नेपाल टेलिकमले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहल काठमाडौं प्राङ्गण बाहिर धर्ना दिनेसँग कुनै सरोकार नरहेको बताएको छ ।
गत कात्तिक १२ गतेदेखि दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहल प्राङ्गण बाहिर धर्ना धर्ना दिने जनशक्तिसँगै कुनै सरोकार नरहेको टेलिकमले स्पष्ट पारेको हो ।
नेपाल टेलिकममा लामो समयदेखि सरसफाइमा कार्यरत जनशक्तिहरूलाई बिना सूचना र सेवा सुविधा राजनीतिक आस्थाका आधारमा कामबाट हटाइएको भन्दै एक समूहले धर्ना दिँदै आएको छ ।
नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसोर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ ।
सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको टेलिकमले जनाएको छ ।
पुरानो कम्पनीसँग सेवा अवधि समाप्त भएपछि दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाईको हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ ।
यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको टेलिकमको आरोप छ ।