काठमाडौं । नेपालमा सूचना प्रविधिको विकाससँगै स्थानीय आवश्यकता र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न डिजिटल उत्पादन निर्माण भइरहेका छन् । स्वास्थ्य सेवा, कानुनी अनुसन्धान, वित्तीय पहुँच, पर्यटन, मानव संसाधन व्यवस्थापनदेखि नेपाली भाषामा डिजिटल लेखनसम्मका क्षेत्रमा नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकहरूले नयाँ समाधान विकास गरिरहेका छन् ।
यही नवीनता र सम्भावनालाई समेट्दै आइसिटी अवार्ड २०२६ को उत्पादन विधामा १५ वटा उत्पादन सेमिफाइनलका लागि छनोट भएका छन् । छनोट भएका उत्पादनले परम्परागत कार्यप्रणालीलाई डिजिटल बनाउने, सेवाको पहुँच सहज बनाउने, समय र लागत घटाउने तथा प्रयोगकर्तालाई व्यवस्थित सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन् ।
स्वास्थ्य सेवामा परिवार र हेरचाहकर्ताबीचको समन्वयदेखि जलवायु सम्बन्धी सूचनालाई दैनिक निर्णयसँग जोड्नेसम्मका फरक-फरक आवश्यकता सम्बोधन गर्ने यी उत्पादन नेपाली प्रविधि क्षेत्रको विविधता र सम्भावनाका प्रतिनिधि हुन् ।

१. आशिर्वाद केयर : विदेशमा रहेका परिवारलाई नेपालमा आफ्ना ज्येष्ठ नागरिकको हेरचाहसँग जोड्ने डिजिटल माध्यम
विदेशमा बसोबास गर्ने नेपाली परिवारका लागि नेपालमा रहेका आफ्ना ज्येष्ठ नागरिकको स्वास्थ्य र दैनिक हेरचाहको अवस्था निरन्तर जानकारीमा राख्नु चुनौतीपूर्ण हुन सक्छ । परिवारका सदस्य टाढा हुँदा घरमा उपलब्ध हेरचाह सेवाको गुणस्तर, नियमितता र विश्वसनीयताबारे जानकारी पाउन कठिन हुने अवस्थालाई समाधान गर्ने उद्देश्यले आशिर्वाद केयरले डिजिटल पारिवारिक हेरचाह सेवा सञ्चालन गरिरहेको छ ।
आशिर्वाद केयरले नेपाली परिवारलाई तालिम प्राप्त तथा पृष्ठभूमि जाँच गरिएका हेरचाहकर्ता र नर्ससँग जोड्छ । चिकित्सकको निगरानीमा तयार गरिएका हेरचाह योजनाअनुसार सेवा प्रदान गर्ने यस प्ल्याटफर्मले विशेष गरी विदेशमा रहेका र नेपालमा ज्येष्ठ अभिभावक भएका परिवारलाई लक्षित गरेको छ । यसमार्फत ज्येष्ठ नागरिकको हेरचाहसँगै घरमै उपलब्ध गराइने नर्सिङ सेवा पनि व्यवस्थित गर्न सकिन्छ ।
यसको एन्ड्रोइड र आईओएस अनुप्रयोग तथा वेब ड्यासबोर्डमार्फत परिवारका सदस्यले हेरचाहसम्बन्धी गतिविधिको जानकारी प्राप्त गर्न सक्छन् । हेरचाहकर्ताको काममा पारदर्शिता कायम गर्न जीपीएसमार्फत उनीहरूको कार्यसमय र उपस्थितिको प्रमाणीकरण गरिन्छ ।
त्यस्तै, बिरामीको रक्तचाप, तापक्रमलगायत जीवनका महत्त्वपूर्ण स्वास्थ्य सूचक, औषधि सेवन र दैनिक हेरचाहका गतिविधि डिजिटल अभिलेखमा राखिन्छन् । परिवारका अधिकार प्राप्त सदस्यले टाढैबाट यी विवरण हेर्न सक्ने भएकाले हेरचाहको अवस्थाबारे जानकारी लिन सहज हुन्छ ।
परिवार, हेरचाहकर्ता, नर्स तथा स्वास्थ्यकर्मीबीच आवश्यक सूचना र समन्वयलाई एउटै प्रणालीमा जोड्नु आशिर्वाद केयरको मुख्य विशेषता हो । यसले हेरचाह सेवालाई केवल व्यक्तिगत विश्वासमा निर्भर नराखी अभिलेख, निगरानी र जवाफदेहितासहित व्यवस्थित बनाउने प्रयास गरेको छ ।
विशेष गरी विदेशमा रहेका नेपाली परिवारलाई नेपालमा आफ्ना अभिभावकको हेरचाहमा प्रत्यक्ष रूपमा जोड्ने यसको अवधारणा डिजिटल स्वास्थ्य सेवाको एउटा उपयोगी अभ्यासका रूपमा देखिन्छ ।
२. बाइटआउट : ग्राहकलाई रेस्टुरेन्टका आकर्षक अफर र व्यवसायलाई ग्राहकको प्रतिक्रिया जोड्ने प्ल्याटफर्म
कुनै नयाँ रेस्टुरेन्टमा जानुअघि ग्राहकले त्यहाँको खाना, सेवा र मूल्यबारे जानकारी खोज्ने गर्छन् । अर्कोतर्फ, रेस्टुरेन्ट सञ्चालकले ग्राहक आकर्षित गर्न विभिन्न छुट तथा अफर सार्वजनिक गरेपनि त्यस्ता अफरले वास्तविक बिक्रीमा कति प्रभाव पार्यो भन्ने जानकारी पाउन कठिन हुन्छ । ग्राहक र रेस्टुरेन्ट दुवै पक्षका यिनै समस्या सम्बोधन गर्ने उद्देश्यले बाइटआउट विकास गरिएको हो ।
बाइटआउट दुई पक्षलाई जोड्ने डिजिटल प्ल्याटफर्म हो । यसको मोबाइल अनुप्रयोगमार्फत ग्राहकले आफ्नो वरपर रहेका रेस्टुरेन्ट खोज्न, उपलब्ध अफर हेर्न र आफूलाई मन परेको अफर छनोट गर्न सक्छन् । अफर छनोट गरेपछि ग्राहकले रेस्टुरेन्टमा पुगेर कर्मचारीको उपस्थितिमा मोबाइलमा स्वाइप गरी त्यसलाई प्रयोग गर्न सक्छन् । यसले ग्राहकलाई विभिन्न रेस्टुरेन्टका अफर एकै ठाउँमा हेर्ने र सहज रूपमा उपयोग गर्ने सुविधा दिन्छ ।
