काठमाडौं । लोकप्रिय म्यासेजिङ प्लेटफर्म व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्टलाई अझ सुरक्षित बनाउन पासवर्डमा आधारित नयाँ सुरक्षा सुविधा ल्याउने तयारी गरेको छ । हाल व्हाट्सएपमा दुई तहको सुरक्षा (Two-Factor Authentication–2FA) का लागि ६ अङ्कको पिन (PIN) प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ । अब कम्पनीले यसको विकल्पका रूपमा पासवर्ड प्रयोग गर्ने सुविधा परीक्षण गरिरहेको छ ।
व्हाट्सएपले पछिल्लो समय प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ फिचर सार्वजनिक गर्दै आएको छ । सोही क्रममा अकाउन्ट सुरक्षालाई थप मजबुत बनाउन पासवर्ड सुविधा विकास भइरहेको बताइएको छ ।
व्हाट्सएपसम्बन्धी जानकारी सार्वजनिक गर्ने प्लेटफर्म WaBetaInfo का अनुसार, कम्पनीले 2FA को विकल्पका रूपमा पासवर्ड प्रयोग गर्न सकिने फिचर परीक्षण गरिरहेको छ । यो सुविधा प्रारम्भिक चरणमा बीटा संस्करणका प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
हाल प्रयोगमा रहेको 2FA मा ६ अङ्कको पिन प्रयोग गर्नुपर्ने व्यवस्था छ । नयाँ सुविधामा भने प्रयोगकर्ताले अक्षर, अङ्क तथा अन्य सुरक्षित संयोजन प्रयोग गरी बलियो पासवर्ड सेट गर्न सक्नेछन् । यसले सही रूपमा प्रयोग गरेमा अकाउन्टलाई अनधिकृत पहुँचबाट अझ प्रभावकारी रूपमा सुरक्षित राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यो सुविधा अनिवार्य नभई वैकल्पिक हुनेछ । अर्थात्, हाल 2FA प्रयोग नगरेका प्रयोगकर्तालाई यसले तत्काल कुनै असर पार्ने छैन र पासवर्ड सुविधा स्वत: सक्रिय पनि हुने छैन । प्रयोगकर्ताले चाहेको अवस्थामा मात्र यसलाई सक्रिय गर्न सक्नेछन् ।
व्हाट्सएपमा व्यक्तिगत च्याट, फोटो, भिडियो, कागजात तथा भुक्तानीसम्बन्धी संवेदनशील जानकारी सुरक्षित रहने भएकाले अकाउन्ट सुरक्षाका लागि थप विकल्प उपलब्ध गराउनु कम्पनीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । नयाँ पासवर्ड सुविधाले अकाउन्टलाई अनधिकृत पहुँचबाट जोगाउन थप सुरक्षा तह प्रदान गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार