स्याङ्जा । स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा रूपान्तरण गरिएको छ । नेपाल सरकारले देशभरका ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा विकास गर्ने योजनाअन्तर्गत वालिङको हुलाकलाई पनि प्रविधिमैत्री बनाइएको हो ।
स्मार्ट हुलाकमा रूपान्तरण भएसँगै परम्परागत हुलाक सेवामा डिजिटल प्रविधिको प्रयोग बढाइएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीका अनुसार हुलाकबाट प्रदान हुँदै आएका सेवाहरूलाई प्रविधिको प्रयोगमार्फत छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले कार्यालयलाई स्मार्ट बनाइएको हो ।
‘स्मार्ट हुलाकको मुख्य उद्देश्य हुलाक कार्यालयबाट हुँदै आएका कामलाई प्रविधिमैत्री, छिटो छरितो र डिजिटल माध्यमबाट सञ्चालन गर्नु हो,’ मरासिनीले भने, ‘अब सेवाग्राहीले आफूले पठाएको चिठी कहिले र कहाँ पुग्यो भन्ने विवरण आफैँ हेर्न सक्नेछन् । यसले सेवा थप सहज र विश्वसनीय बनाउनेछ ।’
स्मार्ट हुलाकका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उपकरण, डिजिटल सुरक्षा तथा ट्रयाकिङ प्रणालीको व्यवस्थासँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने काम भइरहेको मरासिनीले बताए ।
पालिकास्तरीय हुलाक कार्यालय वालिङका प्रमुख राहुल विकका अनुसार कार्यालयमा प्रयोग हुँदै आएको हस्तलिखित तथा कागजी प्रक्रियालाई क्रमश: हटाउँदै डिजिटल प्रणालीमार्फत सेवा प्रदान गर्ने गरी कार्यालयको विकास भइरहेको छ ।
परम्परागत रूपमा ढड्डामा तथ्याङ्क राख्ने प्रणालीलाई समेत क्रमश: विस्थापित गरी डिजिटल माध्यमबाट अभिलेख व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए । यसबाट हुलाक सेवामा तथ्याङ्क व्यवस्थापन, सेवा प्रवाह र अभिलेखलाई थप विश्वसनीय तथा छिटोछरितो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्याङ्जामा हाल एक जिल्ला हुलाक कार्यालय, १० वटा पालिकास्तरीय हुलाक कार्यालय र ३८ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेका छन् ।
आईसीटी समाचार