शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वजनिक गरिएको हो ।
पाँच जना शार्कमा आईएमई ग्रुपका सह(संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, पद्य ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।
बेलायतबाट सुरू भएको विश्वै चर्चित बिजनेस रियालिटी शो शार्क ट्यांक नेपाल हिमालय टिभीबाट प्रसारण हुँदैछ ।
कार्यक्रममा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले कारोना महामारी, आर्थिक मन्दी लगायतका कारणले शार्क ट्यांक नेपालको औपचारिक घाषणा हुन करिब ३ वर्ष समय लागेको बताए ।
'अन्य रियालिटी शो भन्दा शार्क ट्यांक फरक किसिमको कार्यक्रम हो,' उनले भने, 'अबको पुस्ता उद्यमशीलताको हो । उद्यमशीलतालाई प्रोत्साहन, लगानी र सेलिब्रेसन गर्ने काम शार्क ट्यांकले गर्छ ।'
साथै घोषणा कार्यक्रममा नेपाल प्राइभेट इक्विटी एशोसिएन नेपाल, सीएनआईवाईईएफ, एफएनसीएसआई, एनवाईईएफ, रोबोटिक एशोसिएसन अफ नेपाल, एभरेष्ट होटल, स्टडी स्क्वायर, एनबीईए लगायतका संस्थाहरूसँग सहकार्यका लागि सम्झौता समेत भएको छ ।
शोलाई हिमालय रोडिज फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने जनाइएको छ ।
शार्कबाट उद्यमीका लागि ३५ देखि ४० करोड रुपैयाँ लगानी जुट्ने अपेक्षा गरिएको छ । कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा गरिने छ ।
नेपालमा शार्क ट्यांक ल्याउन ३ वर्षअगाडि नै सोनि पिक्चर्ससँग हिमालय टिभीले सम्झौता गरेको थियो । शार्क ट्यांक सुरू गर्ने नेपाल ५४ ओैं देश हो । विश्कभर शार्क ट्यांकमार्फत ३०० शार्कहरू पर्दामा देखिएका छन् ।