यसको अर्को पक्ष रेस्टुरेन्ट सञ्चालकका लागि तयार गरिएको साझेदार पोर्टल हो । यसमार्फत रेस्टुरेन्टले आफैँले छुट तथा अफर निर्धारण गर्न, मेनु अपलोड गर्न, कर्मचारीलाई प्रणाली प्रयोग गर्न सिकाउन र प्रयोग भएका अफरको विवरण हेर्न सक्छन् । साथै, आफ्नो व्यवसायको प्रचारका लागि विज्ञापन समेत सञ्चालन गर्न सक्छन् । यसरी ग्राहकले छुट प्राप्त गर्ने माध्यम मात्र नभई रेस्टुरेन्टले आफ्नो व्यवसाय व्यवस्थापन र प्रचारमा प्रयोग गर्न सक्ने साधनका रूपमा पनि बाइटआउटले काम गर्छ ।
मे २०२६ मा सेवा सुरु गरेपछि बाइटआउटले ३ हजार १०० भन्दा बढी प्रयोगकर्तालाई सेवा दिइसकेको छ । यसमा ८८ वटा रेस्टुरेन्टका अफर तथा विवरण प्रकाशित भएका छन् । ग्राहकलाई नयाँ रेस्टुरेन्ट चिन्ने र उपयुक्त अफर प्रयोग गर्ने अवसर दिनुका साथै रेस्टुरेन्टलाई आफ्ना प्रचारात्मक गतिविधिको प्रभाव बुझ्न सहयोग गर्नु यसको मुख्य उद्देश्य हो । ग्राहकको छनोट र व्यवसायको बजार रणनीतिबीच डिजिटल सम्बन्ध स्थापित गर्ने बाइटआउटले नेपालको खाद्य तथा आतिथ्य व्यवसायमा नयाँ सम्भावना प्रस्तुत गरेको छ ।
३. सेन्ट्रोनिक्स : विभिन्न स्थानका सुरक्षा प्रणाली एउटै निगरानी केन्द्रमा
बैंक, अस्पताल, सरकारी कार्यालय, विद्यालय, गोदाम तथा व्यावसायिक प्रतिष्ठानमा सुरक्षा व्यवस्थाका लागि आगलागी र अनधिकृत प्रवेशसम्बन्धी अलार्म प्रणाली जडान गरिएका हुन्छन् । तर विभिन्न स्थानमा जडित यस्ता प्रणाली छुट्टाछुट्टै सञ्चालन हुँदा घटनाको जानकारी समयमै प्राप्त गर्ने, त्यसको अभिलेख राख्ने र आवश्यक प्रतिक्रिया समन्वय गर्ने काम चुनौतीपूर्ण हुन सक्छ । यही समस्यालाई सम्बोधन गर्न सेन्ट्रोनिक्सले केन्द्रीय निगरानी प्रणाली विकास गरेको छ ।
सेन्ट्रोनिक्सले एउटै प्रणालीमार्फत विभिन्न भवन तथा परिसरमा जडान गरिएका सुरक्षा अलार्मको निगरानी गर्न सुविधा दिन्छ । सम्बन्धित संस्थाकै परिसरमा जडान गरिने यसको सर्भरले विभिन्न स्थानबाट आउने अलर्ट प्राप्त गर्छ । कुनै स्थानमा अनधिकृत प्रवेशको प्रयास, आगलागी, उपकरणमा छेडछाड, प्रणालीमा खराबी वा विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्था आएमा त्यसको सूचना निगरानी केन्द्रमा पुग्छ ।
प्रत्येक घटनाको विवरण सम्बन्धित स्थान, क्षेत्र र समयसहित अभिलेखमा राखिन्छ । यसले सुरक्षा प्रणालीबाट प्राप्त सूचनालाई व्यवस्थित रूपमा हेर्न र कुन स्थानमा कस्तो घटना भएको थियो भन्ने विवरण पछिसम्म सुरक्षित राख्न सहयोग गर्छ । विभिन्न शाखा तथा कार्यालय भएका संस्थाले आफ्नो सुरक्षा अवस्थाबारे एउटै केन्द्रबाट जानकारी लिन सक्ने भएकाले निगरानी र प्रतिक्रिया प्रक्रियालाई समन्वित बनाउन सकिन्छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, अस्पताल, विद्यालय, गोदाम र विभिन्न स्थानमा शाखा सञ्चालन गर्ने खुद्रा व्यवसाय सेन्ट्रोनिक्सका लक्षित प्रयोगकर्ता हुन् । यसले छुट्टाछुट्टै सञ्चालन भइरहेका अलार्म प्रणालीलाई एउटै निगरानी संरचनामा ल्याएर सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
घटनाको समय, स्थान र प्रकृतिसहित डिजिटल अभिलेख उपलब्ध हुने भएकाले संस्थाले सुरक्षा गतिविधिको समीक्षा तथा आवश्यक अनुगमन गर्न पनि सक्छन् । परम्परागत अलार्म प्रणालीलाई केन्द्रीकृत निगरानी र जवाफदेहितासँग जोड्नु सेन्ट्रोनिक्सको प्रमुख विशेषता हो ।
४. दन्त मेड : चिकित्सक र बिरामीबीचको संवादलाई डिजिटल स्वास्थ्य अभिलेखमा बदल्ने एआई प्रविधि
अस्पतालमा बिरामीको जाँच र परामर्श गर्दा चिकित्सकले बिरामीसँग गरेको संवादलाई व्यवस्थित रूपमा अभिलेख राख्नुपर्ने हुन्छ । तर परामर्शका क्रममा भएका कुराकानीलाई आफैँ टिपोट गर्ने र त्यसलाई स्वास्थ्य प्रणालीमा प्रविष्ट गर्ने काम समय लाग्ने प्रक्रिया हो । यसले चिकित्सकको कार्यभार बढाउनुका साथै बिरामीसँग प्रत्यक्ष संवादमा बिताउने समय समेत प्रभावित गर्न सक्छ । यस समस्यालाई सम्बोधन गर्न दन्त मेडले एआईमा आधारित क्लिनिकल अभिलेखीकरण समाधान विकास गरेको छ ।
दन्त मेडले चिकित्सक र बिरामीबीच हुने कुराकानीलाई सुनेर त्यसलाई व्यवस्थित स्वास्थ्य विवरणमा रूपान्तरण गर्छ । अङ्ग्रेजी, नेपाली वा दुवै भाषा मिसिएको संवादलाई प्रशोधन गरी यसले एसओएपी ढाँचामा क्लिनिकल नोट तयार पार्छ । एसओएपी ढाँचामा बिरामीले बताएका समस्या, चिकित्सकले गरेको अवलोकन, सम्भावित मूल्याङ्कन तथा उपचार योजना जस्ता विवरणलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित गरिन्छ ।
यसरी तयार भएको विवरण अस्पतालमा पहिलेदेखि प्रयोग भइरहेका ईएमआर तथा एचएमएस प्रणालीमा सिधै समावेश गर्न सकिन्छ । त्यसका लागि अस्पतालले आफ्नो अभिलेख प्रणाली परिवर्तन गर्नुपर्ने वा छुट्टै प्रणालीबाट सबै विवरण व्यवस्थापन गर्नुपर्ने अवस्था कम हुन्छ । चिकित्सकले परामर्शपछि म्यानुअल रूपमा लामो विवरण टाइप गर्नुपर्ने काम घट्ने भएकाले स्वास्थ्य अभिलेख तयार गर्ने प्रक्रिया छिटो र व्यवस्थित बनाउन यसले सहयोग पुर्याउँछ ।
