थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हिंस्रक भिडियोहरू देखिन थालेको गुनासो गर्दै एक्स (पहिले ट्विटर) मा पोस्ट गर्न थालेका छन् । विशेषगरी सेन्सिटिभ कन्ट्रोल इनेबल्ड विकल्प सक्षम गरेका प्रयोगकर्ताहरूले पनि यस्तै समस्या भोगिरहेका छन् ।
एक्स अहिले यस्ता रिपोर्टहरूले भरिएको छ । एक प्रयोगकर्ताले लेखेका छन् “अरू कसैको फिड पनि हिंसक रिलहरूले भरिएको छ?।' अर्का एकजनाले पनि आफ्नो फिडमा कम्तीमा १२ वटा हिंसात्मक भिडियो देखेका छन्, जसमा स्पष्ट रूपमा रगत देखिने झगडाहरू समावेश छन् ।
यसबाहेक, बाल यौन अपराधीलाई प्रहरीले गोली हानेको बडीक्याम फुटेज पनि इन्स्टाग्राममा भाइरल भइरहेको छ । मेटाले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन् । तर, केही रिपोर्टहरू अनुसार यो समस्या इन्स्टाग्रामको सामग्री नियन्त्रण प्रणालीमा भएको बग का कारण हुन सक्छ ।
भोकल मिडियाको रिपोर्टअनुसार, एआईले पोस्टहरू स्क्यान गरेर संवेदनशील सामग्री फिल्टर गर्छ, तर यदि यो प्रणाली बिग्रियो भने हिंसक पोस्टहरू प्रयोगकर्ताको फिडमा देखिन सक्छन् । हालको अवस्था पनि यस्तै भएको अनुमान गरिएको छ ।
अर्को सम्भावित कारण भनेको इन्स्टाग्रामको एल्गोरिदममा आएको परिवर्तन हुन सक्छद । भोकल मिडियाका अनुसार, हालैको कुनै अपडेटले यस्ता पोस्टहरूको प्राथमिकता बढाइदिएको हुनसक्छ, जसले गर्दा प्रयोगकर्ताहरूको फिडमा यसरी हिंसात्मक सामग्री देखिन थालेको हो ।