कीवर्डहरू -

जसलाई सरकारले सहयोग गरेन, उही मन्त्री बने

जसलाई सरकारले सहयोग गरेन, उही मन्त्री बने
पदभार ग्रहण गर्दै मन्त्री पुन । फोटो: नेपाल फोटो लाइब्रेरी

समयको खेल अचम्मको हुन्छ । 

जसले सहयोगका लागि पटक पटक सरकारको ढोका ढकढक्याए तर आश्वासनबाहेक केही पाएनन् । 

आज त्यही व्यक्ति सरकारकै मन्त्रिपरिषद्को हिस्सा बनेका छन् । यो कथा हो, वैज्ञानिक महावीर पुनको । सोमबारदेखि उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी बोकेका छन् । 

सोमबार मन्त्रीको रूपमा सपथ लिएपछि अब के के गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्दै थिए - किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइदिए । विज्ञहरूसँग छलफल गरेर अगाडि बढ्छु ।
मन्त्री बन्नु अघिसम्म महावीर पुन आफ्नो आत्मकथा बेचिरहेका थिए । किनकी जसरी पनि उनलाई वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्नुपर्ने थियो । 

कारखाना सञ्चालनका लागि सरकारले सहयोग गर्ने आश्वासन दियो तर सहयोग गरेन । सहयोग नगरेपछि आफ्नो आत्मकथा ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बचेर सञ्चालन गर्ने निर्णय गरे र देशका अधिकांश भूभागमा आफै गएर पुस्तक बिक्री गर्न थाले । अहिलेसम्म २ लाख बढी प्रति पुस्तक बिक्री गरिसकेका छन् । 

पुस्तक बिक्रीबाट संकलन भएको रकम कारखाना सञ्चालन गर्न खर्च हुनेछ । पुस्तक बिक्री गरिरहेकै समयमा उनलाई मन्त्रीको अफर आयो । मन्त्री बन्ने उनको कुनै इच्छा थिएन । मन्त्री बन्दिन्न भन्दा भन्दै पनि बन्नुपर्ने बाध्यता आइलागेको पनुले बताए । 

सरकारको असहयोग, जनताको साथ 

अनुसन्धान र आविष्कारका लागि आफ्नो जीवन समर्पित गरेका महावीर पुनले सन् २०१२ मा अनुसन्धान र नवप्रवर्तनबाट देशको विकासमा योगदान गर्ने लक्ष्यसहित राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे । यसमा सरकारले सहयोग गरोस् भन्ने उनको चाहना थियो । पटक पटक सहयोग गर्ने आवश्वासन दियो, तर सरकारले सहयोग गरेन । 

फोटो: नेपाल फोटो लाइब्रेरी

सरकारले सहयोग नगरेपछि जनताबाटै सहयोग उठाएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न उनी कस्सिए । यसका लागि एसियाको नोबेल पुरस्कारको रुपमा परिचित म्यागेसेसे पुरस्कारलगायत अन्य पदक समेत लिलामीमा राखेका थिए । आफ्नो जग्गा पनि केन्द्रलाई दिए । 

सरकारले धोका दिएपनि पुनले हार मानेन । निरन्तर लागिरहे । जनसहयोगबाट अहिले राष्ट्रिय आविष्कार केन्द्रले नेपालको माटो सुहाउँदो विभिन्न अध्ययन, अनुसन्धान र विकासमा काम गरिरहेको छ । 

जसलाई सरकारले पटक पटक असहयोग गर्‍यो, आज उसैले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँक्ने जिम्मेवारी पाएको छ । सरकारले असहयोग गरेपनि केन्द्रले भने सरकारलाई सहयोग गरिरहेको छ ।

कोरोना महामारीको समयमा आविष्कार केन्द्रले सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग गरेको थियो । विभिन्न अस्पतालका बिग्रिएका उपकरण बनाइदिएको छ । सरकारकै प्रस्तावमा कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिएको थियो । 

मन्त्रालयमै बस्ने, आफै खाना पकाउने

गत भदौ २३ र २४ गते जेनजी आन्दोलबाट सत्ताप्लट भएर सुशील कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । त्यही सरकारमा पुन शिक्षा, विज्ञान तथा प्रविधि भएका हुन् । सरल जीवनशैली मनपराउने उनलाई मन्त्री बन्न रहर थिएन । तर बाध्यताबस मन्त्री भएको उनको भनाइ छ ।

महावीर पुनले आफुलाई मन्त्री क्वाटर नचाहिने र मन्त्रालयमै बस्ने बताएका छन् । ‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस् । यहीँ बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु,’ उनले भने । 

मन्त्री हुनुभन्दा अगाडि पुन राष्ट्रिय आविष्कार केन्द्रको कार्यालयमै बस्दै आएका थिए । मन्त्री हुने भएपछि उनले शुक्रबार नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिएका थिए । 

फोटो: नेपाल फोटो लाइब्रेरी

उनले सुरक्षाकर्मीलाई समेत मन्त्रालयमै बस्न आग्रह गरेका छन् । आफु मन्त्रालयमै बस्ने आफु निस्कदा पछिपछि आउनु नपर्ने बताएका थिए । 

सरकारी गाडी औपचारिक कामका लागि मात्र प्रयोग गर्ने समेत उनले घोषणा गरेका थिए । कार्यालयको काम बाहेक अन्य काममा गाडी प्रयोग नगर्ने उनले स्पष्ट पारे । 

पुनले आफुलाई मन्त्री नभन्न र भन्नै परे ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन् । उनको थप आग्रह छ - कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने ठोस काम र आइडिया पठाउनु होला । 

यो अन्तरिम सरकारले भएकाले पुनले ५ महिनामा गर्न सकिने काम र आईडियाको बारेमा जानकारी दिन अनुरोध गरेका हुन् । किनकी, आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन भएपछि सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

किताब नदेख्ने बालकदेखि आविष्कारकसम्म

विसं. २०११ सालमा म्याग्दीको राम्चेको सामान्य परिवारमा जन्मिएका पुन नेपालले एउटा गर्व गर्न लायक नाम हो । 

गाउँको विद्यालयमा पढ्‌दा उनले कहिल्यै किताब देख्न पाएनन्, न त चप्पल नै लाउन पाए । यी दुई कुरा नै काफी हुन्छन्, जसले महावीर पुनको बाल्यकाल कति कष्टदायक थियो भनेर बुझ्न । त्यस्तो पृष्ठभूमिबाट आएको एउटा सामान्य केटो आज मन्त्री हुन सफल भएको छ । त्यस बाहेक नेपालको सूचना प्रविधि क्षेत्रको प्रेरणादायी नाम बनेको छ । 

चितवनमा परिवारले बसाइ सरेपछि मात्रै उनले किताब देखेका थिए भने चप्पल लगाउन पाएका थिए । एसएलसीपछि काठमाडौं आएर अमृत साइन्स कलेजबाट आईएससी सकाए । आईएससी सकाएपछि १२ वर्षसम्म महावीरले पढाउने काम गरे । तर, एसएलसीको परिक्षामा गार्ड बस्दा निरीक्षकको गाली सहन नसकेर पढाउनै छोडिदिए । 

कसैको दबाब वा निर्देशनमा काम गर्न मन नपराउने उनको स्वभाव थियो । बरु आफ्नै सोचलाई सफल बनाउन आफैद्वारा निर्धारित काममा होमिन थाले । पछि छात्रवृत्ति पाएपछि बल्ल उनी उच्च शिक्षाका लागि सन् १९८९ मा अमेरिका जान सके ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातक गरेर सन् १९९२ तिर पुनः आफ्‌नो गाउँ फर्किए । पछि उनले त्यही विश्वविद्यालयबाट स्नातकोत्तर गरे । उनले सन् १९९३ तिर गाउँमै माध्यमिक विद्यालय खोले । यसको करिब तीन वर्षपछि पुनः अमेरिका गएर उनले गाउँका बारेमा इन्टरनेटमा वेबसाइट बनाए । त्यसताका नेपालमा मर्कन्टाइलबाहेक कसैको वेबसाइट थिएन । उनले बनाएको वेबसाइटका कारण उनको गाउँमा विदेशी स्वयंसेवकहरु घुम्न र काम गर्न आउन थाले ।

उनले गाउँ नै छेक्ने पहाडलाई इन्टरनेटको जालोले जोड्ने पहिलो प्रयास सुरु गरे । कहाँ त्यति सजिलो थियो र त्यो काम ! मनग्गे पैसा भएका इन्टरनेट कम्पनी पुग्न नसकिरहेको त्यो गाउँमा अमेरिकामा रहेका आफन्तको केही आर्थिक सहयोगबाट हजारौ बालबालिकामाझ कम्प्युटर शिक्षाको ज्योति फैलाउन थाले, उनले । यसका लागि हिमान्चल एजुकेशन फाउन्डेशन नामको संस्था खोले ।

इमेल गर्न २ दिन हिँडेर पोखरा पुग्नुपर्ने गाउँमा पुनले गाउँमै इन्टरनेट र वेबसाइटको जालो फैलाउँदै च्यांग्रा बेच्ने, सामान विक्रीको जानकारी र सूचना अनलाइनमार्फत सुरु गरेर गाउँको मुहार फेर्ने प्रयास गरे । तर त्यतिबेला नेपालमा वाइफाई उपकरण प्रतिबन्धित थियो, कतै पाइँदैनथ्यो ।

त्यसताका पाइने वाइफाई उपकरण त्यति बलियो नभएर घरभित्र मात्र चल्ने खालका थिए । उनको खोजी ‘लङ रेन्ज’मा चल्नेको थियो । करिब डेढ वर्षसम्म उनी ‘लङ रेन्ज’मा कसरी इन्टरनेट पुर्‍याउने भन्ने प्रयोगमा लागे । यसअन्तर्गत विभिन्न लिंक बनाएर, विभिन्न प्रकारको एन्टेनाको मोडेल विकास गरेर आफ्‌नो लक्ष्य प्राप्त गर्ने प्रयासमा लागे ।

उनको यो प्रयासबारे टेलिकमका इन्जिनियरहरूले पत्याएनन् । उनको यो अभियान म्याग्दी हुँदै छिमेकी जिल्लाहरुमा विस्तार भयो । स्थानीयवासी र विदेशमा रहेका साथीहरूको सहयोगले उनलाई हौसला बढाउँदै लग्यो । किताब नै नदेख्ने गााउँहरुमा इन्टरनेटको जालो फैलाउँदै उनले नयाँ सम्भावनाको बाटो देखाए । उनको योगदानको उच्च मूल्यांकनस्वरूप सन् २००७ मा म्यागासेसे पुरस्कारबाट सम्मानित भए ।

null

सन २००७ मा एशियाको नोबेल पुरस्कार मानिने म्यगासेसे अवार्ड ग्रहण गर्दै पुन म्यागासेसे पुरस्कार पाउनुअघिसम्म उनलाई सिंहदरबार, काठमाडौं र मिडियाले चिन्दैन्थे । अवार्ड पाएपछि उनको चर्चा यति चुलिँदै गयो कि उनको अभियानले देशविदेशबाट सहयोगी मन पायो । तैपनि नेपाल सरकारले उनको अभियानमा हातेमालो गर्न खासै चासो देखाएन । 

तर, एशिया प्यासिफिक टेलिकम्युनिकेशनबाट २ लाख अमेरिकी डलरबराबरको प्रोजेक्ट पाएका उनले आफ्‌नो अभियान दुई दर्जनभन्दा भढी जिल्लामा विस्तार गरेका छन् । महावीर पुनले गरेको योगदानको मूल्यांकनस्वरूप उनलाई इन्टरनेट सोसाइटीले ‘जोनाथन बी पोष्टल अवार्ड’ प्रदान गरेको थियो । साथै उनले स्थानीयस्तरबाट थुप्रै सम्मान पनि पाए । 

ग्रामीण क्षेत्रमा विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने, हेल्थपोस्ट नभएको ठाउँमा सामुदायिक क्लिनिक सञ्चालन गर्ने, गाउँहरूमा आयआर्जनका काम सुरू गर्ने, ट्रेकिङ रूट सञ्चालन गर्नुका साथै वायरलेसका सञ्जाल बनाएर गाउँगाउँमा इन्टरनेट पुऱ्याउने र इन्टरनेटमार्फत् स्थानीय बासिन्दालाई सूचना प्रविधिसँग परिचित गराउने काम पुनले नै गरेका थिए । 

पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर पुनले नेपालको माटो सुहाउँदो अनुसन्धान, आविष्कार र इन्नोभेसनमा तल्लिन रहेका छन् । नेपालमै केही गर्न चाहने युवाहरूलाई भरपुर साथ र सहयोग दिइरहेका छन् । 

सरकारले असहयोग गरे पनि, आज पुन उही सरकारभित्र बसेर देशलाई सहयोग गर्ने अवसर पाएका छन् । पाँच महिनामा के के गर्न सक्छन् ? भन्नेमा अब सबको नजर उनै मन्त्री पुनतिर छ ।