दन्त मेडको अर्को महत्त्वपूर्ण पक्ष बिरामीको तथ्याङ्क सुरक्षासँग सम्बन्धित छ । यो अस्पतालकै स्वामित्व र नियन्त्रणमा रहेको सर्भरमा जडान गर्न मिल्ने गरी तयार गरिएको छ । यसले बिरामीका स्वास्थ्य विवरण अस्पतालको आफ्नै सञ्जालभित्रै राख्न सहयोग गर्छ ।
संवेदनशील स्वास्थ्य जानकारीको सुरक्षा र गोपनीयतालाई महत्त्व दिँदै चिकित्सकीय कार्यप्रवाहलाई सहज बनाउने यसको अवधारणा अस्पतालका लागि उपयोगी हुन सक्छ । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा हुने संवादलाई बुझेर त्यसलाई डिजिटल स्वास्थ्य अभिलेखमा रूपान्तरण गर्ने दन्त मेडले स्वास्थ्य सेवामा एआईको व्यावहारिक प्रयोग प्रस्तुत गरेको छ ।
५. एक्साना : नेपाली कानुनी क्षेत्रका लागि एआईमा आधारित डिजिटल अनुसन्धान प्रणाली
कानुनी अनुसन्धानका क्रममा वकिल, कानुनका विद्यार्थी तथा न्यायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले विभिन्न अदालतका फैसला, कानुन, सरकारी राजपत्र र सूचनाहरू अध्ययन गर्नुपर्ने हुन्छ । आवश्यक कानुनी कागजात छरिएर रहेका अवस्थामा उपयुक्त फैसला वा कानुनी व्यवस्था खोज्न लामो समय लाग्न सक्छ । यस्तो प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले एक्साना विकास गरिएको हो ।
एक्साना नेपालको कानुनी क्षेत्रलाई लक्षित गरी तयार गरिएको एआईमा आधारित कानुनी अनुसन्धान प्ल्याटफर्म हो । यसमा सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत तथा विभिन्न न्यायाधिकरणका ६ लाख ५० हजारभन्दा बढी फैसलाको तथ्याङ्क समावेश गरिएको छ । ठूलो सङ्ख्यामा रहेका फैसलालाई डिजिटल रूपमा व्यवस्थित गरी खोज्न सकिने बनाइएकाले कानुनी विषयअनुसार आवश्यक नजिर तथा फैसला पत्ता लगाउन प्रयोगकर्तालाई सहज हुन्छ ।
यसमा एआईको सहयोगबाट मुद्दाको सारांश तयार गर्ने सुविधा उपलब्ध छv। प्रयोगकर्ताले लामो फैसला पूरा अध्ययन गर्नुअघि त्यसको मुख्य विषय, विवाद र अदालतको निर्णयबारे सङ्क्षिप्त जानकारी प्राप्त गर्न सक्छन् । त्यस्तै, नेपाली कानुनबारे संवादात्मक रूपमा प्रश्न सोधेर जानकारी लिन सकिने सुविधा पनि यसमा समावेश छ । सरकारी राजपत्र तथा मन्त्रालयका कानुनी सूचनाहरू खोज्न सकिने व्यवस्था र मुद्दाको सुनुवाइ व्यवस्थापन गर्ने प्रणालीले यसलाई सामान्य कानुनी दस्तावेज खोज्ने माध्यमभन्दा फराकिलो बनाएको छ ।
कानुनका विद्यार्थी, अधिवक्ता, कानुन व्यवसायी, सरकारी वकिल, न्यायिक निकाय तथा कानुन निर्माणमा संलग्न व्यक्तिहरू एक्सानाका लक्षित प्रयोगकर्ता हुन् । यसले छरिएर रहेका कानुनी स्रोतलाई एउटै डिजिटल प्रणालीमा जोड्दै अनुसन्धान प्रक्रियालाई छिटो, व्यवस्थित र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । ठूलो सङ्ख्यामा रहेका अदालती फैसलालाई खोज्न र बुझ्न सहज बनाउने यसको प्रयासले नेपालको कानुनी क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने सम्भावना बोकेको छ ।
६. आईएमएस डिजिटल लेन्डिङ : साना तथा मझौला व्यवसायलाई औपचारिक वित्तीय पहुँचसँग जोड्ने प्रणाली
नेपालमा साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने उद्यमीका लागि आवश्यक कर्जा प्राप्त गर्नु अझै पनि चुनौतीपूर्ण हुन सक्छ । बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि आवेदन दिँदा आवश्यक कागजात जुटाउने, व्यवसायको विवरण बुझाउने र विभिन्न चरण पूरा गर्ने प्रक्रियामा समय लाग्छ । अर्कोतर्फ, वित्तीय संस्थालाई पनि व्यवसायको वास्तविक अवस्था बुझ्न र कर्जा मूल्याङ्कन गर्न व्यवस्थित विवरण आवश्यक पर्छ । यही प्रक्रियालाई डिजिटल बनाउने उद्देश्यले आईएमएस डिजिटल लेन्डिङ सञ्चालनमा ल्याइएको हो ।
आईएमएस डिजिटल लेन्डिङले साना तथा मझौला उद्यमलाई वित्तीय संस्थासँग जोड्ने डिजिटल वित्तीय प्ल्याटफर्मका रूपमा काम गर्छ । आईएमएसको व्यावसायिक व्यवस्थापन प्रणालीसँग जोडिएर सञ्चालन हुने यसले व्यवसायलाई आफ्नो वित्तीय आवश्यकताअनुसार डिजिटल माध्यमबाट कर्जाका लागि प्रक्रिया सुरु गर्न सुविधा दिन्छ । व्यवसायले आवश्यक जानकारी संरचित रूपमा तयार गरी सुरक्षित तरिकाले वित्तीय संस्थासँग साझा गर्न सक्छन् ।
परम्परागत रूपमा कर्जा आवेदनका लागि कागजी कागजात तयार गर्ने, विभिन्न विवरण पटक-पटक बुझाउने र म्यानुअल प्रक्रियामा निर्भर रहनुपर्ने अवस्थालाई यसले कम गर्ने लक्ष्य राखेको छ । व्यवसायसम्बन्धी जानकारी डिजिटल रूपमा उपलब्ध हुँदा कर्जा आवेदन र त्यसको मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्छ । यसले व्यवसाय र वित्तीय संस्थाबीच सूचना आदानप्रदानलाई सहज बनाउने अवधारणा अघि सारेको छ ।
खुद्रा व्यापार, वस्तु तथा सामाग्रीको कारोबार, आतिथ्य सेवा र विभिन्न सेवा क्षेत्रमा संलग्न व्यवसाय आईएमएस डिजिटल लेन्डिङका लक्षित प्रयोगकर्ता हुन् । साना तथा मझौला व्यवसायलाई औपचारिक वित्तीय प्रणालीमा पहुँच बढाउन सहयोग गर्नु यसको प्रमुख उद्देश्य हो । विशेष गरी परम्परागत कर्जा प्रक्रियाका कारण वित्तीय सेवा लिन कठिनाइ भोगिरहेका व्यवसायलाई डिजिटल माध्यमबाट वित्तीय संस्थासँग जोड्ने यसको प्रयासले नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउन सक्छ ।
७. आईपी सेवा : नेपाली बौद्धिक सम्पत्ति अभिलेखलाई डिजिटल रूपमा खोज्न सकिने बनाउने पहल
कुनै व्यवसाय वा उद्यमीले नयाँ ब्रान्ड, लोगो वा उत्पादन बजारमा ल्याउनुअघि त्यससँग मिल्दोजुल्दो ट्रेडमार्क पहिलेदेखि दर्ता भएको छ वा छैन भन्ने जानकारी लिनु आवश्यक हुन्छ । तर ट्रेडमार्कसम्बन्धी पुराना बुलेटिन र अभिलेखमा आवश्यक विवरण खोज्ने प्रक्रिया सहज नहुँदा उद्यमी तथा बौद्धिक सम्पत्ति व्यवसायीलाई कठिनाइ हुन सक्छ । यस्तो अवस्थालाई सम्बोधन गर्दै आईपी सेवाले नेपालको ट्रेडमार्कसम्बन्धी विवरणलाई खोज्न सकिने डिजिटल अभिलेखमा रूपान्तरण गरेको छ ।
आईपी सेवाले नेपालका ट्रेडमार्क बुलेटिनलाई डिजिटल रूपमा व्यवस्थित गरी खोज्न मिल्ने रजिस्टर तयार गरेको छ । यसमा ७० हजार ६०८ ट्रेडमार्क, ४७ हजार ३६० लोगो र १०० देशका २७ हजार ८४१ आवेदकसम्बन्धी विवरण समेटिएका छन् । यसबाट व्यवसायी, उद्यमी तथा बौद्धिक सम्पत्तिसम्बन्धी काम गर्ने व्यक्तिले कुनै नाम, चिह्न वा लोगोसँग सम्बन्धित पुराना अभिलेख सजिलै खोज्न सक्छन् ।
यसको विशेषता खोजीबाट प्राप्त नतिजालाई मूल बुलेटिनको सम्बन्धित अंशसँग जोड्नु हो । प्रयोगकर्ताले आफूले हेरेको ट्रेडमार्क विवरणको स्रोत प्रमाणित गर्न त्यसको मूल बुलेटिनबाट काटिएको सम्बन्धित अंश पनि हेर्न सक्छन् । यसले डिजिटल अभिलेखमा उपलब्ध जानकारीलाई मूल दस्तावेजसँग तुलना र प्रमाणीकरण गर्न सहयोग गर्छ ।
आईपी सेवाले ट्रेडमार्क खोजीमा मात्र सीमित नभई उद्योग विभागमार्फत ट्रेडमार्क, पेटेन्ट तथा औद्योगिक डिजाइन दर्ताका लागि आवेदन गर्ने र त्यसको प्रगति पछ्याउने सुविधासमेत उपलब्ध गराउँछ । यसले बौद्धिक सम्पत्ति दर्तासम्बन्धी प्रक्रियालाई डिजिटल र व्यवस्थित बनाउने प्रयास गरेको छ ।
नयाँ व्यवसाय तथा ब्रान्ड निर्माण गरिरहेका उद्यमीका लागि पुराना अभिलेख जाँच्न र आवश्यक आवेदन प्रक्रियाबारे जानकारी लिन सहज हुने भएकाले आईपी सेवा नेपालको बौद्धिक सम्पत्ति व्यवस्थापन प्रणालीलाई प्रविधिसँग जोड्ने महत्त्वपूर्ण पहलका रूपमा रहेको छ ।
८. काठमाडौं साइटसिइङ : प्रविधिको माध्यमबाट पर्यटन र यातायात सेवालाई एकीकृत गर्ने प्ल्याटफर्म
नेपालको सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र पर्यटकीय गन्तव्यको अनुभव लिन आउने पर्यटकका लागि व्यवस्थित यातायात तथा आवश्यक जानकारीको उपलब्धता महत्त्वपूर्ण हुन्छ । तर सहरभित्र घुम्ने सवारी साधन खोज्ने, मूल्यबारे जानकारी लिने, बुकिङ गर्ने र गन्तव्यका विषयमा आवश्यक सूचना प्राप्त गर्ने प्रक्रिया छुट्टाछुट्टै हुँदा पर्यटकलाई असहज हुन सक्छ । पर्यटन यातायातलाई एकीकृत र प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौं साइटसिइङले डिजिटल सेवा सञ्चालन गरिरहेको छ ।
काठमाडौं साइटसिइङ वेब, एन्ड्रोइड र आईओएसमा उपलब्ध स्मार्ट पर्यटन तथा यातायात प्ल्याटफर्म हो । यसले सहर घुमाउने भ्रमण सेवा, सवारी साधन भाडा र विद्युतीय सवारी साधनको प्रयोगमा आधारित यातायात सेवा उपलब्ध गराउँछ । पर्यटकले आवश्यकताअनुसार सवारी साधन बुक गर्न, भ्रमणका विकल्प हेर्न र यात्रासम्बन्धी जानकारी प्राप्त गर्न सक्छन्।
यसको प्रमुख विशेषतामध्ये जीपीएसका आधारमा सञ्चालन हुने बहुभाषिक अडियो गाइड पनि एक हो । पर्यटक कुनै निश्चित स्थानमा पुग्दा त्यस ठाउँको ऐतिहासिक तथा सांस्कृतिक जानकारी अडियोमार्फत सुन्न सक्छन् । यसले पर्यटकलाई गन्तव्यको महत्त्व बुझ्न सहयोग गर्छ ।
