कीवर्डहरू -

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?

विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले धेरै सफलता हात पारिसकेको छ । 

१३ वर्षदेखि एप्पल हाँकीरहेका टिम कुक कहिलेसम्म सीईओ पदमा बसिरहन्छन् होला ? भन्ने प्रश्न उठ्न सक्छ । वायर्डसँगको एक अन्तर्वार्तामा कुकले यसको खुलासा गरेका छन् ।

एप्पलको सीईओको रूपमा कहिलेसम्म काम गर्न चाहन्छन् भन्ने प्रश्नमा कुकले आफुलाई यो पद धेरै मनपर्ने र यहाँ काम गर्न पाउनु जीवनकै सौभाग्य भएको जवाफ दिए । 

तर, एप्पलका सीईओले कुनै निश्चित उत्तर दिन चाहेनन् । यसको सट्टा, उनले आफ्नो मनले छोड्ने मनस्थिति नबनाएसम्म नछोड्ने संकेत दिए  । उनले भने, ‘म त्यतिन्जेलसम्म यही गरिरहनेछु, जबसम्म मेरो मनले मलाई यो संकेत गर्दैन कि अब समय आएको छ र त्यसपछि म आफ्नो अर्को अध्यायमा ध्यान दिनेछु ।’  

कुकले एप्पलसँगको आफ्नो लामो र सार्थक यात्रालाई सम्झँदै एप्पलबिना जीवनको कल्पना गर्न पनि गाह्रो महसुस हुने बताए । एप्पल लामो समयदेखि उनको व्यावसायिक र व्यक्तिगत जीवनको केन्द्रमा रहेको छ ।

कम्पनीमा दुई दशकभन्दा लामो समय काम गरेपछि कुकले एप्पलप्रति उनको जोश पहिलेको जस्तै बलियो रहेको समेत स्पष्ट पारे । कुक सन् १९९८ मा एप्पलमा अन्तरिम सीईओ नियुक्त भएका थिए । त्यसपछि सन् २०११ मा सीईओ नियुक्त भएका थिए । 

कुकको नेतृत्वमा, एप्पलले एयरपड्स र एप्पल वाचजस्ता क्रान्तिकारी प्रडक्टहरू सार्वजनिक गरिसकेको छ । तर, सीईओ कुकले स्क्रीन टाइमको अत्यधिक प्रयोगबारे चिन्ता पनि व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यदि तपाईं कसैको आँखामा हेर्नुभन्दा बढी आफ्नो फोन हेर्नुहुन्छ भने, यो समस्या हो ।’