पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकले काम गर्ने अवसर पाएको छ ।
हालै सम्पन्न पेरिस २०२४ ओलम्पिकको कुडोलाई साइबर समूह, ह्याक्टिभिज्म, र साइबर अपराधीहरूबाट बचाउन कूडो प्लेटफर्मको साइबर सुरक्षा गर्ने जिम्मेवारी भैरव टेकले पाएको थियो ।
कूडो र पेरिस २०२४ ओलम्पिक खेलकुद समितिसँग नजिकबाट सहकार्य गरेर, भैरव टेकले एक सुरक्षित र सफल ओलम्पिक खेलकुद सुनिश्चित गरेको कम्पनीको भनाइ छ ।
भैरव टेकले कूडो प्लेटफर्म चौबिसै घण्टा शंकास्पद गतिविधिलाई तुरुन्तै पत्ता लगाउन र सम्बोधन गर्न वास्तविक समयमा निगरानी गरिरहेको थियो ।
यससँगै कम्पनीले सम्भावित खतराहरूलाई पहिचान र रोक्न अत्याधुनिक उपकरणहरूको प्रयोग पनि गरेको थियो । यस्तैमा कूडोलाई पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक बहुभाषिक वेब कन्फरेन्सिङ प्लेटफर्मको रूपमा नियुक्त गरिएको थियो ,
यसले मानिसको विशेषज्ञता र एआई–चालित प्रविधिलाई एकीकृत गरी विश्वभरका खेलाडी, अफिसर र सहभागीहरूका लागि वास्तविक समयमा संचारको सुविधा प्रदान गरेको थियो । यो प्लेटफर्मले भाषाको अवरोधलाई हटाउन र विभिन्न भाषाहरूमा निर्बाध संचार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।