कीवर्डहरू -

अनुमति नलिएका वेब एप प्रयोग गर्दा व्हाट्सएपले चेतावनी दिने

अनुमति नलिएका वेब एप प्रयोग गर्दा व्हाट्सएपले चेतावनी दिने

काठमाडौं । व्हाट्सएपले अनधिकृत वेब एपमार्फत आफ्नो खाता प्रयोग हुनबाट जोगाउन नयाँ सुरक्षा सुविधा परीक्षण गरिरहेको छ । परीक्षणमा रहेको यो सुविधाअन्तर्गत एन्ड्रोइड प्रयोगकर्ताले अनधिकृत वेब एपमा आफ्नो व्हाट्सएप खाता जोड्दा चेतावनी देखिनेछ । यस्तो चेतावनी Linked Devices सेक्सनमा देखाइने बताइएको छ ।

स्क्रिनको तल देखिने चेतावनीमार्फत प्रयोगकर्तालाई आफ्नो खाता बाहिरी वा अनधिकृत वेब एपमा जोडिएको जानकारी दिइनेछ । साथै, खाता सुरक्षित राख्न आधिकारिक WhatsApp Web प्रयोग गर्न सुझाव दिइनेछ ।

प्रयोगकर्ताले आवश्यक ठानेमा उक्त चेतावनी हटाउन समेत सक्नेछन् । यो सुविधाले आफ्नो खाता कुनै बाहिरी वेब एपमा जोडिएको छ कि छैन भनेर प्रयोगकर्तालाई थाहा पाउन सहज बनाउने अपेक्षा गरिएको छ ।

अनधिकृत वेब एप प्रयोग गर्दा प्रयोगकर्ताका डेटा तथा फाइल बाहिरी सफ्टवेयरसम्म पुग्न सक्ने जोखिम हुन्छ । यसले गोपनीयता तथा डेटा सुरक्षामा समस्या निम्त्याउन सक्ने भएकाले व्हाट्सएपले आधिकारिक वेब संस्करण प्रयोग गर्न सुझाव दिँदै आएको छ ।

यसैबीच, व्हाट्सएपले ठगीका सन्देश पहिचान गर्न Scam Alert सुविधा पनि परीक्षण गरिरहेको छ । यसले शंकास्पद च्याटमा चेतावनी देखाउनुका साथै त्यस्ता खातालाई ब्लक वा रिपोर्ट गर्ने विकल्प उपलब्ध गराउनेछ । यो सुविधा हाल बीटा परीक्षणमा रहेको छ ।

त्यस्तै, WhatsApp Web मा अडियो तथा भिडियो कलको सुविधा पनि उपलब्ध छ । वेबबाट व्यक्तिगत तथा ग्रुप दुवै प्रकारका कल गर्न सकिन्छ । यी कलहरू End-to-End Encryption मार्फत सुरक्षित हुने बताइएको छ । वेब प्रयोगकर्ताले कलका क्रममा स्क्रिन सेयर तथा रियाक्सनजस्ता सुविधा पनि प्रयोग गर्न सक्छन् ।