कीवर्डहरू -

टिकटकको नयाँ फिचर ‘नियरबाइ फिड’, आफु वरपरका गतिविधि र स्थानिय सामग्री एकै ठाउँमा

टिकटकको नयाँ फिचर ‘नियरबाइ फिड’, आफु वरपरका गतिविधि र स्थानिय सामग्री एकै ठाउँमा

टिकटकले प्रयोगकर्ताहरूले आफ्नो वरपर के–कस्ता गतिविधि भइरहेको छ भनेर सहजै पत्ता लगाउन सक्ने नयाँ सुविधा ‘Nearby Feed’ सार्वजनिक गरेको छ। 

यस सुविधामार्फत प्रयोगकर्ताले घर नजिकैको नयाँ रेस्टुरेन्ट भेट्टाउन, यात्राको क्रममा घुम्नुपर्ने स्थान छान्न, स्थानीय कार्यक्रमहरू हेर्नजस्ता गतिविधि सजिलै गर्न सक्छन्। अहिले यो फिड युके, फ्रान्स, इटाली र जर्मनीमा रोलआउट भइरहेको कम्पनीले जनाएको छ।

टिकटकले सन् २०२२ मै दक्षिण–पूर्वी एसियाका सीमित प्रयोगकर्तामध्ये यो सुविधा परीक्षण स्वरूप सञ्चालन गरेको थियो।

कम्पनीको भनाइ अनुसार नियरबाइ फिडमा देखिने पोस्टहरू प्रयोगकर्ताको स्थान, विषयवस्तु र सामग्री पोस्ट गरिएको समयका आधारमा तय हुन्छन्। 

यात्रासम्बन्धी सामग्री, स्थानीय कार्यक्रम, खानेकुरा, सेवाहरूलगायतका विषयमा रुचि राख्ने प्रयोगकर्ताहरूले आफू नजिकैका सामग्रीहरू सहजै हेर्न सक्छन्। 

क्रिएटरका सार्वजनिक पोस्टहरू पनि उनीहरूले पोस्ट गरेको स्थान वा ट्याग गरिएको स्थानअनुसार स्थानीय प्रयोगकर्तासम्म पुग्नेछन्।

टिकटकले स्थान साझेदारी (location sharing) वैकल्पिक रहेको र यो सुविधा १८ वर्षभन्दा माथिका प्रयोगकर्तामात्र उपलब्ध हुने स्पष्ट गरेको छ। 

स्थान सुविधा सक्रिय गरेपछि एप चलिरहेको बेला टिकटकले उपकरणको GPS–आधारित लोकेसन प्रयोग गर्न सक्छ। आइओएस प्रयोगकर्तालाई लोकेसन एक्सेस भइरहेको बेला स्क्रीनमा संकेत पनि देखिनेछ।

टिकटकले स्थानीय कानुनअनुसार नै लोकेसन डेटाको प्रयोग गर्ने बताएको छ। १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता, निजी खाता भएका वा ‘Friends’ वा ‘Only You’ प्राइभेसी सेटिङ राखिएका पोस्टहरू नियरबाइ फिडमा देखिने छैनन्।

यदि प्रयोगकर्ताले अन्य स्थानको नियरबाइ सामग्री हेर्न चाहे, लोकेसन नाम थिचेर सजिलै परिवर्तन गर्न सकिनेछ। यात्राको क्रममा वा यात्रा योजनाका लागि पनि यो सुविधा उपयोगी हुने टिकटोकको दाबी छ। 

कम्पनीका अनुसार नियरबाइ फिडले साना व्यवसाय, सांस्कृतिक संस्थान र स्थानीय क्रिएटरको दृश्यता बढाउँदै स्थानीय अर्थतन्त्रलाई सहयोग गर्नेछ। टिटोकका ४६ प्रतिशत युके प्रयोगकर्ताले प्लेटफर्ममा देखेका स्थानीय पसल, रेस्टुरेन्ट वा आकर्षण स्थल भ्रमण गरेको तथ्य पनि कम्पनीले उल्लेख गरेको छ।

पहिले नै शक्तिशाली व्यक्तिगत अनुशंसा प्रणालीका लागि चर्चित टिकटकले नियरबाइ फिडमार्फत अझै थप सान्दर्भिक र स्थानीयकरण भएको सामग्री प्रयोगकर्तासम्म पु्याउने लक्ष्य राखेको छ।

यो फिड टिकटकको होमस्क्रिनबाटै पहुँचयोग्य हुन्छ, जहाँ ट्याबमा ‘Nearby’ नभई प्रयोगकर्ता भएको स्थानको नाम नै देखिन्छ।

टिकटकले यो सुविधा अन्य देशमा कहिले ल्याउने हो भन्नेबारे भने अझै स्पष्ट जानकारी दिएको छैन।