै ठाउँमा एउटै सीभी पठाउनु हुन्छ । इमेलमा ‘सबजेक्ट’ पनि राख्नु हुँदैन् । सीभीमा धेरै विवरण राख्दा राम्रो हुने विद्यार्थीको बुझाइ छ । केही सेकेन्डभित्र एउटा सीभी मूल्यांकन गर्नुपर्ने भएकाले आवश्यक विवरण मात्रै राख्नुपर्छ । सीभी भनेको भर्चुअल अन्तर्वाता जस्तै हो ।’