त्यस्तै, बसको प्रत्यक्ष अवस्थिति हेर्न सकिने व्यवस्था, तत्काल सवारी बुकिङ, पूर्वनिर्धारित मूल्य र स्वचालित भुक्तानी मिलान प्रणालीले यातायात सेवालाई थप व्यवस्थित बनाउँछन् । यस प्ल्याटफर्मले पर्यटकसँगै भ्रमण सञ्चालक, होटल तथा सवारी साधनका सञ्चालकलाई पनि एउटै प्रणालीमा जोड्छ । होटलसँगको साझेदारी यसको अर्को महत्त्वपूर्ण पक्ष हो । हाल यससँग ३८० भन्दा बढी होटल साझेदार जोडिएका छन् । यसले पर्यटकलाई आवास र यातायात सेवाबीच समन्वय गर्न सहज बनाउनुका साथै होटल तथा सवारी सञ्चालकलाई आफ्नो सेवा सम्भावित ग्राहकसम्म पुर्याउन सहयोग गर्छ । प्रविधि, पर्यटन र वातावरणमैत्री यातायातलाई जोड्दै काठमाडौं साइटसिइङले नेपालको सांस्कृतिक सम्पदाको अनुभवलाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
९. लेख्नुस् : नेपाली भाषामा डिजिटल लेखनलाई सहज र शुद्ध बनाउने प्रविधि
डिजिटल माध्यममा नेपाली भाषाको प्रयोग बढ्दै गएपनि नेपालीमा सहज, छिटो र शुद्ध रूपमा लेख्न आवश्यक पर्ने सबै उपकरण एकै ठाउँमा उपलब्ध छैनन् । नेपाली टाइपिङ, पुरानो फन्टबाट युनिकोडमा रूपान्तरण, हिज्जे परीक्षण र लेखन सुधारका लागि छुट्टाछुट्टै उपकरण प्रयोग गर्नुपर्ने अवस्था अझै छ । नेपाली भाषालाई केन्द्रमा राखेर तयार गरिएको लेख्नुस्ले यही समस्याको समाधान गर्ने प्रयास गरेको छ ।
लेख्नुस् नेपाली भाषामा डिजिटल लेखनलाई सहज बनाउने उद्देश्यले विकास गरिएको लेखन तथा भाषा उत्पादकत्वसम्बन्धी एकीकृत प्रणाली हो । यसले नेपाली टाइपिङ, आवाजमार्फत लेखन, युनिकोड र प्रीति रूपान्तरण तथा हिज्जे परीक्षणजस्ता सुविधा एउटै प्रणालीमा समेटेको छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता र कामको प्रकृतिअनुसार यी सुविधाको प्रयोग गरी नेपाली भाषामा लेख्न सक्छन् ।
यसको अर्को विशेषता विन्डोज प्रणालीभर नेपाली टाइपिङ गर्न सकिने सुविधा हो । कुनै एउटा वेबसाइट वा अनुप्रयोगमा मात्र सीमित नभई कम्प्युटरमा प्रयोग हुने विभिन्न ठाउँमा नेपाली लेखनलाई सहज बनाउने यसको उद्देश्य छ । यसका साथै एआईको सहयोगमा लेखन सुधार तथा सहायक लेखन सुविधा उपलब्ध गराउने भएकाले प्रयोगकर्ताले आफ्नो सामाग्रीलाई थप व्यवस्थित बनाउन सक्छन् ।
विद्यार्थी, लेखक, पत्रकार, सामाग्री निर्माता, विभिन्न पेसामा संलग्न व्यक्ति, संस्था तथा विश्वभर रहेका नेपाली भाषी लेख्नुस्का लक्षित प्रयोगकर्ता हुन् । नेपाली भाषामा भरपर्दो डिजिटल लेखन उपकरणको अभावलाई सम्बोधन गर्दै यसले टाइपिङदेखि सामाग्री तयार पार्ने र भाषा सुधार गर्नेसम्मका कामलाई एउटै प्रणालीमा ल्याएको छ ।
नेपाली भाषालाई डिजिटल प्रविधिमा अझ सहज रूपमा प्रयोग गर्न सकिने बनाउनु यसको मुख्य उद्देश्य हो । नेपाली भाषामै आधारित उपकरण विकास गरेर स्थानीय भाषाको प्रविधिगत प्रयोग विस्तार गर्ने लेख्नुस्को प्रयास विशेष महत्त्वपूर्ण देखिन्छ ।
१०. नेपालएचआरएम : नेपाली कानुनअनुसार कर्मचारी र तलब व्यवस्थापन गर्ने क्लाउड प्रणाली
कुनै पनि संस्थाको नियमित सञ्चालनका लागि कर्मचारी विवरण, हाजिरी, बिदा, तलब र अन्य प्रशासनिक काम व्यवस्थित हुनु आवश्यक हुन्छ । नेपालमा कर्मचारीको तलब गणना गर्दा सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा आयकरसम्बन्धी नियम पनि पालना गर्नुपर्छ । तर धेरै संस्थाले अझै पनि यस्ता विवरण एक्सेलमा राख्ने वा नेपाली कानुनअनुसारको व्यवस्था नभएका विदेशी सफ्टवेयर प्रयोग गर्ने गरेका छन् । यही आवश्यकतालाई सम्बोधन गर्न योध्दा ल्याबले नेपालएचआरएम विकास गरेको हो ।
नेपालएचआरएम नेपाली संस्थाका लागि तयार गरिएको क्लाउडमा आधारित मानव संसाधन तथा तलब व्यवस्थापन प्रणाली हो । यसले कर्मचारीको व्यक्तिगत विवरण राख्नेदेखि हाजिरी, बिदा, तलब गणना, तलब पर्ची, कर्मचारी भर्ना र कार्यसम्पादन मूल्याङ्कनसम्मका काम एउटै प्रणालीमा समेट्छ । यसबाट संस्थाले कर्मचारीसम्बन्धी विभिन्न विवरण छुट्टाछुट्टै फाइल वा प्रणालीमा राख्नुपर्ने आवश्यकता कम गर्न सक्छन् ।
यसको मुख्य विशेषता नेपालको प्रचलित कानुनी तथा वित्तीय व्यवस्थाअनुसार तलब गणना गर्न सकिने सुविधा हो । सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र आयकरसम्बन्धी नियमलाई प्रणालीमै समावेश गरिएको छ । यसले संस्थालाई आवश्यक योगदान तथा करको हिसाब व्यवस्थित गर्न र तोकिएको समयमा भुक्तानी गर्न सहयोग पुर्याउँछ ।
नेपालएचआरएमले संस्थामा पहिलेदेखि प्रयोग भइरहेका जैविक हाजिरी उपकरणबाट समेत कर्मचारीको हाजिरी विवरण लिन सक्छ । यसका अतिरिक्त कर्मचारीले आफ्नै एन्ड्रोइड तथा आईओएस अनुप्रयोगमार्फत आवश्यक विवरण हेर्न सक्ने सुविधा उपलब्ध छ । मानव संसाधन व्यवस्थापक, वित्त टोली, व्यवसाय सञ्चालक तथा कर्मचारी सबैले आ-आफ्नो भूमिकाअनुसार प्रणाली प्रयोग गर्न सक्छन् ।
