नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बाल अधिकार परिषद्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी वेबिनार आगामी फागुन २८ गते (फेब्रुअरी ११, २०२५) आयोजना गरिनेछ।
"सुरक्षित इन्टरनेट, सबैका लागि, सधैंका लागि" भन्ने नाराका साथ हुने यस कार्यक्रमको मुख्य उद्देश्य बाल अनलाइन संरक्षणमा जनचेतना फैलाउनु हो।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, साइबर ब्युरो (नेपाल प्रहरी) र महान्यायाधिवक्ताको कार्यालयका प्यानलिस्टहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले क्यूआर कोड स्क्यान गरी दर्ता गर्न वा लिंक प्रयोग गर्न सक्नेछन्।
वेबिनारमा बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी विभिन्न नीतिहरू, अभ्यास, कानुनी पक्ष, केस स्टडी तथा प्रमाणहरूका साथै सरोकारवालाहरूबाट महत्वपूर्ण सन्देशहरू आदान-प्रदान गरिनेछ।
कार्यक्रममा सहभागीहरूलाई प्रश्नोत्तर सत्र पनि उपलब्ध गराइनेछ। यो वेबिनार विभिन्न संस्थाहरूको सहयोगमा आयोजना गर्न लागिएको हो, जसमा चाइल्ड फन्ड, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन, एसओएस चिल्ड्रेन भिलेजेस, टेर डेस होम्स र वर्ल्ड भिजन रहेका छन्।