कीवर्डहरू -

ट्राफिक प्रहरीले सञ्चालनमा ल्यायो डिजिटल चिट, जरिवाना पनि नागरिक एपबाटै तिर्न सकिने

ट्राफिक प्रहरीले सञ्चालनमा ल्यायो डिजिटल चिट, जरिवाना पनि नागरिक एपबाटै तिर्न सकिने

ट्राफिक प्रहरीले डिजिटल चिट सञ्चालनमा ल्याएको छ । आईतबार गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच Traffic Violation Record System (TVRS), ई-चलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन् । 

साथै उनले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरेका थिए । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडि बढेको उनको भनाइ छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य काम भएको बताएका थिए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको जानकारी दिए । 

ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासोरहित हुने विश्वास समेत उनको छ । 
उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले TVRS को विकासक्रम, टीभीआरएस र नागरिक एप इन्टिग्रेसन, ई-चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सकिने छ । 

ट्राफिक प्रहरीले ‘ई–चलान’ डिजिटल एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्ने छन्। लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ ।