विश्वको पहिलो एआई इन्फ्लुएन्सर प्रतियोगिता मिस एआई घोषणा भएको छ । यस प्रतियोगितामा उत्कृष्ट र प्रभावकारी एआई मोडल छनोट गरिने छ ।
यो प्रतियोगिता वर्ल्ड एआई क्रिएटर अवार्ड्स (डब्लुएआईसी) द्वारा आयोजना गरिएको हो । एउटै प्लेटफर्म मार्फत विश्वभरका एआई सिर्जनाकर्ताहरूको उपलब्धिहरू प्रदर्शन गर्नु यसको उद्देश्य रहेको छ ।
वेबसाइट सूची अनुसार यस प्रतियोगिताका विजेताहरूलाई अमेरिकी डलर २० हजार पुरस्कार दिइनेछ । मिस एआई प्रतियोगितामा भाग लिनको लागिअप्रिल १४, २०२४ देखि दर्ता सुरु भएको छ । एआई–उत्पन्न मोडेलहरू सिर्जना गर्ने सिर्जनाकर्ताहरूले यस प्रतियोगितामा भाग लिन सक्छन् ।
यद्यपि, प्रतियोगितामा भाग लिनका लागि क्रियटर १८ वर्षभन्दा माथिको हुनुपर्नेछ । यससँगै क्रियटरको सामाजिक सञ्जालको उपस्थिति पनि महत्त्वपूर्ण रहने छ ।
यस विशेष कार्यक्रममा फेसन, डाइभर्सिटी र एआई जेनरेटेड कन्टेन्ट जस्ता अन्य अवार्डहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ । तथापि, मिस एआई विशेष रूपमा महिला एआई–उत्पन्न मोडेल र सोशल मिडिया इन्फ्लुएन्सरमा आधारित हुनेछ ।
एआई मोडेलहरू सिर्जना गर्नका लागि डिभाइसमा कुनै प्रतिबन्ध हुने छैन् । यस प्रतियोगितामा, सहभागीहरूलाई सौन्दर्य, प्रविधि र सोसल क्लाउट तीन मापदण्डका आधारमा मूल्यांकन गरिने छ ।
सौन्दर्य विधा अन्तगर्त शिष्टता र सौन्दर्यसँगै प्रश्नहरूको जवाफ दिने तरिकाका आधारमा मूल्यांकन हुनेछ । टेक एआई मोडेलहरूमा एआई टूल प्रयोग र लागू गरिएको सीपमा केन्द्रित हुने आयोजकको भनाइ छ । यसका साथै आउटपुटका लागि प्रयोग गरिएको प्रम्प्ट पनि जाँच हुनेछ ।
यस्तै सोशल क्लाउट मापदण्डले एआई मोडेलको फ्यान–फलोइङ र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा मोडेलको फलोअर वृद्धिलाई ध्यानमा राख्ने छ ।
प्रतियोगिताको मूल्यांकन गर्नका लागि चार सदस्यीय निर्णायह समूह हुनेछ । निर्णायकमा आइटाना लोपेज (३० लाखभन्दा बढी फलोअर्स) र एमिली पेलेग्रिनी (२८.१ लाखभन्दा बढी फलोअर्स) दुवै डिजिटल अवतार हुनेछन् । दुई जना डिजिटल अवतार बाहेक एन्ड्रयू ब्लोच र सैली–एन फाउसेट मानिस निर्णायक टोलीमा रहेका छन् ।