कीवर्डहरू -

ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास

ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास

केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो।  ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई कालोसूचीमा राखिएको थियो । त्यसपछि हुवावेका मोबाइल फोन, हार्डवेयर तथा अन्य सेवाहरू अमेरिकी प्रयोगकर्ताहरूका लागि बन्द गरिए ।

हुवावेलाई यसको विकल्प निकाल्न बाध्य बनाइयो, र उसले हार्मनीओएस नामक नयाँ अपरेटिङ सिस्टम सार्वजनिक ग¥यो । सुरुमा प्रयोगकर्तालाई अपनाउन समय लाग्यो, तर विस्तारै त्यसमा अभ्यस्त भए । हुवावे अमेरिकामा फर्कन नसके पनि, चीनभित्र उसले हार्मनीओएससहितका स्मार्टफोनहरू धमाधम बिक्री गरिरहेको छ ।

अब ट्रम्प पुनः सत्ता फर्किएपछि चिनियाँ कम्पनीहरू चिन्तित छन् कि ती कम्पनीहरु पनि हुवावेको जस्तै अमेरिकी नियन्त्रणको सिकार बन्ने हुन् कि । रिपोर्टहरूका अनुसार सम्भावित प्रतिबन्धको सामना गर्नका लागि साओमी, ओप्पो , भिभो, वानप्लसजस्ता ब्रान्डहरू गुगल–रहित एन्ड्रोइड सिस्टमको खोजीमा लागेका छन् ।

गुगल–रहित एन्ड्रोइडको अवधारणा के हो?

वास्तवमा, आजका अधिकांश एन्ड्रोइड स्मार्टफोनहरूमा प्रयोग हुने अपरेटिङ सिस्टम अमेरिकाको कम्पनी गुगलले विकास गर्छ । फोन कम्पनीहरूले त्यसमा आफ्नै प्रयोगकर्ता इन्टरफेस थप्छन् र त्यसरी फोन “एन्ड्रोइड + यूआई“ को संयोजनमा चल्छ । गुगलले यसको प्रयोग गर्न लाइसेन्स दिन्छ । चिनियाँ कम्पनीहरू, स्यामसङ र अन्य निर्माताहरूले त्यो लाइसेन्स लिन्छन् ।

तर अब चिनियाँ कम्पनीहरू गुगलको नियन्त्रणबिना एन्ड्रोइडमा काम गर्न खोजिरहेका छन् । यसरी उनीहरू अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउन चाहन्छन् । रिपोर्टअनुसार, यस्ता स्मार्टफोनहरू ल्याउने सोच छ जुन एन्ड्रोइड त हुनेछ, तर गुगलसँग सम्बन्धित नहुने ।

रिपोर्टअनुसार, यो दिशामा साओमी अगाडि बढ्न सक्छ । कम्पनीले आउने हाइपरओएस ३ प्लेटफर्ममार्फत गुगल–रहित एन्ड्रोइडको आधार तयार गर्न सक्छ । यो प्रणाली गुगलमा धेरै भर पर्ने नहुने बताइएको छ । यद्यपि, साओमीले यो कसरी लागू गर्छ भन्ने स्पष्ट भएको छैन — के कम्पनीले सिधै पूर्ण रूपमा गुगल–रहित एन्ड्रोइड ल्याउने हो, वा क्रमशः नयाँ प्रणालीमा रूपान्तरण गर्ने हो ।

ट्रम्पको पुनः राष्ट्रपतिको रूपमा आगमनसँगै अमेरिका–चीनबीचको सम्बन्ध फेरि तनावपूर्ण मोडमा पुगेको छ । अमेरिकाले चीनमा १४५ प्रतिशत ट्यारिफ लगाएको छ, जवाफमा चीनले पनि ट्यारिफ लगाएको छ । यदि यो झनै बढ्यो भने, चिनियाँ प्रविधि कम्पनीहरूलाई निशाना बनाइने सम्भावना उच्च छ ।

केही वर्षअगाडि हुवावेमाथि गरिएजस्तै कदमले अहिले अन्य चिनियाँ स्मार्टफोन कम्पनीहरूलाई दबाबमा पारेको छ । त्यसैले अहिले नै समाधान खोज्ने दिशामा चिनियाँ कम्पनीहरू सक्रिय देखिएका छन् ।