गत महिना चीनले फलाम उत्पादनको गतिलाई ३६०० गुणा वा त्योभन्दा बढी वृद्धि गर्न नयाँ प्रविधि प्रस्तुत गरेको थियो । यसले चीनको स्टिल उद्योगको ऊर्जा उपयोग दक्षतामा एक तिहाइभन्दा बढी सुधार गर्न सक्ने बताइएको छ ।
त्यसको केही हप्तापछि, चीनले नयाँ स्टेल्थ फाइटर जेट सार्वजनिक गर्दै विश्वलाई चकित पारेको थियो । यो छैटौँ पुस्ताको मोडेल हो, जसलाई ठूलो उपलब्धि मानिएको छ ।
करिब एक हप्तापछि, चीनले स्याटेलाइट–टु–ग्राउन्ड लेजर कम्युनिकेशनमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । चीन १०० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) डेटा ट्रान्समिशन गतिमा पुगेर उन्नत स्याटेलाइट कम्युनिकेशन टेक्नोलोज मा एलन मस्कको स्टारलिंक भन्दा अगाडि निस्किएको छ ।
सिलिकन भ्यालीमा ठूलो चिन्ता
केही दिन अगाडि चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले अमेरिकामा हलचल ल्याएको छ ।
यसले एआई–सम्बन्धित स्टकमा असर पारेको थियो, जसले गर्दा एनभिडियाले मात्रै करिब ६ सय बिलियन डलरको घाटा व्यहोर्नु परेको थियो ।
डिपसिकको पछिल्लो मोडेल आर १, लो पावर चिप्स र ६ मिलियन अमेरिकी डलरको लगानीमा बनाइएको हो ।
इकोनोमिक टाइम्सको रिपोर्टअनुसार एलन मस्कले डिपसिकले गोप्य रूपमा अमेरिकाद्वारा प्रतिबन्धित एच १०० चिप्सको पहुँच पाइरहेको शंका व्यक्त गरेका छन् ।
यही आरोप स्केल एआईका प्रमुख कार्यकारीले पनि लगाएका छन्, जुन अमेजन र मेटा द्वारा समर्थित प्रमुख सिलिकन भ्याली स्टार्टअप हो ।
सिलिकन भ्यालीसँगै डोनाल्ड ट्रम्प सरकार समेत चिन्तित बनेको छ, किनभने डिपसिक अमेरिकीका लागि एक नयाँ चुनौती हो ।
गिली मोटर्सद्वारा निर्मित नक्कली मर्सिडीज–बेन्जदेखि डिपसकसम्म, चीन नक्कलबाट नवीनतातर्फ अघि बढेको छ । अब, यसले पश्चिमी मुलुकहरूलाई फलाम उत्पादनदेखि एआईसम्म विभिन्न प्रविधिहरूमा आफ्नो द्रुत प्रगतिको कारण तनावमा पारेको छ ।
नक्कलबाट नवीनताको यात्रामा चीन
केही वर्षअघि सम्म चीनलाई निम्न गुणस्तरका नक्कली उत्पादनहरूको देश मानिन्थ्यो । चीनमा नोकिया मोबाइल फोनदेखि मर्सिडिज–बेन्ज कारसम्म, अधिकांश पश्चिमी उत्पादनहरूको नक्कल पाइन्थ्यो ।
तर, वेस्टर्न भ्यालु चेन गहिरो एकीकरण भएपछि, चीन विश्वको निर्माण केन्द्र बन्दै गयो । यस प्रक्रियामा, चीनले पश्चिमी प्रविधिको औद्योगिक रूपमा चोरीसमेत गर्न थाल्यो ।
चीनले सस्तो, न्यून–गुणस्तर वा नक्कली उत्पादन बनाउने आफ्नो पुरानो छवि बदल्न सरकारको ठूलो लगानी र पश्चिमी देशहरूमा प्रभाव पार्ने रणनीतिहरू अपनायो । तथापि, उसको प्रगति केवल प्रविधि चोरीमा मात्र सीमित रहेन । एक अर्को मुख्य कारण भनेको धेरै पश्चिमी कम्पनीहरूले चीनमा कारखाना स्थापना गरे र प्रविधि चिनियाँ साझेदारहरूसँग साझा गर्न बाध्य भए ।
गत वर्ष भियोनिक्स बायोसाइन्सेसका प्रमुख कार्यकारी (सिईओ) विवेक वाधवाले अलिबाबा, टेन्सेन्ट र साओमी जस्ता कम्पनीहरूले पश्चिमी मोडेललाई अनुसरण गर्दै व्यवसाय सुरु गरेको बताएका थिए ।
तर, तिनीहरूले चाँडै नै आफ्ना आइडिया स्थानीय बजार अनुरूप अनुकूल बनाए । यसै कारण उनीहरूले पश्चिमी प्रतिस्पर्धीहरूले नगरेका इनाभेसनहरूमा काम गर्न सफल भएका थिए ।
टेन्सेन्टको वीच्याटलाई उदाहरणका रूपमा लिन सकिन्छ । सुरूमा, यो ह्वाट्सएप र अन्य म्यासेजिङ एपबाट प्रेरित थियो । तर,वीच्याट चाँडै नै एक “सुपर एप" बन्यो, जसले म्यासेजिङ, सोसल नेटवर्क, भुक्तानी प्रणाली, ई–कमर्स, र सरकारी सेवाहरूलाई एकै ठाउँमा ल्यायो ।
आज, वीच्याट केवल चिनियाँ सफलताको कथा मात्र होइन, बरु मेटा, एक्स (पहिले ट्विटर), टाटा समूह (टाटा ग्रुप), र ग्राब जस्ता कम्पनीहरूले अनुसरण गर्न खोजेको एक नवीनता मोडेल बनिसकेको छ ।
पेटेन्ट दर्तामा चीनको अग्रता
चीनको प्रविधि विकासलाई सुरुवाती चरणमा कमजोर अनुसन्धान र कम गुणस्तरका पेटेन्टहरू भनिने गरिएको थियो । यद्यपि, चीनले “तिमी नक्कल गर, जबसम्म मौलिक बन्दैनौ (You fake it till you make it) भन्ने अवधारणालाई दृढताका साथ पालन गरिरहेको छ ।
त्यसको परिणामस्वरूप, साइन्स एण्ड इन्जिनियरिङ इण्डिकेटर्सको एक रिपोर्ट अनुसार, गत वर्ष पहिलो पटक, चिनियाँ आविष्कारकर्ताहरूले अमेरिकी अन्वेषकहरूको तुलनामा बढी अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता गरेका थिए ।
विश्व बौद्धिक सम्पत्ति संगठन – डब्लुआईपिओको अर्को रिपोर्ट अनुसार, चीनका आविष्कारकर्ताहरूले सबैभन्दा बढी जेनरेटिभ एआई सम्बन्धी पेटेन्ट दर्ता गरिरहेका छन् ।
चीन अब नक्कल मात्र गर्ने मुलुक रहेन् । उसले उच्च–स्तरीय प्रविधि विकास गर्दै पश्चिमी विश्वलाई कडा चुनौती दिइरहेको छ । फलाम उत्पादनदेखि कृत्रिम बुद्धिमत्ता (एआई) सम्म, चीनको द्रुत गतिमा भइरहेको प्रविधिगत विकासले अमेरिका र पश्चिमी देशहरूलाई चिन्तित बनाइरहेको छ ।