साना तथा मझौला व्यवसाय, विद्यालय, अस्पताल, उत्पादनमूलक संस्था र गैरसरकारी संस्थालाई लक्षित गरिएको नेपालएचआरएमको अर्को विशेषता १० जनासम्म कर्मचारी भएका संस्थाका लागि सधैँ निःशुल्क उपलब्ध हुनु हो । नेपाली कानुन र संस्थागत आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस प्रणालीले कर्मचारी व्यवस्थापनलाई कम झन्झटिलो, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
११. वनबीएनपीएल : किस्ताबन्दी भुक्तानीलाई डिजिटल र सहज बनाउने वित्तीय सेवा
उपभोक्ताले कुनै महँगो वस्तु वा सेवा खरिद गर्न चाहँदा एकै पटक पूरा रकम भुक्तानी गर्नुपर्ने अवस्था चुनौतीपूर्ण हुन सक्छ । क्रेडिट कार्ड भएका ग्राहकका लागि पनि सबै पसल वा सेवा प्रदायकमा सजिलै किस्ताबन्दी भुक्तानीको सुविधा उपलब्ध नहुन सक्छ । ग्राहक, व्यवसायी र बैंकबीच डिजिटल माध्यमबाट किस्ताबन्दी भुक्तानीलाई सहज बनाउने उद्देश्यले वनबीएनपीएल सञ्चालनमा ल्याइएको हो ।
वनबीएनपीएल डिजिटल रूपमा सञ्चालन हुने अहिले खरिद गर्ने र पछि भुक्तानी गर्ने अवधारणामा आधारित प्ल्याटफर्म हो । यसले क्रेडिट कार्ड भएका ग्राहकलाई यसमा आबद्ध व्यवसाय तथा सेवा प्रदायकबाट खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा लचिलो किस्ताबन्दी योजनामार्फत भुक्तानी गर्ने सुविधा दिन्छ । यसबाट ग्राहकले कुनै वस्तु वा सेवा खरिद गर्दा एकै पटक पूरा रकम भुक्तानी नगरी तोकिएको योजनाअनुसार किस्तामा रकम तिर्न सक्छन् ।
यसको प्रणालीले ग्राहक, व्यवसायी र साझेदार बैंकलाई एउटै डिजिटल संरचनामा जोड्छ । खरिद गर्ने समयमा नै किस्ताबन्दी स्वीकृति र कारोबार प्रक्रिया अगाडि बढाउन सकिने भएकाले ग्राहकले सहज रूपमा भुक्तानी विकल्प प्राप्त गर्न सक्छन् । व्यवसायीका लागि ग्राहकलाई थप भुक्तानी विकल्प उपलब्ध गराउने माध्यमका रूपमा यसले काम गर्छ भने बैंकका लागि डिजिटल किस्ताबन्दी कारोबार सञ्चालन गर्ने व्यवस्थित माध्यम प्रदान गर्छ ।
वनबीएनपीएलका मुख्य प्रयोगकर्ता क्रेडिट कार्डधारक, व्यवसाय तथा सेवा प्रदायक र साझेदार बैंक हुन् । ग्राहकको तत्कालीन आर्थिक क्षमताका कारण महँगा वस्तु तथा सेवा खरिदमा देखिने कठिनाइ कम गर्नु यसको प्रमुख उद्देश्य हो । व्यवसायीलाई बिक्री बढाउन सहयोग गर्ने र बैंकको किस्ताबन्दी सेवाको पहुँचलाई डिजिटल माध्यमबाट विस्तार गर्ने यसको अवधारणाले उपभोक्ता वित्तीय सेवामा नयाँ सम्भावना प्रस्तुत गरेको छ ।
१२. अप्टईआरपी हेल्थकेयर : अस्पताल र प्रजनन स्वास्थ्य केन्द्रको व्यवस्थापन एउटै प्रणालीमा
अस्पताल तथा स्वास्थ्य संस्थाले बिरामी दर्ता, चिकित्सकसँगको भेट, प्रयोगशाला, औषधि, बिलिङ, कर्मचारी र भण्डार व्यवस्थापनजस्ता अनेकौँ काम नियमित रूपमा सञ्चालन गर्नुपर्छ । यी सबै कामका लागि अलग-अलग प्रणाली प्रयोग गर्दा विवरण व्यवस्थापन र विभागहरूबीच समन्वयमा कठिनाइ हुन सक्छ । अस्पतालको चिकित्सकीय तथा प्रशासनिक कार्यप्रवाहलाई एउटै प्रणालीमा एकीकृत गर्ने उद्देश्यले अप्टईआरपी हेल्थकेयर विकास गरिएको हो ।
अप्टईआरपी हेल्थकेयर नेपालमै निर्माण गरिएको क्लाउडमा आधारित स्वास्थ्य सेवा व्यवस्थापन प्रणाली हो । यसले अस्पतालका चिकित्सकीय, प्रशासनिक, वित्तीय तथा सञ्चालनसम्बन्धी कामलाई एउटै डिजिटल प्रणालीमा जोड्छ । बिरामी दर्ता, भेटघाट समय व्यवस्थापन, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला, औषधि पसल, बिलिङ, भण्डार, मानव संसाधन व्यवस्थापन तथा बिरामीका लागि उपलब्ध डिजिटल पोर्टल यसका मुख्य सुविधामा पर्छन् ।
सामान्य अस्पताल व्यवस्थापनका अतिरिक्त यसले प्रजनन स्वास्थ्य केन्द्र र कृत्रिम गर्भाधान तथा निषेचन सेवा प्रदान गर्ने आईभीएफ केन्द्रका लागि विशेष सुविधा पनि समावेश गरेको छ । आईभीएफ उपचारको चरणगत व्यवस्थापन, भ्रूण विज्ञानसम्बन्धी अभिलेख तथा क्रायोप्रिजर्भेसन प्रक्रियालाई डिजिटल रूपमा व्यवस्थापन गर्न सकिने भएकाले प्रजनन उपचार सेवामा संलग्न संस्थाका लागि यो उपयोगी हुन सक्छ ।
हाल अप्टईआरपी हेल्थकेयर एउटा अस्पताल र दुई वटा प्रजनन तथा आईभीएफ केन्द्रमा प्रयोग भइरहेको छ । यस प्रणालीमा २०० भन्दा बढी प्रयोगकर्ता आबद्ध छन् भने करिब १० हजार बिरामीका अभिलेख व्यवस्थापन गरिएका छन् । यसले २० हजारभन्दा बढी भेटघाट तथा चिकित्सकीय सेवा प्रक्रिया समेत अभिलेख गरेको छ ।
