गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टबाट भिडियो बनाउन सकिन्छ ।
हाललाई गुगल वियो सबैका लागि होइन, केवल व्यवसायिक प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । गुगलले दुई नयाँ जेनेरेटिभ एआई मोडेलहरू वियो र इमेजन ३ व्यवसायिक प्रयोगकर्ताका लागि उपलब्ध गराउने घोषणा गरेको छ ।
यी मोडेलहरू गुगल क्लाउड प्लेटफर्म भर्टेक्स एआईमार्फत उपलब्ध हुनेछन्, जसले व्यवसाय वा उद्यमहरूका लागि एआई टुलहरूको पूर्ण सुविधा प्रदान गर्छ ।
वियो, गुगलको डीपमाइण्डले विकास गरेको हो । डिपमाइन्ड तस्बिर–देखि–भिडियो सिर्जना गर्ने मोडेल हो, जसले उच्च गुणस्तर र उच्च–परिभाषा भएका भिडियो बनाउन सक्छ । यस मोडेलले वास्तविक जस्तो देखिने मानिस र जनावरका भिडियोहरू पनि बनाउन सक्छ ।
प्रयोगकर्ताहरूले वियोमा भिडियो बनाउन तस्बिरसहित टेक्स्ट प्रम्प्ट अपलोड गर्न सक्छन् । यो मोडेल भर्टेक्स एआईमा निजी प्रिभ्युको रूपमा उपलब्ध हुनेछ ।
इमेजन ३, गुगलको नयाँ तस्बिर सिर्जना गर्ने मोडेल हो, जसले साधारण टेक्स्ट प्रम्प्टबाट वास्तविक र उच्च गुणस्तरका तस्बिर बनाउन सक्छ । यो मोडेल अर्को हप्ता भर्टेक्स एआईका सबै ग्राहकका लागि उपलब्ध हुनेछ ।
इमेजन ३ लाई फोटो–जस्तै वास्तविक र जीवन्त तस्बिर बनाउन सबैभन्दा उत्कृष्ट मानिन्छ । साथै, यस मोडेलले तस्बिरहरू सम्पादन गर्न सक्छ, जसमा तस्बिरमा नयाँ भाग थप्ने, हटाउने वा विस्तार गर्ने क्षमता पनि छ । क्याडबरी, ओरियो, र मिल्का जस्ता ब्रान्डहरूले पहिले नै यी मोडेलहरूको उपयोग गरिरहेका छन् ।