काठमाडौं । फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै मेटाले आफ्ना लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा फुटबल समर्थकका लागि विशेष डिजिटल अनुभव सार्वजनिक गरेको छ ।
कम्पनीले फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, मेसेन्जर र ह्वाट्सएपमा विश्वकपसँग सम्बन्धित विभिन्न इन्टरएक्टिभ तथा एआई आधारित सुविधाहरू समावेश गरेको जनाएको छ ।
विश्वकप अवधिभर प्रयोगकर्तालाई खेलसँग थप नजिक ल्याउने उद्देश्यसहित ल्याइएका यी सुविधाले प्रत्यक्ष स्कोर, फ्यान सहभागिता, डिजिटल सजावट र रियल–टाइम अपडेटलाई प्राथमिकता दिएका छन् ।
थ्रेड्समा अब समर्थकहरूले खेल भइरहेका बेला प्रत्यक्ष प्रतिक्रिया आदानप्रदान गर्न सक्नेछन् । खेलको स्कोर परिवर्तन, महत्त्वपूर्ण घटनाक्रम र चर्चित खेलाडीहरूको प्रतिक्रियाबारे तत्काल जानकारी उपलब्ध हुनेछ ।
साथै, प्रयोगकर्ताले आफ्नो मनपर्ने राष्ट्रिय टोलीको झन्डा वा विशेष चिन्ह प्रोफाइलमा प्रदर्शन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
इन्स्टाग्राममा भने विश्वकपसँग सम्बन्धित सामाग्रीलाई एउटै स्थानमा समेट्ने विशेष खोज केन्द्र (सर्च हब) तयार गरिएको छ । यसमार्फत प्रयोगकर्ताले प्रतियोगितासम्बन्धी भिडियो, स्टोरी, रिल्स तथा आधिकारिक सामाग्रीहरू सहज रूपमा भेट्टाउन सक्नेछन् ।
सन्देश आदानप्रदान गर्ने सुविधामा पनि नयाँ भ्वाइस इफेक्ट थपिएको छ, जसले गोल भएको क्षणलाई थप रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ ।
फेसबुक प्रयोगकर्ताका लागि फुटबल विषयवस्तु केन्द्रित विशेष मोड तयार गरिएको छ । यो सक्रिय गरेपछि फुटबलसँग सम्बन्धित प्रतिक्रिया, मनोरञ्जनात्मक खेल तथा अन्य विशेष सामाग्रीहरू प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, एआई प्रविधिको प्रयोग गरी आफ्नो तस्वीरमा मनपर्ने राष्ट्रको जर्सी लगाएको जस्तो डिजिटल रूपान्तरण गर्न सकिने सुविधा पनि थपिएको छ ।
मेसेन्जरमा समूहगत कुराकानी गरिरहेका प्रयोगकर्ताले अब खेलको प्रत्यक्ष गतिविधि च्याटभित्रै प्राप्त गर्न सक्नेछन् । गोल, कार्ड वा अन्य महत्त्वपूर्ण घटनाको सूचना तुरुन्तै प्राप्त हुने भएकाले साथीहरूसँगै खेलको रोमाञ्च अनुभव गर्न सहज हुने बताइएको छ ।
उता ह्वाट्सएपले पनि विश्वकपको माहोललाई ध्यानमा राख्दै फुटबलसम्बन्धी इमोजी र दृश्य सामाग्रीमा परिवर्तन गरेको छ । कम्पनीले प्रतियोगिताको आधिकारिक म्याच बलबाट प्रेरित डिजाइन समावेश गरेको जनाएको छ ।
विश्वकपको समयमा सामाजिक सञ्जालमा हुने विशाल सहभागिता र चर्चालाई मध्यनजर गर्दै मेटाले आफ्ना सबै डिजिटल प्लेटफर्मलाई खेलप्रेमीमैत्री बनाउने प्रयास गरेको विश्लेषकहरू बताउँछन् ।
आईसीटी समाचार