कीवर्डहरू -

युट्युबको नयाँ एआई टुल : अब क्रिएटरले सजिलै बुझ्नेछन् दर्शकको भावना

युट्युबको नयाँ एआई टुल : अब क्रिएटरले सजिलै बुझ्नेछन् दर्शकको भावना

काठमाडौं । भिडियो प्लेटफर्म युट्युबले च्यानल सञ्चालक तथा क्रिएटरहरूका लागि एआईमा आधारित नयाँ कमेन्ट व्यवस्थापन सुविधा सार्वजनिक गरेको छ । यो टुलले हजारौं कमेन्टमध्ये मुख्य विषय, दर्शकको धारणा र प्रतिक्रियाको प्रवृत्ति पहिचान गर्न सहयोग गर्नेछ ।

नयाँ सुविधामार्फत क्रिएटरहरूले प्रत्येक कमेन्ट एक एक गरेर पढ्नुपर्ने आवश्यकता कम हुनेछ । युट्युब स्टुडियोमा उपलब्ध हुने एआई फिल्टरले कमेन्टलाई विषय र भावनाका आधारमा समूहबद्ध गरी व्यवस्थापन गर्न सहज बनाउनेछ ।

युट्युबका अनुसार, कमेन्ट खोज्ने प्रणालीमा नयाँ ‘सर्च’ फिल्टर थप गरिएको छ । यसअघि रहेको ‘एक्ज्याक्ट म्याच’ खोज विकल्पलाई अब ‘कीवर्ड्स’ नाम दिइएको छ । नयाँ एआई सर्च सुविधाले सामान्य शब्द मात्र नभई प्रयोगकर्ताले लेखेको अर्थपूर्ण वाक्य वा प्रश्नका आधारमा पनि सम्बन्धित कमेन्टहरू खोज्न सक्नेछ ।

उदाहरणका लागि, क्रिएटरले आफ्नो भिडियोमा दर्शकहरूले आफ्नो पहिरन, प्रस्तुति वा व्यक्तिगत शैलीबारे के प्रतिक्रिया दिएका छन् भन्ने बुझ्न चाहेको अवस्थामा एआई खोजमार्फत त्यस्ता कमेन्टहरू छुट्टै पहिचान गर्न सक्नेछन् ।

यस्तै, युट्युबले ‘सजेस्टेड टपिक्स’ सुविधा पनि उपलब्ध गराएको छ । यसले कमेन्टलाई विभिन्न विषयगत समूहमा वर्गीकरण गर्नेछ । जस्तै, दर्शकको उत्साह, सकारात्मक प्रतिक्रिया, आलोचना वा नकारात्मक प्रतिक्रिया जस्ता विषय पहिचान गर्न सकिनेछ ।

नयाँ टुलको अर्को विशेषता समान अर्थ भएका कमेन्टहरू खोज्ने सुविधा हो । कुनै एउटा कमेन्ट चयन गरी ‘फाइन्ड सिमिलर कमेन्ट्स’ विकल्प प्रयोग गरेपछि एआईले त्यससँग मिल्दोजुल्दो अन्य प्रतिक्रियाहरू पनि देखाउनेछ ।

युट्युबका अनुसार, यी एआई सुविधाले क्रिएटरहरूलाई कमेन्ट व्यवस्थापन मात्र होइन, दर्शकको रुचि, समस्या र अपेक्षा बुझ्न पनि सहयोग गर्नेछ । यसबाट आगामी सामाग्री निर्माणका लागि आवश्यक अनुसन्धान गर्न समेत सहज हुने अपेक्षा गरिएको छ ।