कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टार्टअप सुरू हुन थालेका छन् । अनेक अभाव र चुनौतीबीच युवाहरूका आईडिया र इन्नोभेसन अगाडि आइरहेका छन् ।
यस्तै एउटा आईडिया हो, जाऔं । जाऔं सर्भिसेस कोशी प्रदेशको इटहरीबाट १ वर्ष अगाडि सुरू भएको स्टार्टअप । इटहरीका दुर्गेश चौधरी र सञ्जीव राईले सुरू गरेको जाऔंको अहिले इटहरी र दमकमा डेलिभरी तथा राइड शेयरिङको सुविधा दिइरहेको छ । एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले गूगल प्लेस्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् ।
करिब एक वर्ष अगाडि सुपर एपको अवधारणामा जाऔं सुरू भएको जाऔं सर्भिसेसका संस्थापक दुर्गेश चौधरीले बताए । ‘जाऔं एप हामीले सुपर एपको अवधारणामा एक वर्ष अगाडि सुरू गरेका हौं,’ उनले आइसिटी समाचारसँग भने, ‘जाऔंबाट डेलिभरी र राइड शेयरिङ सुविधा दिदै आएका छौं ।’
जाऔंले इटहरी र दमकमा फुड, पार्सल र ग्रोसरी डेलिभरी गर्दै आएको छ भने राइड शेयरिङ सेवा समेत प्रदान गर्दै आएको छ । डेलिभरी सेवा आधा घण्टा दिने कम्पनीको दावी छ । अनलाइन फुड डेलिभरीका लागि ४० बढी रेष्टुरेन्टसँग सहकार्य गरेको छ ।
यस बाहेक इटहरीमा जाऔंबाट दैनिक २० देखि २५ को हाराहारीमा राईड शेयरिङ हुने गरेको छ । उनी भन्छन्, ‘हामीले दैनिक २०-२५ राइड शयेरिङ गरिरहेका छौं । प्रयोगकर्ताहरू दिनदिनै बढी रहेका छन् ।’
जाऔं एपमा ५ किलोमिटरसम्म डेलिभरीको सेवा लिन ९९ रूपैयाँ शुल्क लाग्छ । यदी ५ किलोमिटरभन्दा बढी भए प्रतिकिलोमिटर २० रूपैयाँ थप शुल्क लाग्ने छ । राइड शेयरिङका लागि शुल्कमा बार्गेनिङ गर्न सकिने सुविधा राखिएको छ । एपमै बार्गेनिङ गर्न सकिन्छ तर तोकिएको न्युनतम शुल्कभन्दा तल आउन पाइने छैन् ।
जाऔंमा अहिले ६८ जना राइडर जोडिएका छन् । २ जनाबाट सुरू भएको जाऔंको टिम पनि बढ्दै छ । यो प्रगतीबाट उनी खुसी छन्, तर अझै गर्नुपर्ने धेरै छ । जाऔंलाई नेपालभर नै विस्तार गर्ने लक्ष्य भएको दुर्गेश बताउँछन् । केही समयमै कोशी प्रदेशका मुख्य शहर धरान, विराटनगर, विर्तामोडका साथै काठमाडौंमा सेवा विस्तार गर्ने उनीहरूको योजना छ ।
स्टार्टअप सुरू गर्नु आफैमा चुनौतीपूर्ण काम हो । त्यसमाथि मोफसलमा स्टार्टअप सुरू गर्नेले त झन चुनौतीमाथि चुनौती भोग्नु पर्छ । मोफसलमा अवयरनेसको कमी हुँदा स्टार्टअप गर्न सहज नभएको दुर्गशले बताए ।
‘चुनौतीहरू धेरै छन् । अवयनेस छैन् । जाऔं सुरू गर्दा हामीलाई पनि धेरै गार्हो भएको थियो,’ उनी भन्छन्, ‘तर विस्तारै सहजता आउँदै छ । पहिलेको भन्दा अहिले मोफसलमा पनि धेरैले बुझ्न थालेका छन् ।’
अब जाऔं एपमै बस टिकेट बुकिङ र होटल बुकिङको समेत सुविधा आउँदै छ । यस बाहेक ग्राहकको आवश्यकता अनुसार जाऔंमा सेवा थप गर्दै जाने उनीहरूको योजना छ ।