यो वर्ष एप्पल एआई घोषणा हुन सक्ने सीईओ टिम कुकले संकेत गरेका छन् । कम्पनीको त्रैमासिक आम्दानी रिपोर्ट इभेन्टमा एप्पलका सीईओ टिम कुकले यसतर्फ संकेत गरेका हुन् ।
कुकका अनुसार एप्पलले सन् २०२४ मै एआई क्षेत्रमा जारी कामको विवरण चाँडै नै सेयर गर्नेछ । उनको यो टिप्पणीबाट एप्पलले आईओएस १८ का साथ एआई सुविधा ल्याउन सक्ने अनुमान गरिएको छ ।
आगामी जुनमा हुने डब्लुडब्लुडीसीमा एप्पल एआई बारे थप जानकारी आउन सक्ने जनाइएको छ । कम्पनीका अनुसार आईओएस १८ अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेटमध्ये एक हुनेछ ।
यसमा आधुनिक जेनेरेटिभ एआई ठूला भाषा मोडेलहरूमा आधारित नयाँ सिरी २.० आउन सक्ने अपेक्षा गरिएको छ । यस बाहेक सो अपडेटमा कम्पनीले मेसेजमा स्मार्ट रिप्लाई, एप्पल म्युजिकमा प्लेलिस्ट रिकमेन्डेसन आदि समावेश हुनेछन् ।
आईओएस १७.४ कोडले पनि एप्पलले आफ्नै ठूलो भाषा मोडेल, कोडनाम एजाक्स परीक्षण गरिरहेको संकेत गरेको छ । कार्यक्रममा कम्पनीका सीईओ टिम कुकले एप्पलको भविष्यलाई आकार दिने अन्य प्रविधिहरूमा लगानी गर्न जारी राख्ने बताएका थिए ।