कीवर्डहरू -

व्हाट्सएपले ल्यायो नयाँ सुविधा : अब वेब ब्राउजरबाटै सुरक्षित अडियो भिडियो कल गर्न मिल्ने

व्हाट्सएपले ल्यायो नयाँ सुविधा : अब वेब ब्राउजरबाटै सुरक्षित अडियो भिडियो कल गर्न मिल्ने

काठमाडौं । व्हाट्सएपले आफ्नो वेब संस्करणमा इन्क्रिप्टेड (सुरक्षित) अडियो तथा भिडियो कलिङ सुविधा उपलब्ध गराएको छ । अब प्रयोगकर्ताले छुट्टै एप डाउनलोड नगरी वेब ब्राउजरबाटै व्यक्तिगत तथा समूह अडियो भिडियो कल गर्न सक्नेछन् ।

कम्पनीका अनुसार वेबमार्फत गरिने सबै कल एन्ड-टु-एन्ड इन्क्रिप्सनद्वारा सुरक्षित रहनेछन् । साथै, व्यक्तिगत र समूह दुवै कलमा समयको कुनै सीमा रहने छैन । नयाँ अपडेटसँगै वेब संस्करणमा स्क्रिन सेयर, रियाक्सन, मनपर्ने सम्पर्क र कल हिस्ट्रीजस्ता सुविधा समेत उपलब्ध गराइएको छ ।

यी सबै सुविधाहरू पनि सुरक्षित इन्क्रिप्सनसहित प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । व्हाट्सएपले मोबाइल, ट्याब्लेट, डेस्कटप र वेबबीच चलिरहेको कल सहज रूपमा स्थानान्तरण गर्न सकिने सुविधा पनि थपेको छ ।

त्यस्तै, "Require approval to join" विकल्प सक्रिय गरिएका समूह कलमा वेटिङ रुम, पृष्ठभूमिको आवाज कम गर्ने टुल तथा एचडी भिडियो छिटो सुरु हुने सुविधा पनि समावेश गरिएको छ । कम्पनीका अनुसार यी नयाँ सुविधाहरू क्रमश: विश्वभरका सबै प्रयोगकर्तामाझ उपलब्ध गराइनेछन् ।