स्वास्थ्य संस्थाका विभिन्न विभागबीच सूचना आदानप्रदान सहज बनाउने र प्रशासनिक तथा चिकित्सकीय कामलाई व्यवस्थित गर्ने यसको मुख्य लक्ष्य हो । अस्पतालको आकार र सेवा विस्तारसँगै प्रणालीलाई पनि विस्तार गर्न सकिने गरी तयार गरिएको अप्टईआरपी हेल्थकेयरले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय रूपमा विकसित एकीकृत डिजिटल व्यवस्थापन प्रणालीको सम्भावना देखाएको छ ।
१३. पगोडा ल्याब्स डीएमएस : अटोमोबाइल व्यवसायका सबै गतिविधिलाई एउटै प्रणालीमा जोड्ने समाधान
सवारी साधनको आयात, बिक्री तथा बिक्रीपछिको सेवा व्यवस्थापनमा संलग्न व्यवसायले विभिन्न विभाग र शाखाबाट सञ्चालन हुने धेरै गतिविधि सम्हाल्नुपर्छ । सवारी बिक्री, स्पेयर पार्ट्स, मर्मतसम्भार, गोदाम, ढुवानी, ग्राहक सेवा र लेखा व्यवस्थापनजस्ता काम अलग-अलग प्रणालीबाट सञ्चालन हुँदा आवश्यक विवरण प्राप्त गर्न तथा विभागहरूबीच समन्वय गर्न कठिनाइ हुन सक्छ । अटोमोबाइल व्यवसायका यिनै आवश्यकता सम्बोधन गर्न पगोडा ल्याब्स डीएमएस तयार गरिएको हो ।
पगोडा ल्याब्स डीएमएस अटोमोबाइल व्यवसायका लागि निर्माण गरिएको एकीकृत डिलर व्यवस्थापन प्रणाली हो । यसले सवारी साधनको बिक्रीदेखि स्पेयर पार्ट्सको व्यवस्थापन, मर्मत तथा सेवा, ढुवानी, भण्डार, ग्राहक सम्बन्ध, लेखा र डिलरका दैनिक सञ्चालनसम्बन्धी कामलाई एउटै प्रणालीमा समेट्छ । यसबाट व्यवसायका विभिन्न विभागले आ-आफ्नो कामका लागि अलग्गै सफ्टवेयर प्रयोग गर्नुपर्ने अवस्था कम हुन्छ ।
सवारी साधनका आयातकर्ता, वितरक, डिलर, बिक्री टोली, सेवा केन्द्र, स्पेयर पार्ट्स विभाग, ढुवानी टोली तथा व्यवस्थापन पक्ष यसका लक्षित प्रयोगकर्ता हुन् । एउटै व्यवसायका विभिन्न शाखा तथा विभागमा रहेका विवरणलाई केन्द्रीय प्रणालीमा जोड्ने भएकाले व्यवस्थापन पक्षले समग्र व्यवसायको अवस्था बुझ्न सक्छ । कुन सवारी वा सामाग्रीको मौज्दात कति छ, कुन सेवा सञ्चालन भइरहेको छ र विभिन्न विभागको काम कसरी अघि बढिरहेको छ भन्ने जानकारी एकीकृत रूपमा प्राप्त गर्न सकिन्छ ।
यसले व्यवसायमा छरिएर रहेका गतिविधिलाई एउटै डिजिटल संरचनामा ल्याएर सूचना व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखेको छ । आवश्यक विवरण एउटै प्रणालीमा उपलब्ध हुँदा निर्णय प्रक्रियालाई छिटो र तथ्यमा आधारित बनाउन सहयोग पुग्छ । विशेष प्रकृतिको व्यवसायलाई लक्षित गरी तयार गरिएको पगोडा ल्याब्स डीएमएसले नेपालको अटोमोबाइल क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने सम्भावना बोकेको छ ।
१४. पीडीएफमर्जली : व्यक्तिगत उपकरणमै फाइल प्रशोधन गर्ने ५५ सुविधायुक्त पीडीएफ उपकरण
कार्यालय, शैक्षिक संस्था तथा व्यक्तिगत काममा पीडीएफ फाइलको प्रयोग व्यापक छ । विभिन्न कागजात जोड्ने, रूपान्तरण गर्ने, सम्पादन गर्ने, हस्ताक्षर गर्ने वा गोप्य विवरण हटाउनेजस्ता कामका लागि प्रयोगकर्ताले प्रायः अनलाइन सेवाको सहारा लिनुपर्ने हुन्छ । तर यस्ता सेवामा संवेदनशील कागजात अपलोड गर्नुपर्ने हुँदा तथ्याङ्क गोपनीयता र सुरक्षाको विषय महत्त्वपूर्ण हुन्छ । पीडीएफमर्जलीले कागजातलाई प्रयोगकर्ताकै उपकरणमा प्रशोधन गर्ने अवधारणामार्फत यही समस्यालाई सम्बोधन गरेको छ ।
पीडीएफमर्जली पीडीएफ फाइलसम्बन्धी ५५ वटा उपकरण समेटिएको निःशुल्क डिजिटल सेवा हो । यसको प्रयोगबाट फाइल जोड्ने, विभिन्न ढाँचामा रूपान्तरण गर्ने, सम्पादन गर्ने, डिजिटल हस्ताक्षर गर्ने, गोप्य विवरण हटाउने तथा पासवर्डमार्फत सुरक्षित गर्ने जस्ता काम गर्न सकिन्छ । यसका अतिरिक्त ओसीआर प्रविधिमार्फत कागजातमा रहेका अक्षर पहिचान गर्ने सुविधा पनि उपलब्ध छ ।
यसको मुख्य विशेषता फाइल प्रशोधनका लागि प्रयोगकर्ताको कागजात कुनै सर्भरमा अपलोड गर्नु पर्दैन । फाइल प्रयोगकर्ताकै उपकरणमा प्रशोधन हुने भएकाले व्यक्तिगत, व्यावसायिक वा सरकारी कागजात व्यवस्थापन गर्दा गोपनीयतालाई प्राथमिकता दिन सकिन्छ । यसमा एआईमा आधारित केही सुविधा समेत समावेश छन् । प्रयोगकर्ताले पीडीएफ फाइलको सारांश तयार गर्न, अनुवाद गर्न र त्यसमा भएका विषयबारे प्रश्न सोध्न सक्छन् ।
पीडीएफमर्जली प्रयोग गर्न खाता खोल्नुपर्ने अनिवार्यता छैन । यसले कागजातमा अनावश्यक वाटरमार्क नराख्ने, व्यावसायिक प्रयोगलाई अनुमति दिने र इन्टरनेट नभएको अवस्थामा समेत प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । प्रयोगकर्ताले यसलाई आफ्नो उपकरणमा अनुप्रयोगका रूपमा जडान गरेर पनि चलाउन सक्छन् ।
