काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ले क्रिएटरलाई दिँदै आएको विज्ञापन आम्दानी बाँडफाँट प्रणाली हटाएर नयाँ कमाइ योजना ल्याउने भएको छ । कम्पनीले आगामी ७ सेप्टेम्बरदेखि पुरानो ‘रेभेन्यु शेयरिङ’ कार्यक्रम बन्द गर्दै त्यसको स्थानमा ‘ओरिजिनल कन्टेन्ट रिवार्ड्स प्रोग्राम’ लागू गर्ने घोषणा गरेको हो ।
नयाँ प्रणालीमा एक्सले क्रिएटरले पोस्ट गरेको मौलिक सामाग्रीले प्राप्त गरेको योग्य इम्प्रेसन्सलाई आम्दानीको मुख्य आधार बनाउनेछ । अर्थात् अरूको सामाग्री पुन:प्रयोग गर्नेभन्दा आफ्नै सिर्जना र सामाग्री उत्पादन गर्ने प्रयोगकर्तालाई प्राथमिकता दिइनेछ ।
एक्सका अनुसार आफ्नै लेख, रिपोर्टिङ, खिचिएका फोटो तथा भिडियो, मौलिक मिम र इलुस्ट्रेसन नयाँ कार्यक्रमअन्तर्गत योग्य सामाग्री मानिनेछन् । तर अरूको पोस्ट वा सामाग्रीमा सामान्य क्याप्सन, केही शब्द वा टेक्स्ट थपेर पुन: पोस्ट गरिएको सामाग्रीलाई मौलिक मानिने छैन । अर्थपूर्ण विश्लेषण वा सिर्जनात्मक रूपान्तरण नभएका त्यस्ता पोस्टबाट नयाँ रिवार्ड प्राप्त गर्न सकिने छैन ।
नेपाल नयाँ कार्यक्रममा पनि अयोग्य
नयाँ योजनामा सहभागी हुन एक्सले विभिन्न योग्यता तोकेको छ । क्रिएटर १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्नेछ र कम्पनीले तोकेको योग्य देशमध्ये कुनै एकमा बसोबास गरेको हुनुपर्नेछ । तर एक्सले सार्वजनिक गरेको योग्य देशको सूचीमा नेपाल समावेश छैन । त्यसैले नेपालमा बसेर एक्स प्रयोग गर्ने क्रिएटरले हाल घोषणा गरिएको नयाँ रिवार्ड कार्यक्रमबाट प्रत्यक्ष रूपमा आम्दानी गर्न पाउने छैनन् ।
त्यसैगरी, कार्यक्रममा सहभागी हुन एक्सको Premium, Premium Plus वा Premium Business मध्ये कुनै एक सशुल्क सेवा लिनुपर्नेछ । क्रिएटरसँग कम्तीमा ५०० भेरिफाइड फलोअर्स हुनुपर्नेछ ।
साथै, पछिल्लो ९० दिनमा भेरिफाइड प्रयोगकर्ताबाट होम टाइमलाइनमा कम्तीमा ५ लाख भ्युज प्राप्त गरेको हुनुपर्नेछ । कार्यक्रममा छनोट भइसकेपछि पनि भुक्तानी पाउन यी मापदण्ड निरन्तर पूरा गरिरहनुपर्ने एक्सले जनाएको छ ।
पुराना क्रिएटरले पनि फेरि आवेदन दिनुपर्ने
हालको रेभेन्यु शेयरिङ कार्यक्रममा सहभागी क्रिएटरले नयाँ योजनामा स्वत: प्रवेश पाउने छैनन् । उनीहरूले ८ सेप्टेम्बरपछि नयाँ कार्यक्रमका लागि पुन: आवेदन दिनुपर्नेछ । पुरानो कार्यक्रममा सहभागी नभएका तर आवश्यक योग्यता पूरा गर्ने नयाँ क्रिएटरले भने अहिलेबाटै आवेदन दिन सक्ने एक्सले जनाएको छ ।
एक्सको क्रिएटर मोनेटाइजेसनमा अर्को ठूलो परिवर्तन
एक्सले पछिल्लो समय क्रिएटरको आम्दानी प्रणालीमा लगातार परिवर्तन गर्दै आएको छ । गत मार्चमा कम्पनीले विज्ञापन आम्दानी बाँडफाँट प्रणालीमा संशोधन गर्दै क्रिएटरको आफ्नै भौगोलिक क्षेत्रबाट आउने इन्गेजमेन्टलाई बढी महत्व दिएको थियो ।
अमेरिकाबाहिर बसेर अमेरिकी नागरिकको पहिचानमा राजनीतिक टिप्पणी गर्ने नक्कली खातालाई निरुत्साहित गर्ने उद्देश्यले उक्त व्यवस्था ल्याइएको विश्लेषण गरिएको थियो ।
अब नयाँ ‘ओरिजिनल कन्टेन्ट रिवार्ड्स प्रोग्राम’मा पनि पुरानो भौगोलिक प्राथमिकता कायम रहने वा नहरनेबारे एक्सले स्पष्ट जानकारी दिएको छैन । यस परिवर्तनसँगै एक्सले क्रिएटरको कमाइलाई विज्ञापन आम्दानीभन्दा मौलिक सामाग्री र त्यसले ल्याउने वास्तविक इम्प्रेसन्ससँग जोड्ने नयाँ मोडल अपनाउन लागेको देखिन्छ ।
आईसीटी समाचार