सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग विश्वव्यापी साझेदारी गरेको छ। यस सम्झौताअनुसार टिकटक फिफाको इतिहासमै प्रथम रुचाइएको (Preferred) प्लेटफर्म बन्नेछ।
साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल कभरेज विस्तार गरिनेछ भने समर्थकहरूका लागि बिहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन्।
सन् २०२६ को अन्त्यसम्म कायम रहने यो सहकार्यले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ चरणको सुरुवात गरेको जनाइएको छ। टिकटकले लाइभ खेल प्रसारणका साथै समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ।
यस साझेदारीले टिकटकलाई मौलिक सामग्री उत्पादन बढाउन र फिफा विश्वकप २०२६ को अझ व्यापक तथा गहिरो कभरेज गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताभर टिकटक समर्थक र क्रिएटरहरूका लागि मुख्य डिजिटल गन्तव्यका रूपमा स्थापित हुँदै समुदाय–आधारित र सहभागितामूलक फुटबल अनुभव प्रदान गर्ने जनाइएको छ।
यो सहकार्य फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल साझेदारीको निरन्तरता हो। सो अवधिमा फिफासम्बन्धी सामग्रीले विश्वभर दशौँ अर्ब भ्युज प्राप्त गर्दै खेल सामग्री उपभोगमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई स्पष्ट पारेको थियो।
टिकटक गेमप्लानमार्फत इमर्शिभ वर्ल्डकप हब
रुचाइएको प्लेटफर्म साझेदारीको केन्द्रमा टिकटकको इमर्शिभ फिफा विश्वकप २०२६ हब रहनेछ। टिकटक गेमप्लानद्वारा सञ्चालित यस हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुने विश्वकपका रोचक सामग्री, खेल टिकट तथा प्रसारणसम्बन्धी जानकारी, साथै कस्टम स्टिकर, फिल्टर र गेमिफिकेसनजस्ता सहभागितामूलक सुविधाहरू प्राप्त गर्नेछन्।
फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले भने, “फिफाको उद्देश्य फिफा विश्वकप २०२६ को उत्साह सम्भव भएसम्म धेरै समर्थकहरूसम्म पुर्याउनु हो। प्रतियोगिताको प्रथम रुचाइएको प्लेटफर्मका रूपमा टिकटकलाई चयन गर्नु यस लक्ष्यतर्फको महत्वपूर्ण कदम हो। यस सहकार्यले विश्वभरका समर्थकहरूलाई फिफा विश्वकपसँग अभूतपूर्व रूपमा जोड्नेछ।”
टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले पछिल्ला वर्षहरूमा टिकटकमा फुटबल सामग्रीको लोकप्रियता तीव्र रूपमा बढेको उल्लेख गर्दै भने, “फिफाको प्रथम रुचाइएको प्लेटफर्म बन्न पाउँदा हामी उत्साहित छौँ। यसमार्फत समर्थकहरूले ९० मिनेटको खेलभन्दा बाहिरका विशेष कन्टेन्ट र क्रिएटर–आधारित पहुँचमार्फत फिफा विश्वकप २०२६ लाई नयाँ ढङ्गले अनुभव गर्न सक्नेछन्।”
विश्वव्यापी क्रिएटर कार्यक्रम पनि सुरु
यस सहकार्यअन्तर्गत टिकटक र फिफाले पहिलो पटक व्यवस्थित विश्वव्यापी क्रिएटर कार्यक्रमसमेत सञ्चालन गर्ने भएका छन्। छनोट भएका क्रिएटरहरूले प्रेस कन्फरेन्स, प्रशिक्षण सत्रलगायत बिहाइन्ड–द–सीन गतिविधिमा पहुँच पाउनेछन्।
साथै, ठूलो सङ्ख्याका क्रिएटरहरूले फिफाका ऐतिहासिक फुटेज प्रयोग गरी को–क्रियसन गर्ने अवसर पाउनेछन्, जसबाट समर्थकहरूले विश्वकपलाई नयाँ र फरक दृष्टिकोणबाट हेर्न पाउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार