कीवर्डहरू -

फोन नम्बर साझा नगरी ह्वाट्सएप चलाउन सकिने, युजरनेमबाट कुराकानी गर्न मिल्ने

फोन नम्बर साझा नगरी ह्वाट्सएप चलाउन सकिने, युजरनेमबाट कुराकानी गर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप सुदृढ बनाउन फोन नम्बरको सट्टा युजरनेम प्रयोग गरेर च्याट गर्न सकिने नयाँ सुविधा ल्याउने तयारी गरेको छ । हाल परीक्षण तथा रोलआउटको प्रक्रियामा रहेको यो सुविधा पूर्ण रूपमा लागू भएपछि नयाँ व्यक्तिसँग कुराकानी सुरु गर्न मोबाइल नम्बर साझा गर्नुपर्ने बाध्यता हट्नेछ ।

यद्यपि, ह्वाट्सएपमा नयाँ खाता दर्ता (साइन अप) गर्न भने मोबाइल नम्बर आवश्यक रहनेछ । तर नयाँ सम्पर्कसँग कुराकानी सुरु गर्दा प्रयोगकर्ताले आफ्नो युजरनेम मात्र साझा गरे पुग्नेछ ।

कम्पनीका अनुसार यो परिवर्तन प्रयोगकर्ताको साइबर सुरक्षा र गोपनीयतालाई थप मजबुत बनाउने उद्देश्यले गरिएको हो । अहिले अपरिचित व्यक्तिसँग सम्पर्क गर्दा वा कुनै समूहमा आबद्ध हुँदा आफ्नो फोन नम्बर सार्वजनिक गर्नुपर्ने अवस्था रहेकामा नयाँ सुविधाले त्यसलाई हटाउने अपेक्षा गरिएको छ ।

ह्वाट्सएपले यो युजरनेम प्रणाली अन्य सामाजिक सञ्जालजस्तो सार्वजनिक नहुने स्पष्ट पारेको छ । एपभित्र सार्वजनिक डाइरेक्टरी, युजरनेम खोज्ने सुविधा वा सुझाव (सजेसन) उपलब्ध हुनेछैन । त्यसैले कसैसँग सम्पर्क गर्न उसको युजरनेम थाहा हुनुपर्नेछ ।

फिचर लागू भएपछि नयाँ च्याटहरूमा फोन नम्बरको सट्टा युजरनेम नै मुख्य पहिचानका रूपमा देखिनेछ । कम्पनीले प्रयोगकर्तालाई फरक र सहज रूपमा चिनिने युजरनेम रोज्न सुझाव दिएको छ । उपयुक्त नाम चयन गर्न सहयोग पुर्‍याउन एपभित्रै युजरनेम जेनेरेटर टुल पनि उपलब्ध गराइने जनाइएको छ ।

यसका साथै डिजिटल क्रिएटर, साना व्यवसाय तथा विभिन्न संस्थाले फेसबुक वा इन्स्टाग्राममा प्रयोग गरिरहेको युजरनेमलाई ह्वाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा उपलब्ध गराइनेछ । कम्पनीले यो फिचर यस वर्षको अन्त्यसम्म चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ विस्तार गर्ने जनाएको छ ।