विद्यार्थी, पेसाकर्मी, व्यवसाय तथा व्यक्तिगत वा सरकारी कागजात व्यवस्थापन गर्ने नागरिक यसका लक्षित प्रयोगकर्ता हुन् । एउटै सेवाबाट दैनिक आवश्यक पर्ने विभिन्न पीडीएफसम्बन्धी काम गर्न सकिने र फाइल आफ्नै उपकरणमा सुरक्षित राख्न सकिने यसको विशेषताले यसलाई गोपनीयता र पहुँचलाई महत्त्व दिने प्रयोगकर्ताका लागि उपयोगी बनाएको छ।
१५. वायुदृष्टि एटमस : जलवायु तथा वातावरणीय तथ्याङ्कलाई दैनिक जीवनका निर्णयसँग जोड्ने एआई प्रणाली
वातावरणीय अवस्था, वायु प्रदूषण, तापक्रम, वर्षा र आर्द्रताले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छन् । तर विभिन्न स्रोतबाट प्राप्त वातावरणीय तथ्याङ्क सामान्य प्रयोगकर्ताका लागि बुझ्न र त्यसअनुसार दैनिक गतिविधि तय गर्न सहज हुँदैन । कुनै स्थानमा वायु प्रदूषणको अवस्था कस्तो छ, बाहिर निस्कन उपयुक्त समय कुन हो वा घरभित्रको हावा प्रवाहमा के ध्यान दिनुपर्छ भन्ने जानकारी उपयोगी भएपनि त्यस्ता विवरणलाई व्यावहारिक सुझावमा बदल्ने प्रणालीको आवश्यकता छ । यही आवश्यकतालाई ध्यानमा राखेर वायुदृष्टि एटमस विकास गरिएको हो ।
वायुदृष्टि एटमस एआईमा आधारित व्यक्तिगत जलवायु तथा वातावरणीय जानकारी प्रदान गर्ने प्ल्याटफर्म हो । यसले भूउपग्रहबाट प्राप्त अवलोकन, स्थानीय स्तरमा जडान गरिएका सेन्सर, मौसम पूर्वानुमान, वायु गुणस्तरसम्बन्धी जानकारी तथा विभिन्न पूर्वानुमान मोडेललाई एकीकृत गर्छ । यी स्रोतबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरी कुनै निश्चित स्थानको वातावरणीय अवस्थाबारे जानकारी उपलब्ध गराउँछ ।
यसले प्रदूषण, अत्यधिक गर्मी, वर्षा र हावाको आर्द्रताजस्ता अवस्थाको मूल्याङ्कन गर्न सक्छ । तर यसको उद्देश्य वातावरणीय तथ्याङ्क देखाउनुमा मात्र सीमित छैन । ती विवरणलाई प्रयोगकर्ताले दैनिक जीवनमा लिनुपर्ने निर्णयसँग जोड्नु यसको प्रमुख विशेषता हो । उदाहरणका लागि, बाहिरी गतिविधि सञ्चालन गर्ने उपयुक्त समय, दैनिक आवतजावत गर्दा अपनाउनुपर्ने सावधानी, घरभित्रको हावा आवतजावत व्यवस्थापन तथा प्रदूषण र मौसमका कारण हुन सक्ने जोखिमबाट जोगिने उपायबारे यसले स्थानअनुसार जानकारी दिन्छ ।
परिवार, विद्यार्थी, दैनिक आवतजावत गर्ने व्यक्ति, खुला क्षेत्रमा काम गर्ने श्रमिक तथा जलवायु जोखिमको बढी सामना गर्नुपर्ने समुदाय यसका लक्षित प्रयोगकर्ता हुन् । एउटै वातावरणीय अवस्था सबै स्थानमा समान नहुने भएकाले स्थानीय तथ्याङ्कका आधारमा व्यक्तिगत सुझाव उपलब्ध गराउने यसको अवधारणा महत्त्वपूर्ण छ ।
जटिल जलवायु तथा वातावरणीय जानकारीलाई सर्वसाधारणले बुझ्न र व्यवहारमा प्रयोग गर्न सक्ने बनाउनु वायुदृष्टि एटमसको मुख्य उद्देश्य हो । वातावरणीय अवस्थाबारे सचेतना बढाउने मात्र नभई त्यसअनुसार दैनिक गतिविधि योजना बनाउन सहयोग गर्ने भएकाले यसले जलवायु अनुकूलन र व्यक्तिगत सुरक्षाका क्षेत्रमा प्रविधिको व्यावहारिक प्रयोग प्रस्तुत गरेको छ ।
विविध क्षेत्रका समस्या समाधानमा केन्द्रित नेपाली उत्पादन
आइसिटी अवार्ड २०२६ को उत्पादन विधामा सेमिफाइनलमा पुगेका यी १५ उत्पादनले नेपाली प्रविधि क्षेत्रको फराकिलो दायरा प्रस्तुत गरेका छन् । आशिर्वाद केयर र डान्टा-मेडले स्वास्थ्य तथा हेरचाह सेवालाई प्रविधिसँग जोड्दा एक्साना र आईपी सेवाले कानुनी अनुसन्धान तथा बौद्धिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल बनाउने प्रयास गरेका छन् ।
आईएमएस डिजिटल लेन्डिङ र वनबीएनपीएलले वित्तीय सेवामा सहजता खोजेका छन् भने नेपालएचआरएम र पगोडा ल्याब्स डीएमएसले व्यावसायिक व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखेका छन् ।
त्यस्तै, बाइटआउटले ग्राहक र रेस्टुरेन्टबीचको सम्बन्धलाई डिजिटल माध्यमबाट जोडेको छ भने काठमाडौं साइटसिइङले पर्यटन तथा यातायात सेवामा प्रविधिको प्रयोग विस्तार गरेको छ ।लेख्नुस्ले नेपाली भाषामा डिजिटल लेखनलाई सहज बनाउने प्रयास गर्दा पीडीएफमर्जलीले कागजात व्यवस्थापनमा गोपनीयतालाई प्राथमिकता दिएको छ ।
सेन्ट्रोनिक्सले सुरक्षा निगरानीलाई केन्द्रीकृत बनाउने र वायुदृष्टि एटमसले वातावरणीय तथ्याङ्कलाई दैनिक जीवनका निर्णयसँग जोड्ने काम गरेका छन् ।
यी उत्पादनको साझा विशेषता नेपाली बजारका वास्तविक आवश्यकता पहिचान गरी त्यसको समाधानका लागि प्रविधिको प्रयोग गर्नु हो । डिजिटल सेवा विस्तार भइरहेका बेला स्थानीय समस्या, प्रयोगकर्ताको व्यवहार र नेपाली परिवेशलाई ध्यानमा राखेर निर्माण गरिएका यस्ता उत्पादनले नेपालको प्रविधि क्षेत्रमा नवप्रवर्तन र उद्यमशीलताको सम्भावनालाई उजागर गरेका छन् ।
(नोट: सेमिफाइनालिस्टका नाम वर्णानुक्रममा मिलाइएका छन् ।)
स्नेहा झा