कीवर्डहरू -

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भित्र अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न अनुरोध गरेको हो । 

सर्वोच्च अदालत सूचना प्रविधि समितिको चैत्र ७ गते बसेको बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदनहरू अनलाइन प्रणाली मार्फत समेत दर्ता गर्न सकिने गरी प्रणाली विकास भइरहेको छ । उक्त प्रणाली चाँडै नै सुरुवात हुँदैछ ।

ल फर्महरूले पनि उक्त प्रणालीमार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने सुविधा पाउने छन् । त्यसैले सो प्रयोजनका लागि ल फर्महरू प्रणालीमा अभिलेखीकरण गर्न आवश्यक कागजातहरू राखी तोकिएको फाराम भरेर भौतिक रूपमा अदालतको रिट दर्ता शाखामा सम्पर्क गरी वा आवश्यक सम्पूर्ण कागजातहरू इमेल [email protected] मा पठाई प्रणालीमा ल फर्म अभिलेखीकरण गर्न निवेदन पेस गर्न सर्वोच्चले अनुरोध गरेको छ । 

सो सम्बन्धमा कुनै जिज्ञासा भएमा यस अदालतको रिट दर्ता शाखामा वा देहायका पदाधिकारीहरूलाई कार्यालय समयमा सम्पर्क गरी जानकारी लिन सकिनेछ । 

प्राप्त निवेदनहरू प्रणालीमा अभिलेखीकरण भए पश्चात् प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने प्रयोगकर्ता पहिचान (User ID) तथा पासवर्ड एसएमएस तथा इमेलमार्फत उपलब्ध गराइनेछ । 

रिट निवेदनको अनलाइन मार्फत दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण सम्बन्धी फाराम सर्वोच्च अदालतको वेब साइट supremecourt.gov.np को सूचना खण्डबाट डाउनलोड गर्न सकिनेछ ।

निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरू

  • ल फर्म दर्ता तथा नवीकरण सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि ।
  • कर प्रयोजनका लागि फर्म दर्ता तथा नवीकरण सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि ।
  • सञ्चालकहरूको नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • कानून व्यवसायीको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।